प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
सारांश
- काठमाडौँ ।
- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार न्युयोर्क जाँदैछन् ।
- साथमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य पनि जाँदैछिन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार न्युयोर्क जाँदैछन् । साथमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य पनि जाँदैछिन् ।
मंथलबारदेखि शुरु हुने अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् भने त्यसै दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्नेछन् । बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य त्यसैदिन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । असोज ९ गते मंगलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा सहभागी हुनेछन् ।
प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन् । त्यसैदिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्या गर्नेछन् । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्ने लगायतका थुप्रै कार्यक्रममा प्रधानमन्त्री ओलीले भाग लिने कार्यक्रम छ ।
प्रतिक्रिया