यसरी मनाए राष्ट्रकवि घिमिरेले १००औं जन्मदिन
सारांश
- काठमाडौँ ।
- राष्ट्रकवि माधवप्रसाद घिमिरेले १००औं वर्षमा प्रवेश गरेको जन्मदिन मनाएका छन् ।
- शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् ।
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले १००औं वर्षमा प्रवेश गरेको जन्मदिन मनाएका छन् । शताब्दी जन्म वर्षका अवसरमा मुलुकका विशिष्ट व्यक्तिले भेटेर शुभकामना दिएका छन् ।
लमजुङको पुस्तुन, बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मेका घिमिरे एक सय वर्ष पुगेपछि राष्ट्रकवि घिमिरेलाई राष्ट्रपति, कार्यवाहक प्रधानमन्त्री, विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले भेटेर शुभकामना दिएका हुन् ।
शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोह सकाएर बस्नुभएका घिमिरेलाई दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म लैनचौरमा भेट्घाटको कार्यक्रम मिलाइएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि घिमिरेलाई बिहानै राष्ट्रकवि निवासमा भेटेर शुभकामना दिनुभएको थियो भने अरु व्यक्तित्वले भने लैनचौरमा पुगेर शुभकामना दिएकी थिइन ।
राष्ट्रकवि भेट्न अपरान्ह ४ बजे पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फुलको पुष्हार र फलफूल दिँदै दोसल्ला ओढाएर सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शताब्दीपुरुष सत्यमोहन जोशी, साहित्यकार बैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वउपकुलपति विष्णुविभु घिमिरेलगायतले शुभकामना दिएका थिए ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल, काङ्ग्रेस नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, पूर्वसांसद रामचन्द्र पोखरेल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, कलाकार, पत्रकारले, वकील तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । दुई हजारभन्दा बढी व्यक्तिले उहाँलाई शुभकामना दिई दिर्घायुको कामना गरेका थिए ।
प्रतिक्रिया