मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग एक्लाएक्लै र सामूहिक भेटवार्ता गर्दै आएपनि मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन सक्नु भएको छैन।
- संसदबाट दोस्रोपटक विश्वासको मत लिएको पाँच दिन भइसक्दा पनि कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने भन्ने सहमति जुट्न सकेको छैन।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग एक्लाएक्लै र सामूहिक भेटवार्ता गर्दै आएपनि मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन सक्नु भएको छैन।
संसदबाट दोस्रोपटक विश्वासको मत लिएको पाँच दिन भइसक्दा पनि कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय पाउने भन्ने सहमति जुट्न सकेको छैन।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार छुट्टाछुटै छलफल गर्दै मन्त्रिपरिषद् बिस्तार छिटो गर्नुपर्ने बताएका छन्।
प्रधानमन्त्रीलाई चैत ६ मा विश्वासको मत दिएका सबैजसो दल सरकारमा जाने तरखर गर्दैछन्। गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा मात्रै सरकारमा नजानेमा छ । सत्ता गठबन्धन दलहरु सरकार विस्तारको गृह कार्यमा जुटेपनि ठोस सहमतिमा पुग्न सकेका छैनन्।
गठबन्धन दलवीच कुन दलले कति र कुन कुन मन्त्रालय लिने भन्ने बाँडफाँटको टुङ्गो लगाउन नसक्दा सरकार विस्तारमा अलमल भएको छ। बिहीबार सत्ता गठबन्धनदलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा वसेपनि मन्त्रालय बाँडफाडको टुङ्गो लाग्न सकेन।
चैत ६ गते विश्वासको मत लिनुभएका प्रधानमन्त्री प्रचण्डले हप्तादिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन्। एमाले, रास्वपा र राप्रपाले सरकारबाट बाहिरिएपछि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले लिएका छन्।
प्रधानमन्त्रीले फागुन १६ गतेदेखि नै १६ वटा मन्त्रालय हेर्दै आएका हुन्। आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरेपनि दलले पाउने मन्त्रालयको संख्या र मन्त्रालय टुङ्गो लाग्न नसक्दा अझै केहिदिन छलफलमै वित्ने देखिएको छ।
प्रधानमन्त्री प्रचण्डलाई ११ दलले विश्वासको मत दिएका छन्। दाहाल नेतृत्वको अहिलेको सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन्। नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टीलगायत मन्त्रिपरिषदमा सहभागी हुन तयार छन्।
प्रतिक्रिया