प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी ओलीले देशमा अझै कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन्।
- मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरेका हुन्।
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले देशमा अझै कोरोना भाइरसको जोखिम कायम रहेको भन्दै लकडाउनको अवधि बढाइएको बताएका छन्। मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जोखिम अझै कायमै रहेको भन्दै सबैलाई महामारीलाई रोकथाम गर्न सहयोग गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गरे। उनले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरे।
ओलीले अहिले मुलुकमा क्वारेन्टाइनमा ९,१६१ जना रहे पनि देशभरि ३०,५६७ लाई राख्न सकिने क्षमता रहेको बताए। त्यसैगरी ३,२०५ जना आइसोलेशन शय्या भएकोमा अहिलेसम्म त्यसमा ९५ जना रहेको बताए। कसैको एउटा लापरवाही सिङ्गो समुदायलाई महङ्गो पर्नसक्ने भन्दै उनले लकडाउन पालना गर्न आग्रह गरे।
सीमामा रोकिएका नेपालीहरूबारे सरकारले ’उचित कदम’ चालेको भन्दै उचित समयमा पुनस् जाँच गरेर नेपाल भित्र्याइने उनले बताए। आगामी दुई साता’थप जोखिमपूर्ण’ भएको बताउँदै उनले र्यापिड टेस्ट किटले परीक्षणको काम तीव्र गतिमा लैजाने सरकारको योजना सुनाए।
सम्बोधनका क्रममा ओलीले क्वारन्टीन अवधि पूरा गरेका व्यक्तिको पुनस् परीक्षण गरिने जनाए। यतिखेर जीवन कि वैयक्तिक स्वतन्त्रता भन्ने बहस गर्नु नै उपयुक्त नहुने उनको भनाइ थियो। ओलीले सामान्य वा असामान्य अवस्थामा सरकारका काम विधिसम्मत हुनुपर्ने बताए। तर काम नै गर्न नसक्ने अवस्थाको सिर्जना सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गर्न नहुने बताए।
ओलीले पटकपटक लड्नु र धुलो टक्टक्याउँदै उठ्नु मानव जातिकै विशेषता भएको बताए। जसमै टेकेर यसपटक समेत यस महामारीबाट पार पाइने भन्दै उनले विनाशकारी भूकम्पको सम्झना समेत गरे। ओलीले त्यसबेलाझै “धैर्य र साहस देखाउन“ आग्रह गरे।
मुलुकमा कोरोनाभाइरस फैलिन नदिन सरकारले लगाएका प्रतिबन्धहरूका साथै स्वास्थ्य सामग्री खरिदजस्ता विषय विवादको घेरामा परेको बेला प्रधानमन्त्रीले झन्डै तीन सातापछि फेरि देशवासलाई सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रतिक्रिया