सामूहिक भावनालाई सर्वोपरी बनाएर काम गर्छौः विषयगत समितिका सदस्य
सारांश
- काठमाडौँ, २२ साउन ।
- राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
- राष्ट्रियसभा अन्तर्रगत राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दीगो विकास तथा सुशासन समितिका सदस्यले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
काठमाडौँ, २२ साउन । राष्ट्रियसभा मातहतका चार वटै विषयगत समिति “मिनी पार्लियामेन्ट”का सदस्यले सामूहिक भावनालाई सर्वोपरी मान्दै आफ्ना कामकारवाही अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्रगत राष्ट्रिय सरोकार तथा समन्वय समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समिति र दीगो विकास तथा सुशासन समितिका सदस्यले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
आदेखि शुरु भएको वैठकमा भाग लिने अधिकाँश सदस्यहरुले समितिको बैठक पक्ष÷ विपक्ष भएर होइन, एउटै भएर काम गर्ने भावनाका साथ काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
परिवर्तनकारी शक्ति नै सदनमा भएकाले नेकपा, नेपाली काँङ्ग्रेस्, मधेशवादीभन्दा पनि देश र जनताको हितका खातिर ‘टीम स्प्रीट’का आधारमा काम गर्नुपर्छ भन्ने उहाँहरुको धारणा थियो ।
संविधान कार्यान्वयनका लागि ऐन बनाउने सन्दर्भमा विधेयक निर्माणमा समितिबाट ढिलाई भयो भन्ने आवाज आउन नदिन सिद्धान्त फरक बोकेपनि एउटै पार्टी भएर काम गर्ने सदस्यहरुले प्रतिबद्धता जनाए।
सबै समितिले आगामी बैठक सञ्चालनका लागि कार्यविधि छिट्टो तयार गर्ने निर्णय गरेका छन् । जिम्मेवार र जुझारु ढंगबाट काम भइरहेको छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न पूर्वनिधारित ठिक समयमै बैठक शुरु गर्ने पनि समितिले निर्णय लिएका छन् । निर्धारित समयभन्दा १५ मिनेट कुर्दा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सदस्य संख्या नपुगेमा उक्त बैठक रद्द गरी अर्काे बैठक बोलाउने व्यवस्था गर्न लागिएको छ । जेष्ठ सदस्यका आधारमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्यक्षता तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिको अध्यक्षता हरिचरण सिवाकोटी, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्षता राधेश्याम अधिकारी र दीगो विकास तथा सुशासन समितिको अध्यक्षता दीनानाथ शर्माले गरेका थिए ।
यसैबीच दीगो विकास तथा सुशासन समितिले सुशासन सम्बन्धमा उठेका प्रश्नका बारेमा गृहमन्त्री र दीगो विकासका सम्बन्धी विषयमा अर्थमन्त्रीलाई आगामी बैठकमा बोलाएर जानकारी लिने निर्णय गरेको छ ।
प्रतिक्रिया