प्रिय ‘ई’ मलाई माफ गरिदेऊ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रिय ‘ई’ मलाई माफ गरिदेऊ

सारांश

  • सुजन पन्त मेरी हृदयकी ढुकढुकी ‘ई’ !
  • अबिरल मायाका बर्षाहरु तिमीलाई ।
  • असिमित मायाका सौगातहरु तिमीलाई ।

सुजन पन्त

मेरी हृदयकी ढुकढुकी ‘ई’ ! अबिरल मायाका बर्षाहरु तिमीलाई । असिमित मायाका सौगातहरु तिमीलाई । अनि अटुट सम्झनाका लहरहरु तिमीलाई । साथै अम्मर र अजम्बरी मायाका कोसेलीहरु तिमीलाई मात्र तिमीलाई मेरो प्राणको अन्तिम क्षण सम्मपनि । ‘ई’ सर्वप्रथम त म तिमीबाट माफी चाहान्छु, किनकि म तिमीहरुबीचको मायामा तगारो बन्न आए ।

सायद तिमीलाई मैले एउटा सच्चा प्रेम र अटल प्रेमीको अनुभुति दिन सकिन होला । त्यही भएर पनि हुनसक्छ तिमीले नयाँ संसारको सिर्जना गरिरहेकी छौ, तिम्रो यहि नयाँ संरचनाले गर्दा म बाध्य भएर तिमीबाट टाढा हुनुपरेकोमा मलाई ज्यादै चिन्ता लागिरहेको छ । सक्छौ भने तिमीले संरचना गरिरहेको नयाँ संसारलाई चाहिँ दया गरी मलाई जस्तो जिउनु न मर्नुको सँघारमा पुर्याउने प्रयत्न नगर्नु ल ।

(ई) (ई) जीवन भनेको यस्तै रहेछ संघर्ष गर्ने क्रममा हरेक बाधा (अड्चन, दुःख, पीडा, आरोह–अवरोह आइपर्नेरहेछ । नचाहँदा नचाहँदै पनि अनेकौ उकाली ओरालीसँग सामना गर्नुपर्ने रहेछ । अतितका ती दिनहरुमा च्याट गरेका रमाईला क्षण साथै फोनमार्फत भएको मिठो वार्तालाभ अनि अमृतभन्दा मिठो माया प्रेमका कहानीहरु र गफहरु एवंम् त्यै मिठामिठा माया प्रेमका गफहरुलाई सुनमा सुगन्ध थप्नका निमित्त गरिएका एकआपसी स्वीट किसहरुका रमाईला क्षणहरु कति रमाईला थिए ।

तर, आज अचानक नदिका दुई किनारा सरि तिमीबाट सधैँका लागि धेरै टाढा बालुवा नै बालुवाले ढाकिएको छ । रातभरि हामी दुवैका नयनहरुलाई जागरम गर्दै फोनमा गरेका मिठामिठा गफको कल्पनामा पुनः डुब्दै आफ्नो प्रेमपीडित मरेतुल्य शरीर जिउन बाध्य भएको छु ।

विछोड हुँदाको पीडा कति घातक हुँदोरहेछ । अनि तिनै अतितका यादहरुले कति सताईंदो रहेछ । साथै जीवनमा कल्पना गरेका सपनाहरु चैतको हुरीलेझैँ उडाएर लैजाँदोरहेछ । मलाई के थाहा अतितका पलहरु कहिले फर्केर आउन सक्दैन भनेर किनकि म तिम्रो झूठो मायामा पागल भइसकेको थिएँ ।

त्यसैले यो छिया–छिया भएर टुक्रिएको मेरो मुटुमा तिम्रै माया–ममता अनि सम्झनामा भाग्यले साथ दियो भने र मान्छेको रुपधारण गरि जन्म लिए भने अवश्य अर्को जन्ममा चाहिँ तिमीसँग भेट्ने र सदैव तिमीलाई आफ्नो अँगालोमा बाँधी जनम–जनम भरिका लागि तिमीलाई आफ्नो बनाउने पूर्ण आशा र भरोसामा मरेतुल्य शरीर लिई बाँचिरहेको छु ।

मेरो तर्फबाट तिम्रो सुस्वास्थ्यको दिर्गायु एवंम् प्रत्येक पाईला–पाईलामा सफलताका कामना प्रकट गर्दै उनै दयालु भगवान् श्री पशुपतिनाथसँग दुई हात दश औँला जोडी यस्तो प्रार्थना गर्दछु कि सारा दुःख, कष्ट, पीडा, बाधा अड्चन, पिर व्यथा र वेदनाहरु सबै मेरो भागमा पारिदिनु भनेर किनकि म मेरो ‘ई’ को लागि जस्तोसुकै पीडाको सामना गर्न पनि विवश हुनेछु ।

प्रिय ‘ई’ मलाई माफ गरिदेऊ जुन ईच्छा, चाहना र सपना बोकेर मैले तिमीसँग हामी दुवै जनाको दुई मुटुलाई एकै मुटुमा परिणत गरि माया गाँसेको थिए । तर, आज ती आशा र सपनाहरु मेरो मन मस्तिष्कबाट नै चकनाचुर गरायौ अनि मलाई अर्थहिन जीवन जिउन बाध्य गरायौ । ‘ई’ अब त मलाई म बाँच्नुको अर्थ नै छैन जस्तो लाग्छ ।

म जस्ता हजारौँ युवाहरुले यस्तो विछोडको पीडा सहनु नपरोस् आफ्नो चोखो र निश्चल माया ममतालाई सही ढंगमा सदुपयोग गर्ने मौका प्राप्त होस् भन्ने आशा र विश्वासका साथ सम्पूर्ण युवाहरु तथा युवतीहरुमा यस पत्रमार्फत सन्देश दिन चाहन्छु । कुनै केटा वा केटीका झुठा आश्वासन र क्षणिक माया जालमा फसिने प्रयत्न नगर्नुहोला । सकभर राम्रो सोचविचार वा आफ्नो बुबा–ममीमार्फत चुनिएको व्यक्तिसँग सदैव साँचो, चोखो र अजम्बरी माया गर्दै तपाईंहरुको दाम्पत्य जीवन सुखी, खुसी र सुखमयपूर्वक बिताईने कोसिस गर्नुहोला ।

जे होस् जो कसैले दुवैको दाम्पत्य जीवनलाई विछोडको पीडामा नपार्नुहोला । जसरी म अहिले त्यसको पात्र बनेको छु । प्यारी ‘ई’ विछोडको पत्र लेख्न त धेरै मन थियो । तर, तिमीलाई धेरै चोट र पिर पर्ने खालका शब्दहरु यस पत्रमा उल्लेख गर्न चाहन्न किनकि तिमी मेरो मुटुको ढुकढुकी भई धड्किरहने मुटुको टुक्रा थियौ ।

‘ई’ हुन त तिमीलाई यस्ता शब्दहरुले कुनै प्रभाव पार्दैन होला सायद ! किनभने तिमी नयाँ संसारमा रमाईरहेकी छौ, नयाँ प्रेमको परामर्शले साथ दिइसकेको छ । आफूलाई त त्यै रातभरि फोनमा बोलेका याद र सम्झनाहरु, तिम्रा ती सुमधुर आवाजहरु अनि तिम्रा मिठा मुस्कानका लहरहरु अझैँ आलै भएर मेरो कानमा गुन्जिने गरेको छ ।

साथै धारिलो काँडाहरुले मुटुमा च्वास्स–च्वास्स घोचेको महसुस हुन्छ । यत्तिकैमा साउन भदौको मुसलधारे वर्षा बर्सेझैँ मेरो आँखामा आँशु या बिष्णुमतिका धाराहरु बगिरहन्छ सायद मेरो कर्ममा नै यस्तै लेखिएको होला । विगतका दिनहरुमा तिमीसँग बोल्दा यसरी नै खुसी, हाँसो र मिलनले चुमिरहनेछ जस्तो लाग्थ्यो ।

तर, जीवन र समय कहाँ एकै रुपमा चलिरहँदोरहेछ । आँशु, हाँसो, मिलन विछोड त हाम्रो जीन्दगीको संगम र सम्मिश्रण रहेछ । सधैँ म दुःखलाई त्याग गर्न खोज्थे । तर, दुःख र आँशु नै मेरो साथ रहेछ । जसलाई म छोड्नसक्छु न त्याग गर्न नै । बास मेरो मुटुमा बिषालु सर्पझैँ तिम्रो याद र मायाले डसिरहेको छ ।

अनि आगोको ज्वाला सरि यो मन जलिरहेछ । जे होस् मैले जस्तोसुकै दुःख, कष्ट, पिर चिन्ताको सामना गर्नु परेता पनि तिमी सधै हाँसेर बाँच्नु, तिम्रो मुहार आँशुले हैन हरपल हरक्षण सुख, हाँसो र खुसीले छाओस्, तिम्रो प्रत्येक पाईला–पाईलामा सफलताले चुमोस् र तिमी जे जस्तो ठाउँमा रहेतापनि सुखी दाम्पत्य जीवनको शुभकामना भन्दै म तिमीबाट सधैँका लागि ओझेल हुन्छु ।
तिम्रो प्रियतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?