८८ केजी सुन प्रकरण: यसरी फरार भएका रहेछन् चिनियाँ मालिक
सारांश
- काठमाडाै,१० मंसिर।
- काठमाडौं जिल्ला अदालतले ४ मंसिर २०७५ मा ८८ किलो सुन तस्करी सम्बन्धी संगठित अपराधको मुद्दाको किनारा लगाएको छ।
- न्यायाधीश कमलप्रसाद पोखरेलले गरेको अन्तिम आदेशमा आंशिक दाबी पुग्ने फैसला भएको हो।
काठमाडाै,१० मंसिर। काठमाडौं जिल्ला अदालतले ४ मंसिर २०७५ मा ८८ किलो सुन तस्करी सम्बन्धी संगठित अपराधको मुद्दाको किनारा लगाएको छ। न्यायाधीश कमलप्रसाद पोखरेलले गरेको अन्तिम आदेशमा आंशिक दाबी पुग्ने फैसला भएको हो। अदालतले घटना लगत्तै फरार रहेका चिनियाँ दम्पति याङ वेन विङ र उनका पति पान विइ मिङलाई ४३ करोड ५६ हजार रुपैयाँ जरिवाना र पाँचवर्ष कैद सजायको फैसला गरेको छ। यस्तै सुन तस्करीमा प्रयोग भएको गाडीका चालक मनोज अधिकारीलाई ४३ करोड ५६ हजार जरिवाना र तीन वर्ष कैद सजायको आदेश पनि भएको छ।
काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी पूर्पक्षका लागि थुनामा रहेका दुईजना सहित १० जनालाई भने सफाई दिएको छ। अदालतले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका र लाखौं अवैध रकम सहित पक्राउ परेका आरोपीलाई सफाई दिएको हो। प्रहरीले तीन चिनियाँ नागरिक सहित १३ जनाविरुद्ध मुद्दा चलाएको थियो। काठमाडौं अदालतले सुन प्रकरणको थुनछेक आदेशमै ८ जनालाई धरौटीमा छाडेको थियो। पक्राउ परेका चालक अधिकारी, दिलिप खड्का र दाम्पा लामालाई पुर्पक्षका लागि थुनामा राखेको थियो।
न्यायाधीश पोखरेलको इजलासले पूर्पक्षमा रहेका दुईजना सहित मानबहादुर तामाङ, साङ्बो लामा तामाङ, सुन व्यवसायीहरु शुभरत्न शाक्य, सत्यनारायण अग्रवाल, गणेशदत्त बडू, दीनखर सालुखे, नन्दकुमार मर्गले र चिनियाँ नागरिक जाङ हालिङलाई सफाई दिएको हो। प्रहरीले अग्रवालको कोठाबाट १३ लाख ५० हजार, शुभरत्न शाक्यको पसलबाट १ करोड ४२ लाख र गणेशदत्त बडुको पसलबाट १० लाख ८२ हजार नगद फेला पारेको थियो। प्रहरीले राजस्व अनुसन्धान विभागका अधिकारीलाई साथमै लिएर छापा मारेको थियो। २०७४ भदौको त्यो दिन राती प्रहरीको एउटा टोलीले बरामद भएको गाडी र चालकलाई लिएर टेकुस्थित कार्यालय फर्कियो। महानगरीय अपराध महाशाखाबाट खटिएको प्राविधिक सहितको टोलीले उनीहरुको मोबाईल ट्रयाक गर्दै खोजी तीब्र बनायो। सूचनाका आधारमा लाजिम्पाटस्थित होटल र्याडिसन पुगेको प्रहरी टोलीले दुबैलाई भेट्टाउन सकेन। प्रहरी पुग्नु अगावै फरार भएका दुबैजनाको मोबाइल केही समयका लागि एक्टिभ देखियो।
महाशाखाको टोलीले मोबाइल लोकेशन पच्छयाउँदै थियो। चिनियाँ दम्पति याङ वेन विङ र उनका पति पान विइ मिङको नेपाली नम्बर बालुवाटार आसपास गएर रोकियो। त्यसपछि सोही स्थानमा अफ भएको मोबाइल नम्बर र सो सिम राखिएको मोबाइल फोन कहिल्यै एक्टिभ भएन। ‘फोनको लोकेशन काठमाडौंको बालुवाटार आसपास देखिएको थियो, त्यसपछि अफ भएको हो,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले एकवर्ष पछि मुख खोले, ‘त्यसपछि उनीहरू कहाँ गए थाह हुन सकेन। हामीले विमानस्थल र सीमा नाकामा धेरै समयसम्म कडाई गरेका थियौं।’ प्रहरीले १९ भदौ २०७४ को मध्यरातदेखि थालेको कारवाहीमा चालक मनोज अधिकारी गाडी सहित पक्राउ परेका थिए। उनलाई महाशाखाको टोलीले ठमेलमा रहेको काठमाडौं वन होटल नजिकबाट पक्राउ गरेको थियो। केरुङबाट आएको ब.१७ च. ६४२७ नम्बरको टाटा जीपका मालिकले ठमेलमा काठमाडौं वन होटल संचालन गरिरहेका चिनियाँ दम्पति याङ र पानलाई पछ्याएका थिए।
प्रहरीले ८८ किलो सुन बरामद भएपछि संगठित अपराधमा म्याद लिएर अनुसन्धान थालेको थियो। त्यसपछि शंकाको घेरामा रहेका केही चिनियाँ व्यापारी गायब भए। अनुसन्धानको क्रममा चिनियाँ दम्पति चीनबाट नेपाल सुन ल्याउने र भण्डारण गर्ने सम्मको जिम्मेवारी पाएका कारोबारी भएको खुलेको थियो। प्रहरीले गत भदौ १९ को बिहान भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा बरामद गरेको थियो। सुनको अवैध कारोबारका लागि २०७० मा चिनियाँ दम्पतिले आफ्नै नाममा कम्पनी रजिष्टारको कार्यालयमा होटल दर्ता गराएका थिए। चिनियाँ दम्पतिको नेपाली साझेदार प्रतिष्ठित व्यापारी रहेको दाबी महाशाखाले गरेको थियो। होटललाई आवरण बनाएर सुन तस्करी गर्ने चिनियाँ दम्पतिलाई भारतीय र नेपाली व्यापारीको सहयोग रहँदै आएको थियो।
गाडिको विभिन्न पार्टपुर्जामा कालो टेपले बेरेर लुकाइएका एक केजी लेखिएका ८८ थान सुनका बिस्कुट बरामद भएको थियो। महाशाखाका अनुसार बरामद सुनको बजार मुल्य ४३ करोड रहेको छ।
प्रतिक्रिया