बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
बहिष्कारकाे चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

सारांश

  • काठमाडौँ।
  • नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ।
  • मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन।
काठमाडौँ। नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन। 
बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच समिति गठन सम्बन्धमा सहमतिको प्रयास भएको थियो। नेता पौडेलले अनुशासन समितिमा रहने व्यक्ति सर्वसम्मतरूपमा चयन नभए बैठकमा अनुपस्थित हुने अडान लिनुभएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। नेता पौडेलको अडानपछि पनि संस्थापन पक्षका सदस्य बैठक कक्षमा प्रवेश गरेका थिए। 
तर संस्थापनइतर पक्ष अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगन गरिएको थियो । केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले अनुशासन र निर्वाचन समिति गठनका सम्बन्धमा सहमतिका लागि थप छलफल आवश्यक रहेकाले  बैठक सारिएको जानकारी दिए। 
पार्टी कार्यालयले केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल भएको र थप छलफलको आवश्यकता मध्यनजर राखी आजको केन्द्रीय समिति बैठक स्थगित गरिएको जनाएको छ। संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वका साथ लिइन्छ। समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ। यसअघि यही फागुन १२ गतेको बैठकमा पनि पार्टीको विधान संशोधनको प्रस्ताव पारित गर्दा महासमिति बैठकको भावना नसमेटिएको भन्दै नेता पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले फरक मत राखेको थियो। 
गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म भएको महासमिति बैठकमा अधिकांश जिल्ला सभापतिको मागबमोजिम सभापति देउवा र नेता पौडेलले पार्टी केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य वडास्तरबाटै निर्वाचित हुनुपर्ने र समावेशी आरक्षण एक व्यक्तिका लागि एक पटक मात्र लागू हुने प्रावधान विधानमा समेटिने आश्वासन दिएका थिए। फागुन १२ गतेको बैठकले उक्त प्रवधान नराखी विधान पारित गरेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?