विश्वकप फुटबल २०१८: प्रायोजन बिनानै यसरी हुँदैछ एप्पलकाे प्रचार
सारांश
- फिफा विश्वकप फुटबल पृथ्वीका सबै कुनामा हेरिने प्रतियोगिता हो।
- सन् २०१४ मा मात्रै तीन बिलियन मानिसहरुले फिफा विश्वकप हेरेका थिए।
- सोही कारण विश्वकपलाई प्रायोजन गर्न कम्पनीहरुले अर्बौ रुपैयाँ खर्चिन्छन्।
फिफा विश्वकप फुटबल पृथ्वीका सबै कुनामा हेरिने प्रतियोगिता हो। सन् २०१४ मा मात्रै तीन बिलियन मानिसहरुले फिफा विश्वकप हेरेका थिए।
सोही कारण विश्वकपलाई प्रायोजन गर्न कम्पनीहरुले अर्बौ रुपैयाँ खर्चिन्छन्। जारी विश्वकपबाट फिफाले मार्केटिङबाट १.६ बिलियन डलर पैसा कमाउने लक्ष्य राखेको छ। अर्बौ खर्चने कम्पनीहरुले पनि विश्वकपलाई बढी भन्दा बढी प्रचारप्रसारको माध्यम बनाएका छन्।
विश्वकपमा प्रायः कम्पनीहरुको प्रायोजक शैली आफ्नो लागोसहितका होर्डिङहरुको प्रयोग गर्नु देखिएको छ। तर अाइफाेन, म्याकबुककाे उत्पादक एप्पल भने भिन्न छ। उसले विश्वकपमा प्रयाेजन गरेकाे छैन। पैसा तिरेकाे पनि छैन। र विश्वभरिका उत्कृष्ट फुटबल खेलाडीहरू एप्पलकै उत्पादनकाे प्रचार गरिरहेछन्।
कसरी यस्ताे भइरहेकाे छ त?
याे विश्वकपमा विश्वभरिका खेलाडीहरुले एप्पलका एअरपोड्स, तारविहीन इअरबुट्स र हेडफोनको अत्यधिक प्रयोग गरेको छन्। विश्वकप खेल्न आउँदा, खेलपूर्व, खेलपछि र घर फर्कदा पनि एप्पलका ती सामाग्रीहरुले खेलाडीमाथि राज गरिरहेका प्रशस्त तस्विर एवं भिडियाे सार्वजनिक भएका छन्।
जुन फिफाको मार्केटिङ नीति विपरित पनि हो। यस्ता कार्यलाई फिफाले ‘एम्बुस मार्केटिङ’ अन्तर्गत राखेको छ। जसअन्तर्गत विश्वकपलाई प्रायोजन नगरेका कम्पनीहरुका सामाग्रीहरु खेल सुरु हुनु अघि या भइरहेका बखत खेलाडीहरुले प्रयोग गर्न पाउँदैनन्। सोही कारण प्रतियोगिता अवधिभर कुनै पनि खेलाडीले फिफालाई प्रायोजन नगरेका कम्पनीका लोगोयुक्त सामाग्रीको प्रयोग गर्दैनन्।
तर, एप्पल भने फिफाको उक्त एम्बुस मार्केटिङ भन्दा एकदम अघि देखिएकाे छ। ती हेडफोन र एअरबुट्समा एप्पलले आफ्नो लोगो राखेकै छैन। लोगो नै नभएका सामाग्रीहरु प्रयोग गर्दा फिफाको नियम मिचिने कुरै भएन। त्यसैले खेलाडीहरुले फिफा बन्धनकाे झन्झट बेहोर्नु पर्ने अवस्था छैन। र खेलाडीहरुले प्रयोग गरेको ग्याजेट देख्ने जो सुकैलाई सजिलै थाहा हुन्छ ती एप्पलका उत्पादन हुन् भनेर।
सन् २०१४ मा फिफाले एम्बुस विज्ञापन भएको भन्दै लोगो अंकित हेडफोनहरुको प्रयोग गर्न खेलाडीहरुलाई प्रतिबन्ध लगाएको थियो। जसमा एप्पलका उत्पादनहरु पनि मारमा परेका थिए। लगत्तै एप्पलले नयाँ उपाय निकाल्दै लोगोरहित एअरपोड्सहरु सार्वजनिक गर्यो।
सुरूमा एप्पलले ‘अन्य उत्पादन’काे श्रेणीमा राखेर हेडफोनहरुको बिक्री बिवरण सार्वजनिक गर्दैन। तर, २०१६ मा सार्वजनिक भए यता एअरपोड्स एप्पलकाे सफल उत्पादनमध्ये एक हो।
विगतमा एप्पलले आफ्नो हेडफोनको प्रचारका लागि फुटबल खेलाडीको प्रयोग गरेको थियाे। याे पटक उसले विश्वकपमा कुनै पनि खेलाडी वा फिफालाई आधिकारिक प्रायोजन गरेको छैन। तर विश्वकपलाई लक्षित गरेर उसले ‘आइफोन एक्समा फुटबल कसरी खिच्ने?’ भन्दै भिडियो विज्ञापन भने बनाएको छ।
यहाँ केही खेलाडीहरुका तस्बिर छन्, जसले जारी विश्वकपका क्रममा एप्पलका सामाग्रीहरु प्रयोग गरिरहेका देखिन्छन्।




प्रतिक्रिया