राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
१६ पटक हेरिएको
Shares
राज्यले न्याय दिनेमा निर्मला पन्तकी आमा दुर्गादेवीलाई अझै आशंका

सारांश

  • सरकारको रबैयाप्रति राजनीतिक दल र अधिकारकर्मीहरुको आपत्ति काठमाडौं, ७ असोज ।
  • कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले दिनप्रतिदिन भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाँच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
  • क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको सरकारका गतिविधि विगतकै पुनरावृत्ति जस्तो भएको टिप्पणी गरेका छन् ।

सरकारको रबैयाप्रति राजनीतिक दल र अधिकारकर्मीहरुको आपत्ति

काठमाडौं, ७ असोज । कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले दिनप्रतिदिन भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाँच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको सरकारका गतिविधि विगतकै पुनरावृत्ति जस्तो भएको टिप्पणी गरेका छन् । कार्यक्रममा अधिवक्ता यज्ञराज जोशीले राज्यसत्ताले कानुनलाई आफ्ना विरोधीलाई दमन गर्ने औजारको रुपमा प्रयोग गर्न खोजेको बताए । उनले मानिस स्वतन्त्रतापूर्वकरुपमा बाँच्न पाउने अधिकार राज्यले नै खोसिरहेको बताए ।

राज्यले नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड लगायतलाई गिरफ्तार गरेर विभिन्न जिल्लामा घुमाइरहेको घटनालाई हेर्दा जनयुद्ध सुरुवात अगाडिको झल्को आएको टिप्पणी गरे । उनले भने, ‘राज्यले यसरी नै मानवअधिकार उल्लंघन गर्दै गए, न्याय दिन नसके, सुशासन दिन नसके जनताले विद्रोह गर्नुको विकल्प छैन ।’ निर्मला हत्याकाण्डसँग सम्बन्धित प्रमाणहरु दिनप्रतिदिन मेटिदै जानुले जनताले न्याय पाउने सम्भावना कम हुँदै गइरहेको र जसलाई रक्षक भनिएको छ त्यो नै भक्षक भएपछि जनतासामु विद्रोह गर्नुको विकल्प केही नरहेको उनको भनाई छ ।

नेपाल कम्युनिष्ट पार्टीका महाकाली ब्यूरोका पुकार धानुकले शान्तिपूर्ण रुपमा आफ्नो गतिविधि सञ्चालन गर्न पाउने, देश र जनताका लागि आवाज उठाइरहेको तर राज्यले देशद्रोही जस्तो व्यवहार गरिरहेको बताए । राजनीतिक मूल्यमान्यता ह्रास भएकाले देशमा अनैतिकता, हत्या, हिंसा बलात्कार, व्यभिचार र भ्रष्टाचार मौलाइरहेको बताए । उनले भने, ‘देश विखण्डन गर्छु भन्नेलाई सुरक्षा दिन्छ तर राष्ट्रियताको पक्षमा, भ्रष्टाचारको पक्ष आवाज उठाउनेलाई देखि सहेको छैन, यो के हो ?’ शान्तिपूर्वक भेला गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने, संगठित हुन पाउने अधिकारी राज्यले खोजिरहेको ब्यूरो सदस्य पुकारको भनाई थियो । उनले आफूहरुलाई राज्यले राजनीतिक शक्तिका रुपमा व्यवहार नगरेको भन्दै आलोचना गरे ।

नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी विष्णु नेपालीले राज्यले आफ्ना विभिन्न कर्तुत छिपाउनका लागि पत्रकारलाई अंकुश लगाउन खोजिरहेको बताए । उनले नेकपाका प्रवक्ता प्रकाण्ड लगायतका नेतालाई राजनीति गतिविधि गर्न नदिएको प्रति आपत्ति जनाए । फरक आस्था र विचार राखेकै भरमा प्रतिबन्ध लगाए विद्रोहको विकल्प नभएको उल्लेख गरे । राष्ट्रिय जनमोर्चाका इन्चार्ज महेश जोशीले देश टुक्राउछु भन्ने सिके रावतलाई राज्यले संरक्षण गरिरहेको तर मानवअधिकार कुरा, राजनीतिक आन्दोलन गर्नेलाई गिरफ्तार गरेर राज्यले देशभर घुमाइरहेको भन्दै आश्चर्य व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव मोहन विष्टले निर्मला पन्तको हत्यापछि जलिरहेको अवस्थामा क्रान्तिकारी पत्रकार संगठन, नेपालले नै समसामयिक विषयमा कार्यक्रम लिएर आएकोमा कृतज्ञता व्यक्त गर्दै देशभर कार्यक्रमको सफलताको शुभकामना दिए ।

निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले छोरीको राज्यले न्याय दिनेमा शंका व्यक्त गर्दै सबैलाई न्यायका लागि आवाज उठाइदिन आग्रह गरिन् । कार्यक्रममा कृषि विज्ञ तथा मानवअधिकारकर्मी नरबहादुर साउद, राजपाका अम्बा तिवारी, क्रान्तिकारी पत्रकार महासंघका धनञ्जय अवस्थी, प्रेस संगठनका राजेन्द्र अवस्थी, महिला अधिकारकर्मी सन्तोषी साउद ऐरी लगायतले बोलेका थिए । संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका महासचिव हिम विष्टले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?