महिला दिवस : व्यवहारमा लैंगिक समानताको खाँचो छ -सभामुख महरा
सारांश
- काठमाडौं ।
- सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो बताएका छन् ।
- १०९औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैंगिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताएका छन् ।
काठमाडौं । सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो बताएका छन् । १०९औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैंगिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताएका छन् ।
सबैखाले लैंगिक विभेद र असमानतालाई तोड्दै श्रमिक महिलाका हक अधिकारको प्रत्याभूति गराउन सबैलाई श्रमिक महिला दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख महराले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी, समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी छ भन्दै यहीँ विषयलाई सम्बोधन गर्ने गरी यस वर्ष सरकारले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार : समृद्धिको आधार’ भन्ने मूल उद्देश्यका साथ श्रमिक महिला दिवस मनाउन लागेको सन्देशमा उल्लेख छ ।
महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैंगिक समानता, महिला सशक्तीकरण, महिलाको हक अधिकारप्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना छ ।
“संविधानले लैंगिक समानताका साथै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक सुनिश्चित गरेको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमा महिला सहभागिता अनिवार्य गर्न कानूनी व्यवस्था गरिएको छ । यसले व्यवहारिक रुपमै महिलालाई राजनीतिक नेतृत्वको तहमा पनि सहभागिता र पहुँचको सुनिश्चितता गरेको छ, अझै पनि हरेक क्षेत्रमा समान पहुँच बढाउन बाँकी छ”, सन्देशमा भनिएको छ ।
प्रतिक्रिया