मन्त्री हुँदा श्रमिकका गुनासो सुनेनन्, आफैं गुनासो गरेर बाहिरिए सूर्यमान
सारांश
- काठमाडौं, जेठ २५ – ‘बधाई छ सूर्यमान दाई, तपाईं मन्त्री बन्ने हुनु भो ।
- ’ २०७३ भदौ ९ गते ।
- मन्त्री बन्नु भएकोमा वधाई भन्ने एसएमएस र फोन सूर्यमान गुरुङलाई आइरह्यो ।
काठमाडौं, जेठ २५ – ‘बधाई छ सूर्यमान दाई, तपाईं मन्त्री बन्ने हुनु भो ।’ २०७३ भदौ ९ गते । मन्त्री बन्नु भएकोमा वधाई भन्ने एसएमएस र फोन सूर्यमान गुरुङलाई आइरह्यो ।
तर सूर्यमान भने खासै उत्साहित हुनुहुन्नथ्यो । उहाँलाई विश्वास पनि लागेको थिएन । ९ गते विहान सूर्यमान उठ्दा बानेश्वरको थापागाउँमा नेता कार्यकर्ता वधाई दिन र भेट्न आइसकेका थिए ।
तर यसअघि पहिलोपल्ट मन्त्री बन्दाको झल्को मेटिएको थिएन । बाबुराम भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका सूर्यमानले १० दिनमै मन्त्रालय छाड्नु परेको थियो । कांग्रेसले सरकार छाड्यो र आफ्ना मन्त्री फिर्ता बोलायो । उमेरले ७० नाघेपनि मन्त्री बनेर देशको सेवा गर्ने घोको पूरा भएको थिएन । यस पटक पनि त्यस्तै होला कि भन्ने शंका गर्दै शपथ खान सूर्यमान शितल निवास पुग्नुभयो ।
तर प्रचण्ड नेतृत्वको सरकारमा उहाँले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनुभयो । सपथ ग्रहणको अघिल्लो रातदेखि नै आएका वधाई बल्ल उहाँलाई विश्वास लाग्यो । तरपनि आफूले चाहेजस्तो मन्त्रालय नपाएपछि उहाँ खुसी हुनु भएन ।
आफूलाई हेपेर श्रम मन्त्रालय दिएको भान उहाँलाई भयो । श्रम तथा रोजगार मन्त्रालयमा आउन खास उहाँलाई मन थिएन । सिंहदरबारमा पदभार सम्हाल्दै गर्दा भन्नुभयो, ‘लु अब मिलेर काम गर्नुपर्छ । म त बुढो मान्छे तपाईंहरुले मलाईं विवादमा नपारी काम गर्नुहोला ।’
केही दिनपछि आफ्नो कार्यकक्षमा पत्रकारसित भन्नुभयो, ‘मलाई खास यो मन्त्रालयमा आउन मन थिएन, अरुले छाडेको मन्त्रालय म बुढोलाई जिम्मा दिइएको छ । मन्त्री क्वाटर पनि सबैले रोजेर बसिसकेछन् । मलाई छैन ।’
क्वाटर नभएपछि सूर्यमान आफ्नै घरमा बस्नु भयो । मन्त्री भएर क्वाटरमा बस्ने सूर्यमानको धोको पूरा भएन ।
हरेक कार्यक्रममा सूर्यमानका कुरा वैदेशिक रोजगारीमा गएका पीडितका गुनासो कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रित भएनन् । वैदेशिक रोजगारमा समस्या नभएका पनि हैनन् । फ्रि भिसा फ्रि टिकटको निर्णय कार्यन्वयन भएको छैन । म्यानपावरले कामदार ठग्न र अलपत्र पार्न छाडेका छैनन् । उनीहरुलाई कारबाही गर्ने र कामदारका गुनासा संवोधन गर्ने कुनै पनि निर्णय भएनन् । गन्तव्य देशसँग श्रम सम्झौता अघि बढ्न सकेन । वैदेशिक रोजगार ऐन सिंसोधन हुन सकेन । यी समस्या समाधानमा मन्त्रीको ध्यान गएन ।
सधैं जसो एउटै गुनासो रहयो, ‘म बुढो मान्छेलाई छाडेको मन्त्रालय ।’
नभन्दै १० महिने कार्यकालमा सूर्यमान विवादमा पर्नु भएन । न त स्यावासी नै पाउनुभयो । मंगलबार मन्त्रालय छाड्दै गर्दा पनि उही गुनासो गर्नुभयो सूर्यमानले, ‘म बुढो मान्छेलाई छाडेको मन्त्रालय ।’
प्रतिक्रिया