मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२४ पटक हेरिएको
Shares
मुख्यमन्त्री सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने

सारांश

  • कैलाली।
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने भएका छन्।
  • संघीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने भएका छन्। संघीय सरकार गठनमा आएको फेरबदलपछि सत्ता सहयात्री दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री सोडारीले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेको प्रदेश सभाका सूचना अधिकारी युवराज जैसीले बताए।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिने कुरा प्रदेश सभा सचिवालयलाई लेखिएको पत्रमा उल्लेख छ। मुख्यमन्त्रीको आग्रहअनुसार विश्वासको मतको प्रयोजनका लागि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा बैठक आह्वान गरेकाे सूचना अधिकारी जैसीले बताए।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। मुख्यमन्त्री सोडारीका पक्षमा नेकपा (माओवादी केन्द्र) का १०, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रको एक गरेर १५ मत मात्रै देखिन्छ।

उनको विपक्षमा भने नेपाली कांग्रेसका १८, नेकपा (एमाले) का ११, नागरिक उन्मुक्तिका सात र राप्रपाको एक गरेर ३७ मत पर्ने देखिन्छ। यद्यपि मुख्यमन्त्री निकट स्रोतका अनुसार उनले संसद्लाई सम्बोधन गरेर पदबाट राजीनामा गर्ने सम्भावना पनि छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति र स्वतन्त्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार अब यस प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन हुने छ। तर कांग्रेसले कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?