यो नै अन्तिम ‘सेल्फी’ नबनोस् !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
यो नै अन्तिम ‘सेल्फी’ नबनोस् !

सारांश

  • जीवन ‘सेल्फ’ अर्थात् स्वयंद्वारा परिभाषित छ ।
  • म भएकै कारण मेरा लागि संसार छ ।
  • म जे बुझ्छु र देख्छु, त्यही नै मैरो परिभाषाको संसार हो ।

जीवन ‘सेल्फ’ अर्थात् स्वयंद्वारा परिभाषित छ । म भएकै कारण मेरा लागि संसार छ । म जे बुझ्छु र देख्छु, त्यही नै मैरो परिभाषाको संसार हो । हामी भन्छौं, ‘फलानो विषय यस्तो छ ।’ आफूलाई कुनै विषय राम्रो या नराम्रो लागेपछि अरूलाई हामी त्यसबारे हाम्रो निचोड बताइदिन्छौं । यसको अर्थ, संसारका सबै व्याख्या, विवेचना र परिभाषा ‘सेल्फ’ ले बनाएका हुन् । एक व्यक्तिले बनाएको हो । र, अनेक एकबाट निर्मित अनेकले समाजमा सिद्धान्त र नीतिनियम बनाएका छन् ।

अस्तिसम्म समाजमा राजा-महाराजाको बोली नै कानुन हुन्थ्यो । लुई चौधौंजस्ता शासक ‘म नै राज्य हुँ’ भन्ने हुंकार दिन्थे । उनीहरू कालोलाई सेतो र सेतोलाई कालो भन्न सक्थे र लोकले त्यो स्वीकार गथ्र्यो पनि । हान्स क्रिश्चियन एन्डर्सनको कथामा उल्लेख भएका पात्रजस्तै यस्ता राजाहरू नांगै हिँड्दा समेत जगत् सत्य देख्दादेख्दै भन्थ्यो, ‘अहो महाराजले कति मणिमाणिक्ययुक्त वस्त्र पहिरिनुभयो । महाराजको लुगा कति राम्रो !’

तर विस्तारै समाजले एक व्यक्तिको अवधारणलाई नभएर बहुधारणा मान्ने समय आयो । त्यसो हुँदाहुँदै पनि आखिर त ‘सेल्फ’ हरूकै जञ्जाल हो समाज । सम्भवतः तिनै सेल्फहरू अहिले सामाजिक सञ्जालमा आफ्ना सेल्फी (आफैंले खिचेको आफ्नै तस्बिर) पोस्ट गरिरहेका छन् । फास्ट प्रोसेस गर्ने स्मार्टफोन नहुँदा पनि मान्छेले आफ्नै क्यामेरामार्फत तस्बिर खिचेकै थिए तर एलसीडी मनिटरमा आफ्नो भावभंगी नियाली-नियाली दर्जनौं तस्बिर खिच्न पाउने स्वतन्त्रता उबेलाको रिलवाला क्यामरामा कहाँ ? आफूलाई प्रदर्शन गर्न को नचाहला ? इन्टनेरनेटमा सहजै उपलब्ध सामाजिक सञ्जालमा हामी आफ्ना सेल्फी र ‘सेल्फभाव’ हरू भटाभट पोस्ट गर्छौं र आल्हादित हुन्छौं ।

प्रतिक्रियाको प्रतीक्षा गर्छौं । हामी ‘लाइक’ लाई मन पराउँछौं । सेयरिङलाई केयरिङ ठान्छौं ।आफ्ना सुन्दरता, सफलता, विजय, पुरस्कार र कहिलेकाहीं दुःखसमेत पोख्नु मानवीय चरित्र हो । कमजोरी लुकाउनु पनि मानवीय स्वभाव हो । यी सबै स्वाभाविक हुन्, तर हामी अचेल बढी नै अस्वाभाविक हुन थालेका छौं । सन् २०१५ मा सामाजिक सञ्जालमा सेल्फी राख्नकै लागि तस्बिर खिच्दा सयभन्दा बढी व्यक्तिले रसियामा ज्यान गुमाए । कोही नदीको भेलमा, कोही बाघको खोरमा, कोही पल्टँदै गरेको डुंगामा, कोही अग्लो भवनमा झुण्डिएर, कोही पहिरोमा ‘अति उत्कृष्ट सट’ का लागि पोज गर्दैगर्दा उनीहरूले ज्यान गुमाए ।

फोटो खिच्नकै लागि आफ्नो टाउकोमा बन्दुक ताकेकी मस्को सहरकी एक युवतीले झुक्किएर लोड गरिएको बन्दुकको ट्रिगर दबाइन् र आफ्नो सेल्फीलाई अन्तिम बनाइन् । अघिल्लो वर्ष वासिंटनका एक व्यक्ति त्यसैगरी झुक्किए र गोली कन्चट हुँदै बाहिर निस्कियो र उनको सेल्फी पनि अन्तिम बन्यो । अमेरिकामै पिन निकालेको ग्रिनेड हातमा लिएर सेल्फी खिच्दै गर्दा दुई युवकको ज्यान गयो ।

ज्यानै धरापमा पारेर आफूलाई साहसी, बहादुर, पराक्रमी देखाउन कठिनभन्दा कठिन ठाउँमा तस्बिरका लागि पोज गर्नु साँच्चै मानसिक समस्या हो ।

अघिल्लो वर्ष पेरुको माचुपिचुको एक प्रतिबन्धित स्थानमा उफ्रँदै गरेको सेल्फी खिच्दै गर्दा लडेर एक फ्रान्सेलीको ज्यान गयो । पेरूकै गोक्टा छहरामा आफ्नो सेल्फी खिच्न खोज्दै छहरामा खसेर गर्दा अर्का व्यक्तिको ज्यान गयो । प्राइसोनोमिक्स नामक एक अन्तर्राष्ट्रिय संस्थाका अनुसार सेल्फीमा ज्यान गुमाउनेको प्रायः उमेर २१ छ र त्यसमा ७५ प्रतिशत पुरुष छन् । स्त्रीहरूलाई सेल्फीमा झुम्मिने आरोप लाग्दै गर्दा डरलाग्दा सेल्फीका कारण ज्यान फाल्ने प्रायः पुरुष हुने रहेछन् । वासिंटन पोस्टले अघिल्लो वर्ष उल्लेख गरेअनुसार भारत सेल्फीको मृत्युमा सबैभन्दा धेरै ज्यान गुमाउनेमा पर्छ । सेल्फीका कारण ज्यान गुमाउनेमध्ये धेरैले तीव्र गतिले आफूतर्फ आइरहेको रेलकै अगाडि फोटो खिच्ने गरेको देखिन्छ ।

मुख चुच्चे पारेर खिचिएका फोटा हुन् या भद्र पोज हुन्, ती हाम्रा बदलिएका हाम्रो अभिव्यक्ति हो । यसले मान्छेको समय बर्बाद गर्‍यो भन्ने आरोप लागे पनि पनि मान्छे ‘इन्डल्ज’ हुने एउटा प्रचलित फेसन हो सेल्फी । त्यसमाथि, एकान्तमा आफैंलाई निरीक्षण गर्ने र आफ्ना भाव उतार्ने सेल्फीजत्तिको उचित अर्को कुन तरिका होला ? तर जब हाम्रा अभिलाषाहरूले बेहोसी चरित्र ग्रहण गर्छन्, त्यसले आखिरमा अमूल्य जीवन नै नास गर्छ । आफ्ना सन्तान कतिखेर फर्कन्छन् भनेर ‘गुँड’ मा पर्खिरहेका आफन्तलाई सेल्फी खिच्ने क्रममा आफ्ना सन्तान कहिल्यै नआउने गरी संसारबाट बिदा भए भन्ने समाचार पढ्दा ? सेल्फी खिच्दा आफ्नो बच्चा मर्दा उति धेरै भावनात्मक र आर्थिक लगानी गरेका बाआले के भनेर चित्त बुझाउने ?

उसो त मान्छेहरू हिमाल पनि चढ्छन् प्रसिद्धी र प्रतिष्ठा कमाउन । चर्चित हुने रहरमा ‘अल्टिमेट एडभेन्चर’ गर्छन् । डरलाग्दा स्टन्ट गर्छन् । त्यसलाई सोख, उमंग, साहसी खेल जे नाम दिए पनि त्यो खतरायुक्त काम हो । आखिर सबैभन्दा महत्वपूर्ण त जीवन हो । जीवन रहे न सबै कुरा भोग्न पाइन्छ । भन्नलाई खतरा नमोल्नेले सफलता पाउँदैन भन्छन् तर अग्लो भवनमा झुण्डेर, नदीको छालनिर उभिएर, आगोको लप्काअघि जिस्किएर अथवा अग्ला र चिप्ला पहाडमा उफ्रेर सेल्फी खिचेर हामी कुन साहसको प्रदर्शन गर्दछौं ? कसलाई जित्दैछौ ? के बाजी मार्दैछौं ?

केही अन्तर्राष्ट्रिय मनोचिकित्सक र स्वास्थ्यसम्बन्धी संस्थाले दिनमा तीन पटकभन्दा बढी सेल्फी खिच्ने व्यक्तिलाई मानसिक रूपमा समस्या भएको बताए पनि सेल्फी आजको प्रचलित लत हो । तर ज्यानै धरापमा पारेर आफूलाई साहसी, बहादुर, पराक्रमी देखाउन कठिनभन्दा कठिन ठाउँमा तस्बिरका लागि पोज गर्नु साँच्चै मानसिक समस्या हो । जीवनलाई ‘सेल्फ’ भन्दा पर गएर सोच्न सकिएमा पनि यस्ता सेल्फीका दुर्घटना हल होलान् ।

सेल्फको विपरीत ‘सेल्फलेस्’ अर्थात् निस्वार्थी भएर दुनियाँ र जगत्लाई हामीले आफ्ना सुन्दर स्मार्टफोनमा कैद गर्न थाल्यौं भने सेल्फिस् भावना कम हुन सक्ला । उडिरहेका चरा, स्कुल पोसाकमा सजिएर स्कुल जान लागेका नानीबाबु, पोखरीमा खेलिरहेका माछा, सडकका भेटिने मसिना कुकुरका छाउरा, खुलेको आकाश, रंगिन फलफूल र वास्नादार फूल, हरिया बन, गजधम्म उपभएका हिमालका तस्बिर आफ्ना स्मार्टफोनमा उतार्दाको आनन्द बेग्लै होला । यिनका फोटो खिच्नेमात्रै होइन, यिनीप्रति थोरै जिम्मेवारी र दया करूणाको भाव जगाउन सिक्यौं भने हाम्रा बच्चाले पनि त्यसको सिको गर्लान् । त्यसो हुँदा पो हुन्छ प्रविधिको सदुपयोग । त्यसैले, त्यस्तो तस्बिर नखिचौं हामी जुन तपाईंको जीवनको अन्तिम तस्बिर बनोस् ।

अन्नपूर्ण पोस्टका लागि दीपा कोइराला को लेख !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?