शाहरुख गौरी बिबाहको २७ औँ बर्षगाँठ तर दिक्क भएर गौरी मुम्बई भागेकी थिइन्
सारांश
- बलिउडमा आदर्श जोडि मानिन्छ शाहरुख खान गौरी खानलाई ।
- शाहरुख र गौरीको बिहे भएको २७ वर्ष भएको छ ।
- २५ अक्टोबर १९९१ मा हिन्दु संस्कार अनुसार उनीहरुको बिबाह भएको थियो ।
बलिउडमा आदर्श जोडि मानिन्छ शाहरुख खान गौरी खानलाई । शाहरुख र गौरीको बिहे भएको २७ वर्ष भएको छ । २५ अक्टोबर १९९१ मा हिन्दु संस्कार अनुसार उनीहरुको बिबाह भएको थियो । विवाह पूर्व भएको निकाहमा गौरीको नाम आयशा राखिएको थियो । शाहरुख बलिउडका बादशाह मानिन्छन् । गौरी स्टार पत्नी हुनुका अलावा चलचित्र निर्माता तथा इन्टेरियर डिजाइनर हुन् । शाहरुखलाई बलिउडमा पत्नी प्रति वफादार मानिन्छ । उनले कैयौपटक सार्वजकि कार्यक्रममै आफ्नो सफलताको श्रेय पत्नी गौरीलाई दिएका छन् ।
पहिला नजरमै शाहरुख भुतुक्कै
१९८४ मा दिल्लीको पञ्चशील क्लबको एउटा पार्टीमा १९ वर्षका शाहरुखले १४ वर्षकी गौरीलाई पहिलोपटक देखेका थिए । जब शाहरुखको नजर गौरीमा पर्यो माहोल यस्तो बन्यो कि उनले गौरीबाट आफ्नो आँखा हटाउनै सकेनन् । पहिलो भेटमै गौरी प्रति भुतुक्कै भएका शाहरुख आफ्नो लज्जालु स्वभावका कारण बोल्न भने सकेनन् । तर गौरी कुनै कार्यक्रममा जाने भन्ने थाहा पाउने बित्तिकै शाहरुख जसरी पनि त्यहाँ पुग्थे । बल्लतल्ल उनले तेस्रो पटकको भेटमा गौरीको घरको फोन नम्बर लिन सफल बने ।
जब गौरी दिक्क मानेर मुम्बई गइन्
तर सुरुवातमा गौरीलाई पट्याउन शाहरुखले निकै पापड बेल्नु परेको थियो । शाहरुखको निकै ठूलो संघर्ष पनि मात्रै गौरीको मन पग्लिएको थियो । शाहरुखले एउटा म्यागेजिनमा दिएको अन्तरवार्तामा गौरीले कपाल खोल्दा एकदमै सुन्दर देखिने बताएका छन् । कपाल खोल्दा धेरै राम्री देखिने भएकाले गौरीलाई अरुले आँखा लगाउलान भनेर उनी कपाल खोल्यो की झगडा गरिहाल्थे । शाहरुखले धेरै कुरामा अधिनमा राख्न थाले पछि गौरी दिक्क मान्न थालि सकेकी थिइन् । त्यसैले एक दिन शाहरुखलाई पनि थाहै नदिई उनी दिल्लीबाट मुम्बई भागिन् ।
शाहरुख गौरीलाई खोज्दै मुम्बई पुगे । तर गौरी कहाँ बस्छिन् भन्ने उनलाई थाहा थिएन । गौरीलाई खोज्दै शाहरुखले मुम्बईका गल्ली गल्ली चाहार्न थाले । धेरै दिनको अथक खोजी पछि मात्रै उनले गौरीलाई फेला पारेका थिए ।
कोडमा फोनवार्ता हुन्थ्यो
मुस्लिम शाहरुख र हिन्दु गौरीको सम्बन्धलाई परिवारले सहजरुपम लिने चान्स नै थिएन । त्यसैले शाहरुख गौरीलाई घरमा फोन गर्दा कोड भाषा प्रयोग गर्थे । कुनै एक महिला साथीलाई फोन गर्न लगाए पछि शाहरुख र गौरी बीच फोन सम्पर्क हुन्थ्यो । शाहरुखले सुरुमा फोन गर्न साथीको कोड नाम शाहीन थियो । शाहीन कोडमा फोन गरेपछि कसले फोन गरेको हो गौरी थाहा पाइहाल्थिन् र उनीहरु घण्टौ फोनमा झुण्डिन्थे ।
यसरी प्रेम प्रस्ताव राखेका थिए
एक दिन शाहरुख गौरीलाई घर छोड्न गइरहेका थिए । जब गौरीको घर आयो र गौरी गाडिबाट ओर्लिन् । त्यतिबेला एक्कासी शाहरुखले गौरीलाई के तिमी मसँग बिहे गर्छाै भनेर सोधे । तर गौरीले जवाफ दिनु अघि नै शाहरुख त्यहाँबाट फर्कि सकेका थिए ।
यसरी भयो बिहे
शाहरुखको परिवार भन्दा गौरीको परिवार उनीहरुको सम्बन्धमा बाधक थियो । शाहरुखले निकै लामो संघर्ष पछि गौरीको परिवारलाई बिहेका लागि मनाए । अन्तत हिन्दु संस्कार अनुसार २५ अक्टोबर १९९१ मा शाहरुख र गौरीको बिहे भयो । उनीहरुको दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया