ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो
सारांश
- काठमाडौं।
- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ।
- उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए।
काठमाडौं। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ।
उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिए। शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गरेका थिए।
मंगलबार खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित सात जनालाई पक्राउ गरेको थियो। उद्यपि यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ।
सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो। यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन्। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन्।
मंगलबार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ। उक्त घटनाका विषयमा आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी सीआईबीले गरेको छ।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ। सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
प्रतिक्रिया