व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
सारांश
- काठमाडौं ।
- मन्त्रिपरिषदको वैठकका निर्णय समयमै सार्वजनिक नगरिएको भन्दै आलोचना भैरहेका बेला सरकारले व्यवस्थित गर्नका लागि हरेक बिहिबार सार्वजनिक गर्ने भएको छ ।
- मन्त्रिपरिषदको वैठक नसकिंदै निर्णयहरु बाहिर आएर अनावश्यक हल्ला हुने गरेकाले सरकारले व्यवस्थित गर्न साताको एक दिन छुट्टाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।
काठमाडौं । मन्त्रिपरिषदको वैठकका निर्णय समयमै सार्वजनिक नगरिएको भन्दै आलोचना भैरहेका बेला सरकारले व्यवस्थित गर्नका लागि हरेक बिहिबार सार्वजनिक गर्ने भएको छ ।
मन्त्रिपरिषदको वैठक नसकिंदै निर्णयहरु बाहिर आएर अनावश्यक हल्ला हुने गरेकाले सरकारले व्यवस्थित गर्न साताको एक दिन छुट्टाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् ।
गत आइतबार बेलुका बसेको मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक नगर्दा निकै आलोचना भएको थियो । सरकारले बिहिबार मन्त्रिपरिषदले गरेको २२ वटा निर्णय सार्वजनिक गरेको छ ।
राजा वीरेन्द्र शाह तथा उनको परिवारको नाममा काठमाडौंको विभिन्न स्थानमा रहेको ७१ रोपनी जग्गालाई नेपाल ट्रस्टका नाममा ल्याउने निर्णय गरेको छ ।
बैठकले डा. राजन भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार नियुक्त गरेको छ ।
गरिबी निवारण कोषको पुनर्संरचनासम्बन्धी कार्ययोजना स्वीकृत गर्दै भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राख्ने निर्णय भएको छ । त्यसैगरी नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा रमण नेपाललाई नियुक्त गरेको छ ।
त्यसैगरी मन्त्रिपरिषद वैठकले पूर्व–पश्चिम राजमार्ग सुधारका लागि एशियाली विकास बैंकले उपलब्ध गराउने करिब साढे छ अर्ब अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा अनुदान स्वीकार गरेको छ ।
बैठकले बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापनाका लागि एक वर्ष समय थपेको छ ।
लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ ।
प्रतिक्रिया