बालिका अपहरण,अपहरणकारी पक्राउ
सारांश
- बिराटनगर १२ भदौ ।
- मोरङ जिल्लाको उर्लाबारी नगरपालिका- ६ बाट आज साँझ चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीको जिम्मा लगाएका छन् ।
- कमलकुमार घिमिरे की छोरी कृतिकालाई अपहरण गरेर केही पर पु¥याएपछि झापाको दमक ८ घर बताउने ३० वर्षीय गाेपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
बिराटनगर १२ भदौ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका- ६ बाट आज साँझ चार वर्षीय बालिकालाई अपहरण गरेर लैजाँदै गरेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएर स्थानीय बासिन्दाले प्रहरीको जिम्मा लगाएका छन् । कमलकुमार घिमिरे की छोरी कृतिकालाई अपहरण गरेर केही पर पु¥याएपछि झापाको दमक ८ घर बताउने ३० वर्षीय गाेपाल कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार स्थानीयले बालिकालाई अपहरणमुक्त गर्दै घटनामा संलग्नलाई नियन्त्रणमा लिएका हुन् । अपहरण गरेको थाहा नपाएको भए बालिकालाई अपहरण मुक्त गर्न समस्या पर्ने तिमल्सिनाको भनाइ छ ।
घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा साँझ ७ बजे उनको अपहरण गरिएको थियो । त्यहाँबाट लगभग दुई सय मिटर पर पु¥याएपछि थाहा पाएर स्थानीयले बालिकाको उद्धार गरेका हुन् । बालिका उर्लाबारीकै नमुना मन्टेश्वरीमा नर्सरीमा पढ्छिन् । प्रहरीका अनुसार उनीसंगै सात वर्ष उमेर समूहका अन्य चार पाँच जना बालबालिका पनि खेल्दै थिए ,छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरिए पनि अरुले नमानेपछि चकलेट र फलफुल किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर गएको बुवा कमल कुमारले बताए । उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि संगै खेल्दै गरेका बालबालिकाले घर भित्र गएर आमालाई सुनाएका थिए । कमलले त्यसपछि बाहिर निस्किएर आमाले हेर्दा छोरी नदेखेपछि वरपर होहल्ला गरिएको बताए ।
हामीले छोरी लगेको थाहा पाउँदा दुई सय मिटर भन्दा पर पुयाइसकेको रहेछ, उनले भने, ‘होहल्ला गर्न थालेपछि गाउँले भेला भएर घेरा हाल्दै छोरीको उद्धार गरेर अपहरणमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन सकियो ।’ होहल्ला हुन थालेपछि अपहरणमा संलग्न छोरीलाई छाडेर भाग्ने प्रयास गरे पनि स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा भने लिन सकिएको उनको भनाइ छ ।
पक्राउ परेका कार्कीका सम्बन्धमा अनुसन्धान सुरु गरे पनि उनको वास्तविक ठेगाना भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्कीले दमक घर बताउने गरे पनि उनले नेपाली नागरिकता लगायतका कुनै पनि कागजपत्र पेश गर्न सकेका छैनन् ।उनको साथबाट आछाम राज्यको तीनसुकिया जिल्ला स्थित गोग्राहा टोलको परिचय पत्र फेला परेपछि घटना थप शंकास्पद र रहस्यमय बनेको जानकारी तिमल्सिनाले दिए । उनले नेपाली र भारतीय दुबै नागरिकता लिएको र भारतीय परिचय पत्र फेला परिसकेको अवस्थामा दोहोरो नागरिकतामा पनि कारवाही हुन सक्ने डरले नेपाली कागजात देखाउन नचाहेको हुन सक्ने प्रहरीको भनाइ छ ।
‘घर दमक हो भन्छन् । तर नेपाली नागरिकताको प्रमाणपत्र लगायतका कुनै पनि कागजपत्र देखाउन सक्दैनन्,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरीले भने, ‘नेपाल र भारत दुबै देशको नागरिकता लिएको हुन सक्छ । हाम्रो अनुसन्धान त्यसतर्फ पनि मोडिएको छ ।’ पक्राउ परेका उनलाई भेट्न प्रहरी कार्यालयमा कोही आफन्त पनि आएका छैनन् ।
प्रहरीले उनको साथबाट भारतको जलपाईगुडी सम्मको रेलको टिकटको अर्धकट्टी र ५-५ सय रुपैयाँका दुईवटा भारतीय नोट पनि फेला पारेको छ ।
प्रतिक्रिया