सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सन्दिप लामिछानेबारे बाबुरामदेखि पारससम्मले के गरे ट्वीट ?

सारांश

  • काठमाडौं,३० वैशाख ।
  • विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ ।
  • १७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ ।

काठमाडौं,३० वैशाख । विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ ।

१७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ ।

भारतीय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स ब्यांग्लोरविरूद्ध मैदानमा उत्रिएका सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए ।

एक विकेट लिएका सन्दीपले ‘किफायती’ बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ ।

प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारू तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन् ।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो ‘ओपनिङ बलर’का रूपमा प्रस्तुत गरेको थियो ।

खेलमा उनले चार ओभर २५ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको ‘उत्कृष्ट प्रदर्शन’ भएको इएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन् ।

सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए ।

दिल्ली डेयरडेभिल्सका पाँच बलर मध्ये उक्त खेलमा उनले सबैभन्दा कम रन दिएका थिए ।

शनिवारको खेलमा ‘नट आउट’ ७२ रन प्रहार गरेर ‘म्यान अफ द म्याच’ बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

उनले भनेका छन्, “लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन्। यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु। यो भारतीय क्रिकेट र समग्र क्रिकेटका लागि ठूलो उपलब्धि हो ।”

आफ्नो पहिलो खेलपछिको एउटा अन्तर्वार्तामा सन्दीपले दिल्ली डेयरडेभिल्सको टोलीमा स्थान पाएकोमा खुशी व्यक्त गर्दै विश्वका दुई अग्रणी ब्याट्समेनविरूद्ध बलिङ गर्न पाउनु आफैँमा उपलब्धि भएको बताएका छन् ।

“मैले मेरा प्रशिक्षकहरूबाट धैर्य गर्न सिकिरहेको छु, अझै लामो यात्रा गर्नुपर्नेछ, टोलीका प्रशिक्षक र सबै सदस्यबाट राम्रो सहयोग पाइरहेको छु ।”

सन्दीपको पहिलो खेलको प्रदर्शनलाई आइपीएलको आधिकारिक ट्विटर खातामा ‘ऐतिहासिक’भनिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि उनलाई आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेकोमा बधाई दिएको छ ।

खुशी व्यक्त गर्नेमा सन्दीपलाई अष्ट्रेलियामा लगेर अभ्यासको मौका दिने अष्ट्रेलियाको टोलीका पूर्वकप्तान माइकल क्लार्क पनि छन् ।

उनले ट्विटरमा लेखेका छन्, “मेरा साथीले आइपीएलमा पहिलो पटक खेल्ने मौका पाएका छन्, उनको कथा कति रोमाञ्चक छ!”

ट्विटरमा नेपाली किक्रेट टोलीका कप्तान पारस खड्काले सन्दीपलाई शुभकामना दिँदै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन भनेका थिए ।

सन्दीपले बलिङ गरिरहँदा ट्वीट गर्दै नेपाली ब्याट्सम्यान शरद भेषावकरले सन्दीपले एकदमै राम्रो शुरूवात गरेको र आफ्नो खुशी एक तहमाथि पुगेको टिप्पणी गरेका थिए ।

भारतीय क्रिकेट विश्लेषक हर्ष भोग्लेले सन्दीपले विकेट लिनुलाई एउटा ठूलो क्षण भन्दै ट्वीट गरेका थिए । 

उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ ।

१५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश भएका सन्दीपले हालै सम्पन्न विश्व क्रिकेट डिभिजन दुईमा १७ विकेट लिएका थिए ।

त्यसपछि जिम्बाब्वेमा भएको डिभिजन १ क्रिकेटमा उनले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय क्रिकेट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन जाने क्रममा चितवनको एउटा क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका सन्दीप राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?