फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
४५ पटक हेरिएको
Shares
फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे : प्रदेश ४, ५ र ६ को समृद्धिको गेमचेन्जर परियोजना

सारांश

  • सुरेश गौतम पृष्ठभूमि विकासको दर्शन भनेको नभएको कुरा बनाउने हो, नसोचेको आर्थिक विकासका क्षेत्रहरु निर्धारण गर्ने हो र नयाँ सपनाको निर्धारण मात्र होइन सपनालाई नतिजामा पुराउने पनि हो ।
  • विकास भनेको हाम्रो युगको सबैभन्दा महत्वपूर्ण कुरा के हो त्यो पत्ता लगाउन सक्नुनै हो ।
  • हामी कुन ठाउँमा छौं ?

सुरेश गौतम

पृष्ठभूमि
विकासको दर्शन भनेको नभएको कुरा बनाउने हो, नसोचेको आर्थिक विकासका क्षेत्रहरु निर्धारण गर्ने हो र नयाँ सपनाको निर्धारण मात्र होइन सपनालाई नतिजामा पुराउने पनि हो । विकास भनेको हाम्रो युगको सबैभन्दा महत्वपूर्ण कुरा के हो त्यो पत्ता लगाउन सक्नुनै हो । हामी कुन ठाउँमा छौं ? हाम्रो भूगोलले हामीलाई के प्रदान गरेको छ ? त्यसैको आधारमा संशाधनको परिचालन गरेर अगाडि बढ्नु नै विकास हो । हाम्रो भूगोलले हामीलाई पर्यटनको विकासलाई केन्द्रविन्दु बनाएर विकासको खाका कोर्न सन्देश दिएको छ । पर्यटन विकासका लागि सडक यातायातको अत्यन्त ठूलो महत्व रहेको कुरा विभिन्न देशका उदाहरण एवं हाम्रो आफ्नै देशको अनुभवबाट समेत स्वतः स्पष्ट छ । सडकबाट समृद्धि आउछ, सडकबाट विकास हुन्छ । सडकबाट रोजगारीको अभिवृद्धि हुन्छ अर्थात जहाँ सडक बन्न सुरु हुन्छ, त्यस क्षेत्रको विकास सुरु हुन्छ । नयाँ नयाँ स्थानहरुमा शहरहरु बस्न थाल्छन्, औद्योगिक पार्क बन्न थाल्छन् । आर्थिक गतिविधिलाइ बिस्तार गर्न सडकले भरपुर सहयोग गर्दछ । सडकको उपलब्धताले देशको विकासको स्तरलाई पनि प्रतिविम्वित गरिरहेको हुन्छ । नेपालमा सडकको विकास ज्यादै धिमा गतिमा भएको छ । बनेका सडकहरु पनि खर्चिलो र पर्यावरणीय दृष्टिले अनुपयुक्त अभ्यासबाट शुरु गरेको देखिन्छ । स्तरीय सडकहरु थोरै छन् । केही बनेका सडकहरु र राजमार्गहरु पनि रणनीतिक हिसावले ठीक छैनन् । सवारी साधनहरुको बृद्धिले साँधुरा र जोखिमयुक्त भइसकेका छन् ।

आ.व. २०७३/७४ को अन्त्यसम्ममा देशका २ वटा जिल्ला सदरमुकाम डोल्पा र हुम्ला बाहेक अन्य ७३ जिल्ला सदरमुकाम सडक यातायातसँग जोडिएका छन् भने सरकारी तथ्याङ्कमा रणनीतिक सडक सञ्जालअन्तर्गत हालसम्म करिव १५००० कि.मि. सडक निर्माण भएको छ भने १८५४ वटा पुल निर्माण कार्य सम्पन्न हुनुका साथै ६५० वटा पुलहरु निर्माणका विभिन्न चरणमा रहेका छन् । रणनीतिक सडक सञ्जालको चारलेन कालोपत्रे सडक ४५ कि.मि., दुईलेन कालोपत्रे सडक १२६६ कि.मि., सिंगल÷इण्टरमेडियट लेन कालोपत्रे सडक ४९४५ कि.मि., ग्राभेलस्तरका सडक १५२८ कि.मि., ट्रयाक खुलेका- माटेस्तरका सडक ४३७० कि.मि., निर्माणाधीन सडक २३४४ कि.मि. निर्माणको अवस्था सरकारी तथ्याङ्कमा देखिन्छ ।

अवधारणा
अहिले सबैभन्दा बढी समृद्ध नेपाल बनाउने चर्चा छ । यो नारालाई आम नागरिकले नतिजाको रुपमा छिटो खोजिरहेका छन् । राज्य कसरी बलियो बनाउने र जनतालाई कसरी समृद्ध बनाउने ? सारमा समृद्ध नेपालको अवधारणा यही नै हो । आज विश्वमा विकासको गति दु्रतरुपमा अगाडि बढिरहेको अवस्थामा नेपालको विकासलाई पनि त्यही गतिमा अगाडि बढाउनु पर्नेछ । आज विश्वमा विभिन्न देशहरुले कसरी विकास गरे ? कसरी अगाडि बढे ? यसको अध्ययन र अनुसन्धानबाट हामीहरुले निचोड निकाल्नु पर्छ । कुनै पनि देश समृद्ध हुनको लागि त्यस देशको आर्थिक विकासको केन्द्रबिन्दु पत्ता लगाउनु आवश्यक देखिन्छ । आज चीनले आफ्नो आर्थिक विकासको केन्द्रविन्दु उत्पादनलाई बनाएको छ । अमेरिकाले प्रविधि र मानवसंशाधनलाई, जापानले निर्यात व्यापार र सार्वजनिक यातायातलाई, डेनर्माकले भष्टचारमुक्त समाजलाई, इजरायलले सुरक्षालाई, फिनल्याण्डले शिक्षालाई, क्युवाले स्वास्थ्यलाई, जर्मनीले हवाई यातायातलाई आफ्नो केन्द्रबिन्दु बनाएर समृद्धि र विकासमा कार्यक्रम र नीति बनाएको हामी पाउँछौ । हरेक वस्तुको केन्द्र हुन्छ । हामीहरुले यो विज्ञानलाई बुझेर हाम्रो देशको समृद्धि र विकासको केन्द्र पर्यटनलाई मान्नै पर्छ । यसैले विकास र समृद्धिका लागि फेवा–रारा पर्यटन एक्सप्रेसवेको अवधारणालाई अगाडि सारेका छौ । जसले केन्द्र पत्ता लगाउन सक्दैन, तिनीहरुले जहिले पनि प्रयास मात्र गरिरहन्छन् । अहिले हाम्रो देशले यही गरिरहेको छ । अब यो अवधारणाले हामीहरुलाई प्रयास मात्र होइन रुपान्तरण हुन सिकाउनेछ ।

भनाई छ नेपाल गरिव जनताको धनी देश हो अर्थात स्रोतसाधनले नेपाल धनी भएर पनि जनता गरिवीमा बाँचिरहेका छन् । नेपालको प्राकृतिक, भौगोलिक, साँस्कृतिक र धार्मिक विविधताका कारण पर्यटन उच्च सम्भावना भएको क्षेत्र हो । तराईको समथर मैदानदेखि विश्वका ठूला हिमशिखरहरु नेपालमा नै छन् । त्यस्तै बुद्धको जन्मस्थल लुम्बिनीदेखि हिन्दू धर्मका कैयौ तीर्थस्थलहरु नेपालमा छन् । तालतलैया, झरनाहरु, नदीनालाहरु र मौसमी विविधता नेपालमा रहेको छ । सानो देश भए पनि १२० भन्दा बढी जातजाति र मौलिक सँस्कृति नेपालमा पाइन्छ । तसर्थ, पर्यटन उद्योगको व्यवस्थित विकास गर्ने हो भने यसले नेपालको समृद्धिमा ठूलो भूमिका खेल्ने देखिन्छ । धार्मिक, साँस्कृतिक, साहसिक, ग्रामीण, पर्यावरण पर्यटनको प्रशस्त सम्भावना भएतापनि हालसम्म पर्यटन उद्योगले आर्थिक विकासमा खासै ठूलो योगदान दिन सकेको छैन । कूल गार्ह्रस्थ उत्पादनमा यसको योगदान केबल २ प्रतिशतमात्र रहेको छ । नेपालमा भएका पर्यटकीयस्थल र सामग्रीको पहिचान र त्यसको पहुँचमा पूर्वाधारहरुको विकास हुन नसक्दा प्रशस्त सम्भावना भएर पनि यो क्षेत्रको विकास हुन सकेको छैन ।

हालसम्म सरकारी प्रयास पर्याप्त नभएको र निजी क्षेत्रको गतिविधि पनि सीमित मात्रामा भएकोले पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसकेको हो । लुम्बिनी विकासको गुरुयोजना दशकौं पहिले तयार भएको भएतापनि कार्यान्वयन गर्न सकिएको छैन । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अबस्था पनि चुस्त दुरुस्त छैन । राष्ट्रिय पूँजी निर्माणको लागि पर्यटनले ठूलो भूमिका खेल्नसक्ने हुनाले पर्यटनको क्षेत्रको विकासलाई आर्थिक रुपमा लाभ हुने दृष्टिकोणले सोच्न जरुरी छ । यो दृष्टिकोणलाई पूरा गर्नको लागि पनि फेवा–लुम्बिनी–रारा पर्यटन एक्सप्रेसवे हाइवेको निर्माण गर्नुपर्ने आवश्यकता छ ।

महत्व
अहिलेको समय भनेको सामाजिक आर्थिक रुपान्तरणको हो । यो परियोजनाले अहिलेसम्म कसैले नसोचेको आर्थिक विकासको नवअवधारणाको विकास हुनेछ साथै विकासका क्षेत्रहरु निर्धारण हुनेछ । यो पर्यटन मार्ग पूर्वाधारको नयाँ, ठूलो र नमूना परियोजना हुनेछ साथै नेपाली जनताको नयाँ सपनाको निर्धारण गर्नेछ । यो मार्गले प्रदेश नं. ४, ५ र ६ को समृद्धि ल्याउनेछ साथै रोजगारीको अभिवृद्धि हुनेछ । यो मार्गमा नयाँ नयाँ पर्यटन शहर, पर्यटन औद्योगिक पार्क लगायत अन्य पूर्वाधार निर्माण हुनेछन् । यो मार्गले यी ३ प्रदेशलाई पूरै परिर्वतन गर्नेछ अर्थात यो परियोजनाले नेपालको तस्वीर बदल्नेछ । सरकारको ५० लाख पर्यटक भित्राउने सपनालाई पूरा गर्नेछ । साथै २१औ शताव्दीको विकासको गतिलाई यो परियोजनाले साकार पार्नेछ ।

पर्यावरण र विकास सँगसँगै
पर्यावरण पनि चाहियो, विकास पनि चाहियो भन्ने मान्यतालाई आत्मसाथ गर्दे यो परियोजनामा विश्वको प्रविधिलाई अपनाई विश्वको पर्यावरण र पर्यटन विकासको नमूना परियोजनाको रुपमा विकास गरिनेछ । विश्वको सबैभन्दा लामो साइकल लेन यस परियोजनामा निर्माण गरिनेछ । यस मार्गमा बिजुलीबाट चल्ने ग्रीन बसहरु सञ्चालन गरिनेछ । जसले गर्दा इन्धन आयातमा ठूलो मात्रामा कमी भई व्यापार घाटा न्यून हुनेछ । यस परियोजनाको विभिन्न रुटहरुलाई कृषि पर्यटन, खेलकुद पर्यटन, पर्यटन शहर, उद्योग पर्यटनको सिर्जनात्मक रुपमा विकास गरिनेछ र सिर्जनशीलता, उद्यमशीलता र प्रविधिलाई हाम्रो देशको भविष्यसँग जोडिनेछ ।

रेखाङ्कन
यस एक्सप्रेसवे प्रदेश नं. ४ को पोखराको फेवा तालबाट शुरु भई पर्वत, बाग्लुङ, नवलपरासी हुँदै प्रदेश नं. ५ को नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ हुँदै कर्णाली प्रदेशको सुर्खेतबाट मुगुको रारा तालसम्म यस मार्गको रेखाङ्कन हुनेछ । यो मार्ग अनुमानित ५५० कि.मी.को दुरी हुने अनुमान गरिएको छ । यो मार्ग ४ लेनको हुनेछ जसमा साइकल लेन पनि रहनेछ । यो परियोजना अन्र्तरगत चितवन राष्ट्रिय निकुञ्ज र बाँके बर्दिया राष्ट्रिय निकुञ्जलाई यस परियोजनाको सर्कल बनाएर रेखाङ्कन गरिसकेपछि प्रदेश नं. ३ को आर्थिक विकासलाई समेत यो परियोजनाले सहयोग पुराउने छ ।

लगानीको नयाँ मोडल निर्माण

लगानी मोडल भनेको एउटा साधन हो । जसले परियोजनाको लागि धनराशी जुटाउने प्रयास गर्दछ । कुनै पनि देशको अर्थतन्त्रलाई तीब्र विकास गर्नको लागि लगानी चाहिन्छ । लगानीका साधनहरुलाई आफ्नो देशको सुविधाअनुसार अपनाउन सकिन्छ ।

नेपालको लगानीको मोडलको चर्चा गर्दा चार चरणको प्रयोग भएको पाइन्छ । पहिलो चरणमा : आन्तरिक साधनको प्रयोग गरियो । जसमा आवश्यकता र उपलब्धताको नीति प्रयोग गरियो । यस चरणमा सिक्न सुरु भयो । दोस्रो चरणमा : वाह्य साधनको प्रयोग गरियो र औद्योगिक नीतिको शुरु भयो । जसमा प्राइभेट नीति ल्याइयो । निजी क्षेत्रसँग सहकार्य । तेस्रो चरणमा : विदेशी लगानीको प्रयोग जसमा ठूला परियोजनाका लागि लगानी ज्यादा चाहिएपछि विदेशी लगानी चाहियो । चौथो चरणमा : लगानीको लागि पूरै क्षेत्र खुल्लाको साथै सबैलाई स्वागत गरियो । यस चरणमा ३पी र ४पी मोडलको विचार आयो ।

अब हामीहरुले माथिका विभिन्न चरणका राम्रा पक्षहरुलाई ल्याएर हाम्रो देशको सुविधा अनुसारको मोडल बनाउनु पर्छ । यो परियोजनाबाट लगानीको नयाँ मोडलको निर्माण हुनेछ । जस्ले गर्दा अन्य परियोजना निर्माण गर्न सजिलो हुनेछ ।

स्रोत परिचालनका उपकरण र कार्यक्रम
यस परियोजनाको लागि आवश्यक लगानी नेपाल सरकारको आफ्नै स्रोत परिचालन गर्दै लगानीका विभिन्न मोडलबाट स्रोतको परिचालनमा विभिन्न चरणमा परामर्श र छलफल गर्नेछ । सामाजिक—आर्थिक विकास एवं समृद्धिका लागि पूर्व शर्तको रुपमा यो परियोजना अत्यन्त ठूलो महत्व हुने यथार्थलाई हामीहरुले भुल्नु हुदैन । बिशेषतः पूँजी निर्माणमा अहम् भूमिका खेल्ने, रोजगारी र आय उपार्जनमा सहयोग गर्ने र दीर्घकालसम्म प्रतिफल दिइरहने यो परियोजना निर्माणमा विशेष जोड दिनुपर्छ । यस परियोजनाको वित्त परिचालनका लागि क्रेडिट, इन्फ्रास्ट्रक्चर बैंक, सहायता, बन्ड र जनताको शेयर लगायत विभिन्न खालका इनोभेटिभ वित्त उपकरणका कार्यक्रमहरु प्रयोगमा ल्याइनेछ ।

२० लाख रोजगारी सिर्जनाको भाइव्रेन्ट
आजको समयमा सूचना र प्रविधि तीब्र गतिमा बढिरहेको छ । ठूला–ठूला परियोजनाको निर्माण सँगसगै ठूलो मात्रामा रोजगारी पनि सिर्जना भइरहेका छन् । यो मार्गमा फेवा ताल समुन्द्रको सतहदेखि ७४२ मिटरको उचाईंमा स्थित रहेको छ भने लुम्बिनी १६१ मिटर उचाई रहेको छ । त्यसैगरी रारा ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ अर्थात यो परियोजनामा लगानीका क्षेत्रहरुमा विविधता छ । जुन लगानीका क्षेत्रहरुमा विविधता हुन्छ, त्यस परियोजनाबाट ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिन्छ । साथै यो परियोजनामा चितवन, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई यस परियोजनाको सर्कल बनाएर रेखाङ्कन गरिसकेपछि लगानीका नयाँ क्षेत्रबाट थप रोजगारी सिर्जना गर्न सकिनेछ ।

संगठनको संरचना
लगानीको लागि पूरै क्षेत्र खुल्लाको साथै सबैलाई स्वागत गरिने संगठनको संरचना निर्माण गरिनेछ । सार्वजनीक– निजी– जनता –सहभागिता (पी४) अन्तर्गगत संगठनको निर्माण गरिनेछ । जसमा लगानीको रेसियो ४० प्रतिशत सरकारको र ३०÷३० प्रतिशत निजी र जनताको रहनेछ ।

(लेखक एमालेका युवा नेता तथा अर्थशास्त्री हुन्)

sureshgautam01@gmail.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
कांग्रेस पदाधिकारी बैठक: दोषी उम्कनु हुँदैन, निर्दोष पर्नु हुँदैन
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
दुर्घटनामा परेको विमानका क्याप्टेनले अस्पतालमा हात उठाउँदै भने, ‘ठिक छु’
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
रुपन्देहीमा अस्थायी मुकाम तोकिएपछि विरोधमा छिमेकी जिल्ला कपिलवस्तु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
पर्यटनमा कोरोना कहरः १० महिनापछि पर्यटक गणना शुरु
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
सेमिफाइनलमा अफगानिस्तानको खराब ब्याटिङ, ५६ रनमा अल आउट
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…
२ करोड घुस डिलमा न्यायाधीश-अधिवक्ताबीच यस्तो छ-संवाद
२ करोड घुस डिलमा न्यायाधीश-अधिवक्ताबीच यस्तो छ-संवाद
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
यस वर्षको एसइई चैत १५ गतेबाट सुरु हुने
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि
सुस्मिता हत्याकाण्डमा ससुरा नन्दसहित परिवारकै संलग्नता, अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि