यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यस्तो छ सुन काण्डको कहानी- लहरो तान्दा पहरो

सारांश

  • साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए ।
  • उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।
  • सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो ।

साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।

सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो । तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो । गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो ।

सो गाडीका चालक काभ्रेका टेकराज मल्ल मात्र होइन, उनको सहयोगमा पक्राउ परेका मोरङ उर्लाबारीका कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेसँग प्रहरीले बयान लियो । सुन लुकाएको आरोपमा उनीहरू पनि सनमसँगै बन्धक बनाइएका थिए । स्रोतबाट प्राप्त बयानको समग्र विवरणः

गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया गोरेका लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत पुर्‍याउने गरिन्थ्यो ।

त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो । उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा पुर्‍याए ।

अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो । तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो । र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत ।

सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए । सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने । सनमले उर्लाबारीमा छु भनेर ढाँटे । तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो ।

त्यसपछि सनम गोरेको शंकामा परे । तर, सनमले भने सानु बनलाई शंका गरे । यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे । भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए । गोरे बुझ्न लागे । तर, भुजङले गायब पारेको पुष्टि भएन । अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे ।

सानुमाथि गोरेको शंका

गोरेको निष्कर्ष थाहा पाएपछि सानु केही दिन डरले गायब भए । तर, शंका झन् बढ्ने भएकाले उनी एयरपोर्टमा देखा परे । तर, त्यही दिन ट्यांकरमा ठोक्किएर उनको ज्यान गयो ।

अनुसन्धानमा सामेल गरिएको सिसिटिभी फुटेजमा सानु आफैँ ठोक्किएर आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । तर, उक्त ट्यांकरका चालक माइला सार्की भने फरार छन् ।

सानुको मृत्युपछि सनमतिर गोरे

सानुको मृत्युपछि गोरेले सुन सनमले गायब पारेको भन्दै खोजबिन थाले । सनम डरले भागेर आसाम पुगे । तर, भेट्न नआएमा उर्लाबारीमा भएका आमाबुवा श्रीमती सबैलाई सखाप पार्ने धम्की गोरे समूहले दियो ।

सनमले गोरे समूहलाई पश्चिम बंगालको सिलिगुडीमा भेटेर सुन आफूले गायब नबनाएको स्पष्टीकरण दिएका थिए । सनमलाई गोरे समूहले यातना दिएर सोधपुछ गर्दै निश्चित समयभित्र सुन नल्याए ठीक नहुने धम्की दिएको थियो । तर, सनमले सुन भेट्न सकेनन् ।

नरेन्द्र र मोहन पनि तानिए

भाका नाघेपछि गोरेका भारतीय गिरोहका सदस्य उस्ताम मियाँलगायत नेपाल आएर सनमसहित उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर अनुसन्धान थाले । नरेन्द्र र मोहन पनि सुन लिन काठमाडौं जानुपर्ने भरिया थिए ।

तर, उनीहरू काठमाडौं गएका थिएनन् । १४ फागुनदेखि गोरे समूहले सनम, नरेन्द्र र महेन्द्रलाई नियन्त्रणमा लिएर सिरहाको लहान पुर्‍याई बन्धक बनायो । पछि यातना दिँदै धरानको निर्वाण कन्ट्री क्लबको गेस्ट हाउसमा लगेर सोधपुछ गरियो ।

त्यहाँ एयरवेजका कर्मचारीहरू पुण्यप्रसाद लामा र एलपी भनिने लालबहादुर मगरलाई पनि सँगै राखेर यातना दिइएको थियो । तर, पछि उनीहरूलाई दोषी नभएको ठहर गर्दै काठमाडौं फकाइयो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?