हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन

सारांश

  • काठमाडौ, १७ मंसिर ।
  •  भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेत राजनीतिक गतिविधिहरुमा भन्दा सामाजिक विकास र जनसरोकारसँग सम्बन्धित गतिविधिहरुमा बढी भेटिन्छन् ।
  • राजनीति गर्नेहरुका निवासमा हरेक दिनजसो आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुको भीड लाग्ने गर्दछ ।

काठमाडौ, १७ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेत राजनीतिक गतिविधिहरुमा भन्दा सामाजिक विकास र जनसरोकारसँग सम्बन्धित गतिविधिहरुमा बढी भेटिन्छन् ।

राजनीति गर्नेहरुका निवासमा हरेक दिनजसो आफ्ना कार्यकर्ता तथा शुभेच्छुकहरुको भीड लाग्ने गर्दछ । अनि अधिकांश उनीहरुको समय आफ्ना कार्यकर्ता र शुभेच्छुकहरुको व्यक्तिगत मनोकांक्षा पूरा गर्नेमा नै बेतित् हुने गरेको देखिन्छ । तर बस्नेतको हकमा यो कुरा निर्वाध रुपमा लागू भएको देखिँदैन । उनी स्वयं अहिले हरेक दिन विहान हातमा कूँचो लिएर राजमार्ग सरसफाइमा जुटिरहेका हुन्छन् । न त उनले आफ्नो निवासमा आफ्ना कार्यकर्ताहरुलाई भेट्छन्, न त उनीहरुको व्यक्तिगत मनोकांक्षा पूरा गर्नमा नै तल्लीन हुन्छन् । त्यस्तै अत्यावश्यक सन्दर्भ छ भने उनी राजमार्गको सरसफाइ स्थलमा नै संक्षिप्त भेटघाट र कुराकानी गर्छन् ।

धेरैलाई नौलो पनि लागेको छ, अनि कतिपयलाई अभूतपूर्व पनि उत्तिकै लागेको छ । पूर्व मन्त्री समेत भइसकेका बस्नेत आजभोलि उनकै निर्वाचन क्षेत्रमा पर्ने अरनिको राजमार्ग सरसफाइमा जुटिरहँदा अन्य राजनीतिकर्मीहरुलाई समेत यस्तो कार्यमा लाग्नलाई हौस्याइरहेका छन् । राजनीति समाजसेवाको एउटा विधिसम्मत आधार हो भन्ने सिद्धान्तलाई उनको यो कर्मले प्रष्ट्याइरहेको छ ।

आजभन्दा ४० हप्ता अगाडि उनले भक्तपुरकै ऐतिहासिक नदी हनुमन्ते सरसफाइ अभियानको नेतृत्व गरे । हरेक हप्ता कुनै न कुनै विशिष्ट व्यक्तिलाई आमन्त्रण गरी पहिलो चरणको हनुमन्ते सरसफाइलाई एउटा उचाइमा पु¥याए । यो पवित्र कर्मको कतिपयले कटाक्ष पनि गर्न भ्याए । उनीहरुले भने, ‘नदीको प्लाष्टिक संकलन गरेर पनि कहि सरसफाइ हुन्छ ? यो त प्रचारवाजी मात्र हो ।’ तर उनले यो कुरालाई खासै चसो दिएनन् । लोकले गरेको कटाक्ष भन्दा आफ्नो जिल्लाको समृद्धि र विकास कसरी गर्ने भन्नेमा नै उनको बढी चासो थियो । उनी भन्छन्, ‘समाजमा दुईथरि चरित्र विद्यमान रहेको छ, एउटा चरित्र जुन आत्मकेन्द्रित सोच र चिन्तनमा नै बढी रमाउने गर्दछ भने अर्को चरित्र आफूभन्दा माथि लोकको हितमा सोच्ने गर्दछ । सायद म आत्मकेन्द्रित चरित्रको परिन कि!’ राजनीतिलाई पवित्र सेवाको आधार मान्नेहरु धेरै कम भेटिन्छन् हाम्रो समाजमा । अनि हरेक राजनीतिकर्मीले गरेका कुनैपनि कार्यलाई पूर्वाग्रही सोच र चिन्तनबाट हेर्ने र बुझाउने चेष्टा गरिन्छ । चाहे त्यो समाज र लोकको हितमा नै किन नहोस् । अहिले महेश बस्नेत आफ्नो गृह जिल्लामा विद्यमान यीनै संकिर्णतालाई मेटाउने कोशिस गरिरहेका छन् । उनी जिल्लाको विकासमा सबैको प्रतिबद्धता खोजिरहेका छन् । उनी भन्छन्,‘विकासमा साझा प्रतिबद्धता आवश्यक छ भने राजनीतिमा खुल्ला प्रतिस्पर्धा हुनु जरुरी छ ।’ हामी राजनीति कसका लागि गर्छौ ? उनी प्रश्न गर्छन् । व्यक्तिपरक राजनीति दीर्घकालिन नहुने बुझाइ उनको छ । उनी अहिले आफूले आदर्श मानेका जननेता मदन भण्डारीको पथ पछ्याइरहेका छन् । उनले भनेका थिए ‘राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन ।’ बस्नेत आफूलाई पनि सोही मार्गबाट अगाडि बढाउने कोसिस गरिरहेका छन् ।

एउटा जुजारु युवा जसले मुलुकमा नै युवाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम भयो । लाखौं युवाहरुको प्रतिनिधित्व गर्दै मुलुकको समृद्धि बिना सुखी समाजको परिकल्पना असम्भव छ भन्नेमा आफू पूर्ण रुपमा विश्वस्त हुन थाल्यो । अनि मुलुकको मूल राजनीतिमा नेतृत्वको स्वभाविक दाबी प्रस्तुत ग¥यो । २०७० सालको दोश्रो संविधान सभामा आफ्नो जन्मथलोबाट प्रतिनिधित्व गर्ने गरी निर्वाचनमा उपस्थिति जनायो । तर, अपेक्षित परिणाम प्राप्त नहुँदा पनि उसले आफ्नो राजनीति र सेवाको भावनालाई विश्राम दिएन । निरन्तर रुपमा अहोरात्र सामाजिक विकासको सवालमा पहिलो लाइनमा बसेर निरन्तर जुटिरह्यो । यतिमात्रमा उसले थकाइ मारेन, २०७२ सालको महाभूकम्पबाट पीडितहरुको उद्धार र राहत कार्यमा समेत अग्रपंक्तिमा रहेर क्रियाशीलता देखायो । उनको राजनीतिक कर्म र सेवा भावनाले जनजनमा यतिबिध्न जरा गाड्यो कि, उनी जिल्लाकै निर्विकल्प नेतृत्व बन्न पुगे । सोही कारण उनी २०७४ सालको आम निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट झण्डै दोब्बर मत अन्तरले पूर्वसभामुखलाई पराजित गरी निर्वाचित हुनपुगे ।

निर्वाचनमा विजयी हुनुले मात्र राजनीतिज्ञको विशिष्टता मापन हुन सक्दैन भन्नेमा उनी भलिभाँती परिचित थिए र छन् पनि । विगतमा निर्वाचनमा विजयी उम्मेदवारहरुको निष्क्रियताका कारण नागरिक तहमा पलाएको वितृष्णाको पनि गहन समीक्षा गर्न सक्ने क्षमता राख्दछन् । अनि राजनीति गर्नेहरुको व्यक्तिगत स्वार्थ कुनैपनि हालतमा हावी हुनुहुँदैन भन्नेमा पनि सचेत छन् । यीनै विशिष्ट क्षमता र गुणहरुका कारणले भक्तपुरमा उदाउँदो र स्थापित राजनीतिज्ञका रुपमा उनी देखा परेका छन् । स्वभाविक रुपमा भक्तपुरले बस्नेतसँग आशा पनि धेरै गरेको छ । उनले पनि ती आशा र भरोसालाई व्यवहारिक रुपमा चरितार्थ गर्नु जरुरी ठानेका छन् । आफ्नो जिल्लावासीको आशा र भरोसालाई परिपूर्ति गर्नकै लागि उनी कहिले हनुमन्ते सरसफाइका साथै व्यवस्थित करिडोर निर्माणमा जुटेका छन् त कहिले राजमार्गलाई स्वच्छ, सफा र सुरक्षित बनाउने अभियानमा लागेका छन् । कहिले जिल्लामै अत्याधुनिक खेलमैदान निर्माणमा लाग्छन्, त कहिले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन भवनको परिकल्पनालाई साकार पार्नपट्टि तल्लीन हुन्छन् ।

यसको निम्ति श्रोत र साधन जुटाउन केन्द्रदेखि प्रदेश अनि प्रदेशदेखि स्थानीय तहसम्म सक्रिय छन् । उनको यो सक्रियता देख्दा लाग्छ, एउटा जनप्रतिनिधिले गर्न सक्ने धेरै रहेछ । उसमा श्रोत र साधनको पनि अभाव रहेनछ । अभाव त केवल उसको इच्छाशक्ति र क्रियाशीलताको मात्र रहेछ । जसलाई महेश बस्नेतले व्यवहारिक रुपमा कार्यान्वयन गरेर देखाउन थालेका छन् । उनी भन्छन्, ‘जनताले मलाई जिताएर पठाएका, केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन, व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो ।’ विगतमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने नेतृत्वले कतिले कुरा गरेर बिताए त कतिले निष्क्रिय भएर देखाए । त्यसैले बस्नेत भन्छन्, ‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?