फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१६ पटक हेरिएको
Shares
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

सारांश

  • सुरेश गौतम पृष्ठभूमि विकासको दर्शन भनेको नभएको कुरा बनाउने हो, नसोचेको आर्थिक विकासका क्षेत्रहरु निर्धारण गर्ने हो र नयाँ सपनाको निर्धारण मात्र होइन सपनालाई नतिजामा पुराउने पनि हो ।
  • विकास भनेको हाम्रो युगको सबैभन्दा महत्वपूर्ण कुरा के हो त्यो पत्ता लगाउन सक्नुनै हो ।
  • हामी कुन ठाउँमा छौं ?

सुरेश गौतम

पृष्ठभूमि
विकासको दर्शन भनेको नभएको कुरा बनाउने हो, नसोचेको आर्थिक विकासका क्षेत्रहरु निर्धारण गर्ने हो र नयाँ सपनाको निर्धारण मात्र होइन सपनालाई नतिजामा पुराउने पनि हो । विकास भनेको हाम्रो युगको सबैभन्दा महत्वपूर्ण कुरा के हो त्यो पत्ता लगाउन सक्नुनै हो । हामी कुन ठाउँमा छौं ? हाम्रो भूगोलले हामीलाई के प्रदान गरेको छ ? त्यसैको आधारमा संशाधनको परिचालन गरेर अगाडि बढ्नु नै विकास हो । हाम्रो भूगोलले हामीलाई पर्यटनको विकासलाई केन्द्रविन्दु बनाएर विकासको खाका कोर्न सन्देश दिएको छ । पर्यटन विकासका लागि सडक यातायातको अत्यन्त ठूलो महत्व रहेको कुरा विभिन्न देशका उदाहरण एवं हाम्रो आफ्नै देशको अनुभवबाट समेत स्वतः स्पष्ट छ । सडकबाट समृद्धि आउछ, सडकबाट विकास हुन्छ । सडकबाट रोजगारीको अभिवृद्धि हुन्छ अर्थात जहाँ सडक बन्न सुरु हुन्छ, त्यस क्षेत्रको विकास सुरु हुन्छ । नयाँ नयाँ स्थानहरुमा शहरहरु बस्न थाल्छन्, औद्योगिक पार्क बन्न थाल्छन् । आर्थिक गतिविधिलाइ बिस्तार गर्न सडकले भरपुर सहयोग गर्दछ । सडकको उपलब्धताले देशको विकासको स्तरलाई पनि प्रतिविम्वित गरिरहेको हुन्छ । नेपालमा सडकको विकास ज्यादै धिमा गतिमा भएको छ । बनेका सडकहरु पनि खर्चिलो र पर्यावरणीय दृष्टिले अनुपयुक्त अभ्यासबाट शुरु गरेको देखिन्छ । स्तरीय सडकहरु थोरै छन् । केही बनेका सडकहरु र राजमार्गहरु पनि रणनीतिक हिसावले ठीक छैनन् । सवारी साधनहरुको बृद्धिले साँधुरा र जोखिमयुक्त भइसकेका छन् ।

आ.व. २०७३/७४ को अन्त्यसम्ममा देशका २ वटा जिल्ला सदरमुकाम डोल्पा र हुम्ला बाहेक अन्य ७३ जिल्ला सदरमुकाम सडक यातायातसँग जोडिएका छन् भने सरकारी तथ्याङ्कमा रणनीतिक सडक सञ्जालअन्तर्गत हालसम्म करिव १५००० कि.मि. सडक निर्माण भएको छ भने १८५४ वटा पुल निर्माण कार्य सम्पन्न हुनुका साथै ६५० वटा पुलहरु निर्माणका विभिन्न चरणमा रहेका छन् । रणनीतिक सडक सञ्जालको चारलेन कालोपत्रे सडक ४५ कि.मि., दुईलेन कालोपत्रे सडक १२६६ कि.मि., सिंगल÷इण्टरमेडियट लेन कालोपत्रे सडक ४९४५ कि.मि., ग्राभेलस्तरका सडक १५२८ कि.मि., ट्रयाक खुलेका- माटेस्तरका सडक ४३७० कि.मि., निर्माणाधीन सडक २३४४ कि.मि. निर्माणको अवस्था सरकारी तथ्याङ्कमा देखिन्छ ।

अवधारणा
अहिले सबैभन्दा बढी समृद्ध नेपाल बनाउने चर्चा छ । यो नारालाई आम नागरिकले नतिजाको रुपमा छिटो खोजिरहेका छन् । राज्य कसरी बलियो बनाउने र जनतालाई कसरी समृद्ध बनाउने ? सारमा समृद्ध नेपालको अवधारणा यही नै हो । आज विश्वमा विकासको गति दु्रतरुपमा अगाडि बढिरहेको अवस्थामा नेपालको विकासलाई पनि त्यही गतिमा अगाडि बढाउनु पर्नेछ । आज विश्वमा विभिन्न देशहरुले कसरी विकास गरे ? कसरी अगाडि बढे ? यसको अध्ययन र अनुसन्धानबाट हामीहरुले निचोड निकाल्नु पर्छ । कुनै पनि देश समृद्ध हुनको लागि त्यस देशको आर्थिक विकासको केन्द्रबिन्दु पत्ता लगाउनु आवश्यक देखिन्छ । आज चीनले आफ्नो आर्थिक विकासको केन्द्रविन्दु उत्पादनलाई बनाएको छ । अमेरिकाले प्रविधि र मानवसंशाधनलाई, जापानले निर्यात व्यापार र सार्वजनिक यातायातलाई, डेनर्माकले भष्टचारमुक्त समाजलाई, इजरायलले सुरक्षालाई, फिनल्याण्डले शिक्षालाई, क्युवाले स्वास्थ्यलाई, जर्मनीले हवाई यातायातलाई आफ्नो केन्द्रबिन्दु बनाएर समृद्धि र विकासमा कार्यक्रम र नीति बनाएको हामी पाउँछौ । हरेक वस्तुको केन्द्र हुन्छ । हामीहरुले यो विज्ञानलाई बुझेर हाम्रो देशको समृद्धि र विकासको केन्द्र पर्यटनलाई मान्नै पर्छ । यसैले विकास र समृद्धिका लागि फेवा–रारा पर्यटन एक्सप्रेसवेको अवधारणालाई अगाडि सारेका छौ । जसले केन्द्र पत्ता लगाउन सक्दैन, तिनीहरुले जहिले पनि प्रयास मात्र गरिरहन्छन् । अहिले हाम्रो देशले यही गरिरहेको छ । अब यो अवधारणाले हामीहरुलाई प्रयास मात्र होइन रुपान्तरण हुन सिकाउनेछ ।

भनाई छ नेपाल गरिव जनताको धनी देश हो अर्थात स्रोतसाधनले नेपाल धनी भएर पनि जनता गरिवीमा बाँचिरहेका छन् । नेपालको प्राकृतिक, भौगोलिक, साँस्कृतिक र धार्मिक विविधताका कारण पर्यटन उच्च सम्भावना भएको क्षेत्र हो । तराईको समथर मैदानदेखि विश्वका ठूला हिमशिखरहरु नेपालमा नै छन् । त्यस्तै बुद्धको जन्मस्थल लुम्बिनीदेखि हिन्दू धर्मका कैयौ तीर्थस्थलहरु नेपालमा छन् । तालतलैया, झरनाहरु, नदीनालाहरु र मौसमी विविधता नेपालमा रहेको छ । सानो देश भए पनि १२० भन्दा बढी जातजाति र मौलिक सँस्कृति नेपालमा पाइन्छ । तसर्थ, पर्यटन उद्योगको व्यवस्थित विकास गर्ने हो भने यसले नेपालको समृद्धिमा ठूलो भूमिका खेल्ने देखिन्छ । धार्मिक, साँस्कृतिक, साहसिक, ग्रामीण, पर्यावरण पर्यटनको प्रशस्त सम्भावना भएतापनि हालसम्म पर्यटन उद्योगले आर्थिक विकासमा खासै ठूलो योगदान दिन सकेको छैन । कूल गार्ह्रस्थ उत्पादनमा यसको योगदान केबल २ प्रतिशतमात्र रहेको छ । नेपालमा भएका पर्यटकीयस्थल र सामग्रीको पहिचान र त्यसको पहुँचमा पूर्वाधारहरुको विकास हुन नसक्दा प्रशस्त सम्भावना भएर पनि यो क्षेत्रको विकास हुन सकेको छैन ।

हालसम्म सरकारी प्रयास पर्याप्त नभएको र निजी क्षेत्रको गतिविधि पनि सीमित मात्रामा भएकोले पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसकेको हो । लुम्बिनी विकासको गुरुयोजना दशकौं पहिले तयार भएको भएतापनि कार्यान्वयन गर्न सकिएको छैन । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अबस्था पनि चुस्त दुरुस्त छैन । राष्ट्रिय पूँजी निर्माणको लागि पर्यटनले ठूलो भूमिका खेल्नसक्ने हुनाले पर्यटनको क्षेत्रको विकासलाई आर्थिक रुपमा लाभ हुने दृष्टिकोणले सोच्न जरुरी छ । यो दृष्टिकोणलाई पूरा गर्नको लागि पनि फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे हाइवेको निर्माण गर्नुपर्ने आवश्यकता छ ।

महत्व
अहिलेको समय भनेको सामाजिक आर्थिक रुपान्तरणको हो । यो परियोजनाले अहिलेसम्म कसैले नसोचेको आर्थिक विकासको नवअवधारणाको विकास हुनेछ साथै विकासका क्षेत्रहरु निर्धारण हुनेछ । यो पर्यटन मार्ग पूर्वाधारको नयाँ, ठूलो र नमूना परियोजना हुनेछ साथै नेपाली जनताको नयाँ सपनाको निर्धारण गर्नेछ । यो मार्गले प्रदेश नं. ४, ५ र ६ को समृद्धि ल्याउनेछ साथै रोजगारीको अभिवृद्धि हुनेछ । यो मार्गमा नयाँ नयाँ पर्यटन शहर, पर्यटन औद्योगिक पार्क लगायत अन्य पूर्वाधार निर्माण हुनेछन् । यो मार्गले यी ३ प्रदेशलाई पूरै परिर्वतन गर्नेछ अर्थात यो परियोजनाले नेपालको तस्वीर बदल्नेछ । सरकारको ५० लाख पर्यटक भित्राउने सपनालाई पूरा गर्नेछ । साथै २१औ शताव्दीको विकासको गतिलाई यो परियोजनाले साकार पार्नेछ ।

पर्यावरण र विकास सँगसँगै
पर्यावरण पनि चाहियो, विकास पनि चाहियो भन्ने मान्यतालाई आत्मसाथ गर्दे यो परियोजनामा विश्वको प्रविधिलाई अपनाई विश्वको पर्यावरण र पर्यटन विकासको नमूना परियोजनाको रुपमा विकास गरिनेछ । विश्वको सबैभन्दा लामो साइकल लेन यस परियोजनामा निर्माण गरिनेछ । यस मार्गमा बिजुलीबाट चल्ने ग्रीन बसहरु सञ्चालन गरिनेछ । जसले गर्दा इन्धन आयातमा ठूलो मात्रामा कमी भई व्यापार घाटा न्यून हुनेछ । यस परियोजनाको विभिन्न रुटहरुलाई कृषि पर्यटन, खेलकुद पर्यटन, पर्यटन शहर, उद्योग पर्यटनको सिर्जनात्मक रुपमा विकास गरिनेछ र सिर्जनशीलता, उद्यमशीलता र प्रविधिलाई हाम्रो देशको भविष्यसँग जोडिनेछ ।

रेखाङ्कन
यस एक्सप्रेसवे प्रदेश नं. ४ को पोखराको फेवा तालबाट शुरु भई पर्वत, बाग्लुङ, नवलपरासी हुँदै प्रदेश नं. ५ को नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ हुँदै कर्णाली प्रदेशको सुर्खेतबाट मुगुको रारा तालसम्म यस मार्गको रेखाङ्कन हुनेछ । यो मार्ग अनुमानित ५५० कि.मी.को दुरी हुने अनुमान गरिएको छ । यो मार्ग ४ लेनको हुनेछ जसमा साइकल लेन पनि रहनेछ । यो परियोजना अन्र्तरगत चितवन राष्ट्रिय निकुञ्ज र बाँके बर्दिया राष्ट्रिय निकुञ्जलाई यस परियोजनाको सर्कल बनाएर रेखाङ्कन गरिसकेपछि प्रदेश नं. ३ को आर्थिक विकासलाई समेत यो परियोजनाले सहयोग पुराउने छ ।

लगानीको नयाँ मोडल निर्माण

लगानी मोडल भनेको एउटा साधन हो । जसले परियोजनाको लागि धनराशी जुटाउने प्रयास गर्दछ । कुनै पनि देशको अर्थतन्त्रलाई तीब्र विकास गर्नको लागि लगानी चाहिन्छ । लगानीका साधनहरुलाई आफ्नो देशको सुविधाअनुसार अपनाउन सकिन्छ ।

नेपालको लगानीको मोडलको चर्चा गर्दा चार चरणको प्रयोग भएको पाइन्छ । पहिलो चरणमा : आन्तरिक साधनको प्रयोग गरियो । जसमा आवश्यकता र उपलब्धताको नीति प्रयोग गरियो । यस चरणमा सिक्न सुरु भयो । दोस्रो चरणमा : वाह्य साधनको प्रयोग गरियो र औद्योगिक नीतिको शुरु भयो । जसमा प्राइभेट नीति ल्याइयो । निजी क्षेत्रसँग सहकार्य । तेस्रो चरणमा : विदेशी लगानीको प्रयोग जसमा ठूला परियोजनाका लागि लगानी ज्यादा चाहिएपछि विदेशी लगानी चाहियो । चौथो चरणमा : लगानीको लागि पूरै क्षेत्र खुल्लाको साथै सबैलाई स्वागत गरियो । यस चरणमा ३पी र ४पी मोडलको विचार आयो ।

अब हामीहरुले माथिका विभिन्न चरणका राम्रा पक्षहरुलाई ल्याएर हाम्रो देशको सुविधा अनुसारको मोडल बनाउनु पर्छ । यो परियोजनाबाट लगानीको नयाँ मोडलको निर्माण हुनेछ । जस्ले गर्दा अन्य परियोजना निर्माण गर्न सजिलो हुनेछ ।

स्रोत परिचालनका उपकरण र कार्यक्रम
यस परियोजनाको लागि आवश्यक लगानी नेपाल सरकारको आफ्नै स्रोत परिचालन गर्दै लगानीका विभिन्न मोडलबाट स्रोतको परिचालनमा विभिन्न चरणमा परामर्श र छलफल गर्नेछ । सामाजिक—आर्थिक विकास एवं समृद्धिका लागि पूर्व शर्तको रुपमा यो परियोजना अत्यन्त ठूलो महत्व हुने यथार्थलाई हामीहरुले भुल्नु हुदैन । बिशेषतः पूँजी निर्माणमा अहम् भूमिका खेल्ने, रोजगारी र आय उपार्जनमा सहयोग गर्ने र दीर्घकालसम्म प्रतिफल दिइरहने यो परियोजना निर्माणमा विशेष जोड दिनुपर्छ । यस परियोजनाको वित्त परिचालनका लागि क्रेडिट, इन्फ्रास्ट्रक्चर बैंक, सहायता, बन्ड र जनताको शेयर लगायत विभिन्न खालका इनोभेटिभ वित्त उपकरणका कार्यक्रमहरु प्रयोगमा ल्याइनेछ ।

२० लाख रोजगारी सिर्जनाको भाइव्रेन्ट
आजको समयमा सूचना र प्रविधि तीब्र गतिमा बढिरहेको छ । ठूला–ठूला परियोजनाको निर्माण सँगसगै ठूलो मात्रामा रोजगारी पनि सिर्जना भइरहेका छन् । यो मार्गमा फेवा ताल समुन्द्रको सतहदेखि ७४२ मिटरको उचाईंमा स्थित रहेको छ भने लुम्बिनी १६१ मिटर उचाई रहेको छ । त्यसैगरी रारा ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ अर्थात यो परियोजनामा लगानीका क्षेत्रहरुमा विविधता छ । जुन लगानीका क्षेत्रहरुमा विविधता हुन्छ, त्यस परियोजनाबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ । साथै यो परियोजनामा चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई यस परियोजनाको सर्कल बनाएर रेखाङ्कन गरिसकेपछि लगानीका नयाँ क्षेत्रबाट थप रोजगारी सिर्जना गर्न सकिनेछ ।

संगठनको संरचना
लगानीको लागि पूरै क्षेत्र खुल्लाको साथै सबैलाई स्वागत गरिने संगठनको संरचना निर्माण गरिनेछ । सार्वजनीक– निजी– जनता –सहभागिता (पी४) अन्तर्गगत संगठनको निर्माण गरिनेछ । जसमा लगानीको रेसियो ४० प्रतिशत सरकारको र ३०÷३० प्रतिशत निजी र जनताको रहनेछ ।

(लेखक एमालेका युवा नेता तथा अर्थशास्त्री हुन्)

sureshgautam01@gmail.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?