स्थानीय निर्वाचनको मनोनयन दर्ता अाज, के के छ तयारी ?
सारांश
- काठमाडौं ।
- प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ ।
- मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
काठमाडौं । प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय निर्वाचन आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको छ । मधेसका ८ जिल्लाका कुल १३६ स्थानीय तहका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
यसअघि दुई चरणमा ६ वटा प्रदेशमा निर्वाचन सम्पन्न भइसकेको छ । मधेसवादी दलहरुलाई निर्वाचनमा ल्याउन भन्दै सरकारले पटकपटक मिति सारेर प्रदेश नम्बर २ मा असोज दुई गते निर्वाचन गराउन लागेको हो ।
सरकारको योजनाअुनसार सो निर्वाचनमा लामो समयदेखि संविधान संशोधनको माग राखेर आन्दोलित रहेका मधेसवादी दलहरुसमेत सहभागी हुँदैछन् ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदेश नम्बर दुईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका स्थानीय तहमा मनोनयन दर्ता हुनेछ ।
प्रदेश २ मा १ महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहको वडा संख्या १ हजार २७१ छन् । सो प्रदेशमा २६ लाख ६४ हजार ९५० मतदाता छन् भने ३ हजार ५७९ मतदान केन्द्र तोकिएको छ ।
यो चुनावमा मुख्यतः नेपाली कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम, राप्रपा र नयाँशक्ति लगायतका दलहरु चुनावी मैदानमा छन् । यी बाहेक अन्य सानाम पार्टी र स्वतन्त्र समेत चुनावी मैदानमा सहभागी हुँदैछन् । यी मध्ये पहिलो दल को बन्ने भन्नेमा ठूला दलहरुको चासो छ ।
बुधबार मनोनयन हुनुअघि सम्पूर्ण राजनीतिक दलले उम्मेदवारको टुंगो लगाइसक्ने जनाएका छन् । यद्यपि सबै तहमा उम्मेदवारको टुंगो लगाउन केही राजनीतिक दललाई हम्मेहम्मे भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा विपक्षी दल नेकपा एमालेलगायतले मंगलबार साँझसम्म जसरी पनि सबै तहमा उम्मेदवारी टुंग्याउने तयारी गरेका हुन् ।
कांग्रेस र माओवादी केन्द्रले केही तहमा तालमेलको तयारीसमेत गरेका छन् । यद्यपि महानगरपालिका तथा उपमहानगरपालिकामा मंगलबार अपराह्नसम्म कुनै पनि दलले तालमेल गरेका छैनन् ।
प्रतिक्रिया