सेनाको बन्दुकको नालमा कलम चलाएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न : मन्त्री मगर
सारांश
- काठमाडौं, २९ साउन ।
- खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने र त्यसले कुनै असर नगर्ने बताएकी छन् ।
- ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले त्यस्तो धारणा राखेकी हुन् ।
काठमाडौं, २९ साउन । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भदौ १ गतेदेखि लागू हुने मुलूकी संहिताले पत्रकारलाई समाचार लेख्न नरोक्ने र त्यसले कुनै असर नगर्ने बताएकी छन् । ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले त्यस्तो धारणा राखेकी हुन् ।
“पत्रकारले आधारसंगत ढङ्गले समाचार लेख्दा कानुनदेखि डराउनै पर्दैन”, मन्त्री मगरले थपिन्, “सेनाको बन्दुकको नालमा पनि कलम चलाएर आएको नेपाली पत्रकारिता कुनै ऐनका कारण रोकिन्न ।” भदौ १ गतेदेखि लागू हुने ऐनले पत्रकारितालाई अस्तव्यस्त नभएर सुदृढ बनाएर लैजाने विश्वास पनि उनले व्यक्त गरिन् । नयाँ ऐनले पत्रकारिता जगतलाई अवरोध होइन सिर्जनात्मक सहयोग गर्ने र अझै सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।
मुलुकी संहितामा अनुमतिबिना कुराकानी रेकर्ड गर्न र फोटो खिच्नेलाई समेत कारवाहीको व्यवस्था गरिएको छ । मुलुकी संहितामा गरिएको उक्त व्यवस्थालाई सञ्चार क्षेत्रले विरोध गर्दै आएको छ ।
यसैगरी मन्त्री मगरले स्थानीय तहले लिन थालेको करको विषयलाई जोडेर संघीयता नै टिक्ने कि नटिक्ने भन्ने बहस गर्नुको कुनै औचित्य नरहेको बताइन् । केहीले कमजोरी गरे होलान् भन्दै उनले थपिन्, “तर, त्यसैलाई आधार बनाएर गाउँगाउँमा सरकार पुगेको बेला संघीयता नै ठीक भएन कि भनेर अपव्याख्या गर्न खोजिदैछ ।”
Krishna Chapagain
Mantrile yesari sainik ko badnam garna milxa ?