सागले भ्रमण वर्षलाई सहयोग पु-याउने विश्वास
सारांश
- यतिबेला पोखरा सागमय बनेको छ ।
- १३ औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् ।
- साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।
यतिबेला पोखरा सागमय बनेको छ । १३ औ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा आठ खेल भइरहेका छन् । साग खेलका लागि ८४० खेलाडी र अफिसियल यतिबेला पोखरामा छन् ।
पोखराको सुन्दरतासँग रमाइरहेका खेलाडीबाट नेपाल भ्रमण वर्षको प्रचारप्रसार हुने विश्वास गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले लिनुभएको छ । सागले पर्यटन क्षेत्रमा उत्साह थपेको उहाँको भनाइ छ । मन्त्री लम्साल भन्नुभयो, “यतिबेला नेपालबाहेक छ देशका खेलाडीको जमघट छ । उनीहरु पोखरामा खेलमात्र खेलिरहेका छैनन् । यहाँको सौन्दर्यमा पनि रमाइरहेका छन्।”
“साहसिक खेलको शहर पोखराका धेरै कुराले पनि सागमा सहभागी खेलाडीबाट प्रचारप्रसार हुने विश्वास हामीले लिएका छौँ”, उहाँले भन्नुभयो, “नेचर, कल्चर र एडभेन्चरलाई अन्तरराष्ट्रिय बजारमा बिकाउन खोजिरहेका छौँ, यस खेलबाट पक्कै पर्यटन प्रवद्र्धन हुनेछ ।” संस्कृतिको खानी पोखराको आसापास स्थानको अवलोकन गराउन सके अझ प्रचारप्रसार हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले होटल व्यवसायीलगायत सम्पूर्णले राम्रो आतिथ्यतामा जोड दिनुपर्ने बताउनुभयो।
त्यसैगरी पर्यटन व्यवसायीहरुमा पनि साग खेलले बेग्लै उत्साह थपेको साग खेल आवास तथा खाना व्यवस्थापन समितिका संयोजक एवं पर्यटन व्यवसायी सूर्य भुजेलले बताउनुभयो । “आ–आफ्नो देशका ट्र्याकसुटमा बिहान–बेलुका खेलाडीको टिमको लर्कोले लेकसाइडमा रौनक थपेको छ । यो हाम्रा लागि निकै ठूलो अवसर हो । हामी पैसाले गर्न नसक्ने विज्ञापन खेलाडीबाट भइरहेको छ”, उहाँले भन्नुभयो । पोखरामा रहेका खेलाडीले काठमाडौँका खेलाडी साथीलाई पोखराका बारेमा बताइरहेको र खेल सकिएका खेलाडी काठमाडौँबाट पोखरा घुम्न आउने तयारीसमेत गरेको भुजेलले जानकारी दिनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले साग खेल पोखरामा हुनुलाई सुनौलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको सदाबहार अनुकूल हावापानी, सौन्दर्यसँगसँगै हामीले प्रदान गरेको आतिथ्यताले पनि विदेशी खेलाडी खुशी हुनुभएको छ । यो पनि पर्यटन प्रवद्र्धनका लागि एउटा सकारात्मक पक्ष हो ।” “कति कुरा तत्काल देखिँदैन तर त्यसको परिणामपछि आउँछ । अहिले पोखरामा भएको साग खेल भ्रमण वर्ष २०२० लाई सघाउनेमा आफू विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।
रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) पोखराका अध्यक्ष भीमसेन भुजेल पनि पोखरालाई अन्तरराष्ट्रिय जगत्मा चिनाउन उपयुक्त अवसर आएको बताउनुभयो । “हामीले विभिन्न ठाउँमा सेल्समिशन कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गर्दै आएका छौँ । तर, यतिबेला नेपालबाहेक छ देशका विदेशी खेलाडी नेपालमा छन् । उनीहरुले प्रत्यक्ष यहाँको सुन्दरता रहनसहन र संस्कृति देख्न पाएका छन् । यसले पक्कै पनि आफ्नो देश पुगेपछि नेपालको सुन्दरताको व्याख्या गर्नेछन् । नेपाल आउन प्रेरित गर्नेछन्”, उहाँले भन्नुभयो ।
पोखरा अवर्णित शहर विदेशी खेलाडी
साग खेलमा सहभागी श्रीलङ्काका खेलाडी अजिथ विजयसिंघेले आफ्नो नेपालको पोखरा आउने ड्रिम नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल र विशेषगरी पोखराका बारेमा निकै सुनेका थिएँ । साग खेलले आफ्नो सपनाको शहर पोखरा घुम्ने रहर पूरा गरिदियो ।”
व्याडमिन्टनका खेलाडी रहनुभएका अजिथ पर्यटन व्यवसायीसमेत हुनुहुन्छ । नेपालमा साग खेल हुने कुराले नै उत्साहित भएको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सुन्दरता भएको शहरमा खेल्दा आनन्द आएको बताउनुभयो । उहाँले हवाईयात्राबाट अन्नपूर्ण हिमशृङ्खलाको पनि अवलोकन गरेको र पोखरा अवर्णित शहर भएको प्रतिक्रिया दिनुभयो ।
माल्दिभ्सका ब्याटमिन्टनका म्यानेजर खेलाडी अमिनाथ अहमेद दिदीले पनि आफूले सोचेभन्दा पोखरा निकै सुन्दर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी राति आएका थियौँ, जब बिहान होटलको झ्यालबाट फेवाताल र खुलेको हिमशृङ्खला देख्यौँ, हामीले नसोचेको पायौँ ।” पोखराको गौरीघाटस्थित होटल रानीवन आर्केटमा बस्नुभएको उहाँको टिमले पोखराको वातावरण र राम्रो हस्पिटालिटीले आफूहरुलाई आकर्षित गरेको बताउनुभयो ।
अर्का खेलाडी फतिमा जयनाले आफू १० वर्षअघि काठमाडौँ आएको अनुभव सुनाउँदै पोखरा र काठमाडौँ तुलना नहुने शहर भएको बताउनुभयो । “काठमाडौँमा बिल्डिङ नै बिल्डिङ मात्र देखेका थियौँ तर पोखरा ताल र माउण्टेनको दृश्यले निकै लोभ्यायो, निकै सुन्दर लाग्यो पोखरा” बिचभलिबलका खेलाडी जयनाले काठमाडौँमा भएका साथीलाई पनि पोखरा आउन आग्रह गरेको बताउनुभयो ।
१३ औँ साग पोखरा, जनकपुर र काठमाडाँै गरी तीन ठाउँमा खेल भइरहेको छ, जहाँ तीन हजार बढी खेलाडीको सहभागिता रहेको छ । (तस्वीर उपलब्ध छ)
प्रतिक्रिया