सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तनाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
१४ पटक हेरिएको
Shares
सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेजमा तनाव

सारांश

  • चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलमा शनिबार दिनभर तनाव भएको छ ।
  • स्याङ्जा जिल्ला अर्जुन चौपारी घर भई हाल पोखराको नागढुंगा बस्ने १९ वर्षकी गीता अर्यालको मृत्युपछि अस्पतालमा तनाव भएको हो ।
  • मृतकका आफन्तले अस्पतालअगाडि सडक बन्द गरी टायर बालेर प्रदर्शन गरेका थिए ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा नयाँ बजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलमा शनिबार दिनभर तनाव भएको छ ।

स्याङ्जा जिल्ला अर्जुन चौपारी घर भई हाल पोखराको नागढुंगा बस्ने १९ वर्षकी गीता अर्यालको मृत्युपछि अस्पतालमा तनाव भएको हो । मृतकका आफन्तले अस्पतालअगाडि सडक बन्द गरी टायर बालेर प्रदर्शन गरेका थिए । प्रहरीले उनीहरूलाई बल प्रयोग गरी तितरबितर पारेको थियो । आफन्तले मेडिकल कलेजमा तालाबन्दीसमेत गरेका थिए । लगत्तै प्रहरीले तालाबन्दी खुलाएको थियो । हाल अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

गीता अर्याललाई सुत्केरी व्यथा लागेपछि आफन्तले १० कात्तिकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेका थिए । त्यहाँ शैया खाली नभएपछि गण्डकी मेडिकल कलेज लगिएको थियो । उनले शल्यक्रियामार्फत ११ कात्तिकमा छोरो जन्माएकी थिइन् ।

बच्चा सकुशल भए पनि आमा गीता सो दिनदेखि नै अचेत थिइन् । उनलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । उनलाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

अर्यालका आफन्तले अप्रेसनका क्रममा उनको मृत्यु भएको भए पनि चिकित्सकको लापरवाही लुकाउन अस्पतालले भेन्टिलेटरमा लगेर राखेको आरोप लगाएका छन् । जेठाजु राजन अर्यालले अप्रेसनपछि अस्पतालले आफूहरूलाई बिरामी भेट्नसमेत नदिएको र बिरामीको अवस्थाबारे सामान्य जानकारी पनि नदिएको बताए ।

आफन्तले दोषी चिकित्सकलाई कारबाही, बच्चा संरक्षणको व्यवस्था र क्षतिपूर्तिको माग गरेका छन् । आफूहरूको माग पूरा नभएसम्म शव नउठाउने आफन्तको भनाइ छ । मृतकका जेठाजु राजेन्द्रका अनुसार डा. टीका गुरुङ र डा. सन्दीप न्यौपानेले गीताको शल्यक्रिया गरेका थिए ।

कक्षा १२ मा पढ्दै गरेकी पर्वत लुंखुदेउराली माइत भएकी मृतक गीताको गत मंसिरमा बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल हाल रोजगारीका सिलसिलामा युएईमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?