‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !

सारांश

  • काठमाडौ, १८ जेठ ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल २०७२ माघमा महानगरीय अपराध महाशाखा प्रमुख थिए।
  • त्यतिबेला प्रहरीको सर्वाधिक खोजीमा थिए, सुदर्शन थापा मगर।

काठमाडौ, १८ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल २०७२ माघमा महानगरीय अपराध महाशाखा प्रमुख थिए। त्यतिबेला प्रहरीको सर्वाधिक खोजीमा थिए, सुदर्शन थापा मगर।

उनीविरुद्ध एउटी नेपाली युवतीलाई मकाउमा यौन शोषण गरेको र उनलाई चिनियाँ नागरिकलाई बेचेको अभियोग थियो।  खनाल नेतृत्वको अपराध महाशाखाले यो घटनामा कारवाही अघि बढायो। युवती पठाउने सुवाष थापामगरलाई २०७२ माघ ८ मा पक्राउ परे। चीनमा युवती बेच्ने सुदर्शन र सुवाष बाउछोरा हुन्। छोरा पक्राउ परे पनि बाउ सुदर्शन पक्राउ परेनन्।

बरिष्ठ उपरीक्षकको रुपमा अपराध महाशाखामा रहँदा पक्राउ गर्न नसकेका थापालाई महानिरीक्षक खनालले गत आइतबार भक्तपुरमा आफैँले सम्मान गरेका छन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका तत्कालीन अभियुक्त सुदर्शन थापा मगर चिनियाँ टापु मकाउ बस्ने गर्छन्। कुनैबेला आफूविरुद्ध कारवाही चलाउने प्रहरी अधिकृतबाटै सम्मानित भएपछि थापाले आइतबार खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमा फेसबुकमा स्याट्स लेखे।

नेपाल तेक्वान्दो संघ प्रदेश ३ ले भक्तपुरको घलाटेस्थित योयो ब्याङक्विटमा महानिरीक्षक खनाललाई बधाई दिने कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा नेपाली युवतीलाई यौन शोषण, कुटपिट र बेचबखिन गरेको आरोपमा काठमाडौं जिल्ला अदालतममा मुद्दा चलेका आरोपी थापा मगर सम्मानित भएका हुन्।

महानिरीक्षक खनाल महाशाखा प्रमुख रहँदा २०७२ माघ ५ मा मकाउबाट स्याङजाकी एउटी युवतीको उद्दार गरेका थिए। सो घटनामा संलग्न रहेका सुवास थापा मगरलाई पक्राउ गरी कारवाही अघि बढाएको महाशाखाले अर्का आरोपी मकाउको ताईकामा बस्ने सुर्दशन थापा मगर र मकाउ ताकसेक पार्क बस्ने लोकराज रावललाई फरार प्रतिवादी ठहर गर्दै २०७२ फागुन ३ गते मुद्दा दर्ता गरेको थियो।

महानिरीक्षकसँग सुदर्शन थापा (राताेघेरा)महानिरीक्षकसँग सुदर्शन थापा (रातोघेरा)

अपराध महाशाखाबाट २०७२ असार २ देखि २०७३ माघ २० सम्म प्रमुख रहेका खनालकै बलमा पीडित युवतीको मकाउबाट उद्दार भएको थियो। महाशाखा प्रमुखका रुपमा खनालको कार्यकालको प्रमुख उपलब्धि वैदेशिक रोजगारको क्षेत्रमा उनले गरेका कार्यहरु थिए। तर आफैँले पीडितको उद्दार गरेको घटनाका मुख्य आरोपीलाई सार्वजनिक स्थानमा सम्मान गरेको घटनाले प्रहरी महानिरीक्षक खनाल विवादमा तानिएका छन्।

के थियो घटना ?

प्रहरीले निवेदनअनुसार २६ परिसर ५ (न)नामकी स्याङजा सामाकोट घर भएकी युवती वैदेशिक रोजगारका लागि कुवेतमा थिइन्। बाबु सानैमा बितेका र आमाले अर्को विवाह गरेपछि उनी एसएलसीपछि रोजगारका लागि कुवेत पुगेकी थिइन्।

कुवेतमै रहँदा एकजना चिनजानकी महिलामार्फत उनको मकाउमा रहेका लोकराज रावलसँग फोनमा परिचय भएको थियो। उनलाई लोकराजले मकाउमा मासिक ५ हजार मकाउ डलर हुने प्रलोभन दिए।

कुवेतभन्दा मकाउमा राम्रो रोजगार पाउने आशामा पीडित युवती नेपाल फर्केर लोकराजले भने बमोजिम सुर्दशन थापा मगरका छोरा सुवासको सम्पर्कमा पुगिन्। पटक पटक गरेर २ लाख ६३ हजार रुपैयाँ बुझाएपछि सुवाषले उनलाई १४ दिनको भिजिट भिषामा २०७१ फागुन १६ मा मकाउ पठाए। पीडित युवतीले अनुसन्धान अधिकारी समक्ष दिएको बयानअनुसार उनलाई पुर्याउन सुवास आफैँ विमानस्थलसम्म पुगेका थिए। यस्तै सुवासले भनेअनुसार विमानस्थलमा उनलाई गंगा गुरुङ नाम गरेकी महिलाले समेत सहयोग गरेकी थिइन्।

अपराध महाशाखाले त्यतिबेला जारी गरेको विज्ञप्ति

काठमाडौंमा रहेको कम्पास रिक्रुमेन्ट प्रालिमार्फत १४ दिनको भिजिट भिषामा मकाउ पुगेकी युवतीलाई घरेलु कामदारका लागि सुवासले पठाएका थिए। उनलाई मासिक ६५ हजार रुपैयाँ तलब हुने आश्वसन दिइएको थियो। तर मकाउ पुगेपछि उनलाई कल्चर डान्सरका रुपमा कामगर्न बाध्य पारिएको थियो। पीडित युवती अन्य नेपालीको सहयोगमा लोकराज रावल र सुर्दशन थापा मगरको सम्पर्कमा पुगेपछि उनीहरुले नेपालबाट लगेको १ हजार डलर समेत खोसेका थिए।

पीडित युवतीले आफू डान्सरको रुपमा काम गर्न नसक्ने बताएपछि लोकराज र सुर्दशनले एक चिनियाँ महिलालाई बिक्री गरेका थिए। लोकराज र सुदर्शन दुवैले होटलको कोठामा थुनेर आफूलाई बारम्बार बलात्कार गरेको समेत पीडितले उल्लेख गरेकी थिइन्।

प्रहरीले पक्राउ गर्न नसकेका सुदर्शनलाई प्रतिवादी बनाएर अपराध महाशाखाले काठमाडौं जिल्ला अदालतमा २०७२ फागुन २ गते मुद्दा दर्ता गराएको थियो। २०७३ मंसिर ६ मा सुवाषलाई न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले सफाई दियो। थप दुई प्रतिवादी सुदर्शन र लोकराजको हकमा अदालतले मुद्दा मुल्तबीमा राख्ने निर्णय गरेको थियो। तर २०७४ साउन २९ मुद्दा रहस्यमय रुपमा ब्युँतियो। प्रतिवादी सुदर्शन थापा मगरले आफैँले काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका आधारमा मुद्दा ब्युँतिएको थियो। मुद्दा ब्युँताएको चार दिनपछि न्यायाधीश शर्माकै इजालसले २०७४ भदौ ४ मा सुदर्शन र लोकराज दुवैले सफाई दिएको थियो।

तल्लो तहको अदालती प्रक्रियाको निर्णय आफ्ना पक्षमा गराउन थापाले चलखेल गरेको हङकङ, मकाउका प्रवासी नेपाली बताउँछन्। कुनै बेला आफैँले कारवाही प्रक्रिया अघि बढाएका मानव तस्करीका खुँखारहरुसँग मञ्च सेयर गर्दै महानिरीक्षकले सम्मान गरेको विषयले खनालमाथि गम्भीर नैतिक प्रश्न खडा भएको छ।

सुदर्शनकाे कर्तुत के थियाे महाशाखाले तयार पारेकाे अभियाेगपत्र हेर्नुहाेस्:

  (नेपालखबरमा दीपक खरेलले लेखेका छन ।)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Suman Khatri

    Chor polic

    Comment Author

    Saksham Moktan

    यसले पनि बिस्ता रै औकात देखाउदै छ है।

    Comment Author

    Ganesh Rijal

    यी सरकारको मान्छे हाेलान नि।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?