उ, म र नियती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
उ, म र नियती

सारांश

  • उसलाई मैले कलेजको पहिलो दिन देखेको थिएँ।
  • हाम्रो क्लास भएको बिल्डिङ अगाडि म मेरो एउटा नयाँ साथीसँग गफ गरिरहेको थिएँ।
  • त्यतिकैमा मेरो नजर उ माथी पर्यो।

उसलाई मैले कलेजको पहिलो दिन देखेको थिएँ। हाम्रो क्लास भएको बिल्डिङ अगाडि म मेरो एउटा नयाँ साथीसँग गफ गरिरहेको थिएँ। त्यतिकैमा मेरो नजर उ माथी पर्यो। उ क्रीम कलरको सर्ट र खैरो स्कर्ट्मा थिई। उसलाई देख्ने बित्तिकै लाग्यो उ मेरै लागि बनेकी हो। उसको शरिरिक बनावट देखेर म केहि आकर्षित भएतापनी उ भन्दा पनि राम्रा र आकर्षक केटिहरु त्यहाँ थिए। त्यो हुँदाहुदँदै पनि त्यत्रो भिडमा पनि मेरो नजर उसैमा गएर अडियो। उ मेरो लागि अपरिचित भएपनि लाग्थ्यो कि संसारमा सबैभन्दा परिचित कोहि छ भने उ नै हो। यस्तो लाग्यो कि उसको र मेरो सम्बन्ध जन्मौंदेखी थियो। पहिलो नजर मै प्रेम हुन्छ भन्ने कुरालाई म वाईह्यात ठान्थे। तर जुन कुरालाई वाईयात भन्थे त्यो कुरा मै माथी घटिरहेको थियो। नियती पनि अजिब छ, जुन कुरालाई हामी चुनौती दिईरहेका हुन्छौँ  कहिलेकाँही हामीलाई त्यही ल्याएर उभ्याईदिन्छ। साथिसँग केहीबेर गफ गरिसकेपछी म आफ्नो क्लास तिर लागे। मैले क्लास छिर्ने  बित्तिकै उसलाई त्यहाँ देखे।  उ मेरो झोला राखेको सिट भन्दा पछाडिको सिटमा बसेकी रहिछे। सायद नियतीले पनि हामीलाई मिलाउने षडयन्त्र गरिरहेको थियो।  केही दिनसम्मको मुस्कान आदानप्रदान पछि मैले उसँग फ्रेन्डसीप गर्ने मौका खोज्दै थिएँ । फेसबुकमा उसलाई फ्रेण्ड रिक्वेष्ट पठाएँ र उसले पनि एक्सेप्ट गरि। फेसबुकमा हुने कुराकानिले मेरो हौसला बढाएको थियो त्यसैले उसँग फेसबुक बाहिर पनि बोल्ने बाहना खोज्दै थिएँ। उसँग नोट माग्ने बाहाना पारेर कुराकानि सुरु गरे। उ पनि मसँग कुरा गर्दा सकारात्मक नै देखिन्थी। कलेजमा हाम्रो घुलमिल बढ्दै गईरहेको थियो। हामी कलेजमा पनि खाजा खान सँगै जान्थ्यौ। हामी एकाअर्कालाई पढाईमा सहयोग गर्दथ्यौ। समय बित्दै जाँदा मैले हाम्रो सम्बन्धलाई केही उचाईसम्म लैजान  सफल भएको थिएँ।

हाम्रो बोलचाल र राम्रो साथीको सम्बन्ध स्थापित भएको लगभग एक बर्ष नै हुन आँटेको थियो। म उसलाई आफ्नो बनाउन चाहन्थे। कतिचोटी उसलाई मेरो मनको कुरा बताउने गर्ने निश्चय गर्थे तर हिम्मत जुटाउन सकिरहेको थिईन। डर लाग्थ्यो कि फेरि उसले नाई भन्छी कि, उसँग बनेको सम्बन्ध नै गुम्छ कि भनेर। फेरि मैले सोचे की डराईडराई पनि के माया गर्ने, रिस्क नलिए कोहि मान्छे पनि सफल भएको छ अरु एकदिन मैले उसलाई हिम्मत जुटाएर मेरो उप्रतिका भावनाहरु व्यक्त गर्ने  निधो गरे। रातीको दस बजेको थियो उसलाई सुरु देखिनै मनपराएको र उप्रती मेरो मनमा प्रेम अथाह  भएको कुरा बताएँ। म उसको जबाफको प्रतीक्षामा थिए। त्यो घडिमा मेरो मुटु यसरी धड्किरहेको थियो कि मानौ मेरो मुटु ज्वालामुखी हो र केही बेरैमै विस्फोट हुन्छ। उसको जवाफ आएन। सुत्नलाई धेरै कोसिस गरे तर आखाँहरु बन्द भएनन्। कोल्टे फेर्दाफेर्दै रात बितेछ।

अर्को दिन कलेज गएँ। उससँग बोल्ने हिम्मत पनि भएन। उपनी मसँग बोलिन। उसलाई प्रपोज गरेर उसँगको फ्रेन्ड्सिप पनि तोडिएकोमा मलाई पछुतो लागिरहेको थियो। उसले मलाई एकान्तमा बोलाई र म पनि केही नबोली लुरुलुरु उसको पछि लागे। हाम्रो संवादको सुरुवात मेरो माफिबाट भयो। उसले भनी  “आदर्श मैले यस्तो एक्स्पेक्ट  गरेकी थिईन”। मैले पनि फेरि माफी मागे। अनि उस्ले मुस्कुराउदै “बुद्धु  यति कुरा भन्न पनि यतिका टाईम लगायौ” भनी। मेरो खुसिको सिमा नै रहेन। एक्कासि उजाड र रंगहिन लागेको संसार रंगीन र हराभरा  देखिदै थियो। हरेक चिज र हरेक पल विशेष लागिरहेको थियो। यो पलको वदलामा सारा संसार नै मेरो नाममा नामसारी गरिदिने भनेपनी  सायद त्यसलाई लत्याएर यहि पललाई नै रोज्थे होला।  त्यसपछि हाम्रो प्रेम अरुसामु धेरै दिन लुकेन। क्लासदेखी कलेजसम्म हाम्रै चर्चा हुन्थ्यो।हाम्रो जोडि देखेर ईष्या नगर्ने सायद कम थिए होलान। हामीहरु बिच एकदमै राम्रो क्यामेस्ट्री थियो। हामिहरुएकाअर्कालाई यति राम्रोसँग बुझ्थ्यौ कि कुनै भाव व्यक्त गर्न शब्दहरुको आवश्यकता नै पर्थेन। हामी बिच अथाह प्रेम थियो, जुन सादयै अहिलेका मान्छेमा भेटिन्छ। हामी दुई एकार्काको खुब ख्याल राख्थेउ। उ बिरामी भई भने मलाई निन्द्रा लाग्थेन र म बिरामी भएको थाहा पाए उ रातभरी सुत्न सक्थिन।

मुटु मेरो भएपनि धड्किन्थ्यो उसैको लागि, सास मेरो भएपनि चल्थ्यो उसैको लागि, जीवन मेरो भएपनि जिउथे उसैको लागि, उ नजोडिएको मेरो कुनै सपना हुन्थेन। उ बिनाको मेरो कुनै कल्पना हुन्थेन। सोच्थे त केवल उसैको लागि, सम्झिन्थे त केवल उसैलाई र जे गर्थे उसैको लागी गर्थे। उ बिनाको संसार त कल्पना सम्म पनि गर्न सक्थिन। कसैले मेरो नाम लिदा उसैले बोलाए जस्तो लाग्थ्यो। फोनको घण्टी बज्दा पनि उसैले फोन गरे जस्तो लाग्थ्यो। उसलाई धेरै दिन नभेट्दा मन आतिन्थ्यो। उसँग फोनमा कुरा नहुँदा मन बेचैन हुन्थ्यो। फेसबुक खोल्दा पनि उसको म्यासेजहरु पढ्दै बस्थे। उसलाई हेरेर मात्रै जुनि कटाईदिन सक्थे। एक ईशारामा हाँसिहाँसी ज्यान पनि दिन सक्थे। म उसलाई सधैं बाईकमा उसको घर नजिकै छोडिदिन्थे। एकदिन क्लास सकिएपछि उसलाई मेरै घरमा लिएर आएको थिएँ। घरमा ममि मात्रै हुनुहुन्थ्यो। बुवाको हार्डवेयरको बिजनेस थियो त्यही भएर उहाँ प्रायजसो साँझतिर मात्रै घर फर्किनुहुन्थ्यो।  ममिलाई उसँग परिचय गराएँ। त्यसपछि हामिहरुलाई कफि बनाएर ल्याईदिनुभयो। कफि पिउदै गर्दा ममिले उसको अन्तरबार्ता यसरी लिईरहनु भएको थियो कि मानौँ उहाँको घरमा खाली भएको बुहारीको पदपूर्तिको लागि साधना कुनै उमेदवार हो। साधनालाई घरसम्म पुर्‍याईदिएर फर्केपछि ममिले बुहारी मलाई मनपर्यो भनेर जिस्क्याउनुभयो। मैले कहाँ ममि पनि उ त मेरो साथी मात्रै हो, के के सोच्नुहुन्छ तपाईं पनि हिन्दी सिरियल अलि कम हेर्ने गर्नु भनेर जवाफ दिए। ममि र म एकदमै नजिक थियौँ। उहाँ र म एकाअर्कालाई खुब जिस्क्याउथ्यौँ। साधना मेरो जिवनको एक अभिन्न अंग भईसकेकि थिई। जसरी  प्रकाश बिना सुर्यको कुनै अस्तित्व थिएन उ बिना मेरो कुनै अस्तित्व थिएन।

हामीहरु प्रायजसो बिदाको दिन सँगै घुम्न जान्थ्यौ। पोखराको  सराङ्कोट उसको सबैभन्दा मनपर्ने ठाउँ थियो। त्यहाँ बाट देखिने पोखराको दृष्य र सनराईज हेर्दा यती उत्साहित हुन्थी लाग्थ्यो कि उ पहिलो चोटी त्यहाँ गएकी हो। मेरो मनपर्ने ठाँउ फेवाताल थियो। अघिल्लो दिन हामीले फेवातालमा  साँझको ४स्३० मा भेट्ने सल्लाह गरेका थियौ।  मैले उसलाई फोन गरेर फेवाताल नजिक क्याफेमा बेलाए। केहि बेरपछि उ त्यो क्याफेमा आई। मैले दुई कप कफि मगाए। कफि साह्रै मीठो भएकाले अझै एकएक कप कफि थप्यौँ। कफि पिईसकेपछी हामीले बोटिङ गर्ने सल्लाह गर्यौँ । साझँको बेला त्यसै रोम्यान्टिक हुन्छ त्यस माथी फेवातालमा बोटिङ त्यो पनि आफुले संसारमा सबैभन्दा मन पराएको मान्छेसगँ। त्यो अनुभुतीलाई वर्णन गर्ने शब्द सायदै कुनै शब्दकोषमा भेटिएला। उसलाई राखेर मैले डुङ्गा चलाईरहेको थिए। उ वानपिसमा असाध्यै राम्री देखिएकी थिई। उसको सुन्दरताले मलाई लोभ्याईरहेको थिए। उसको आँखामा एक प्रकारको चमक थियो। उसको मुस्कानमा मादकता थियो जसको अगाडि संसारका एक से एक मदिराहरु पनि फिक्का लाग्थे। उसको ओठ सुन्तलाहरु भन्दा रसिला देखिएका थिए। उसलाई अँगालोमा बाँधेर उसका लागि भएको  सबै प्रेम पोख्ने मन हुँदाहुँदैपनी म आफुलाई सम्हालीरहेको थिएँ।

समय राम्रो चलिरहेको थियो सायद म खुसी भएर होला पुरै संसार भरी खुसी नै खुसी देख्थे। कलेजको चार बर्ष कसरी बित्यो थाहा नै भएन। हेर्दा हेर्दै पढाइ पनि पूरा भयो। साधनाको पहिले देखिको सपना थियो अमेरिकामा आफ्नो एमबिएको पढाइ पूरा गर्ने।  एकदिन मलाई साधनाको फोन आयो। त्यो दिन उसको अमेरिकाको भिजाको लागि ईन्टरभ्यु थियो। मैले उसको कल उठाए, उ निकै उत्साहीत हुँदै, “मैले भिजा पाए, तिमिले बिहान बिहानै विस गरेको काम लाग्यो,आई लब यु सो मच” भनी।

मैले पनि उसलाई बधाई दिए र छिटो काम सकेर पोखरा आउ भनि बोलाए।  उसको काम सकेर पोखरा आइपुगी। उ आएको अर्कोदिन लेकसाईडमा हामी सधै भेट्ने क्याफेमा भेट्यौ। मैले उसलाई बधाई दिए र उ मुस्कुराउदै मलाई धन्यवाद दिई। कफि पिउदै गर्दा उ केही भावुक हुँदै भनी ७त्रगयतसतिमिलाई थाहा छ अमेरिकामा सबैभन्दा धेरै के मिस गर्ने छु” मैले पनि अन्जान भए झैं गरेर नाँई भने। उसले भनि “बुद्धु त्यति पनि थाहा छैन तिमिलाई नै गर्नेछु, आई विस तिमी पनि मसँगै त्यहाँ हुन्थ्यौ”। मैले भने २र३ बर्षको कुरा त हो फेरि तिमी हामि सधैंको लागि छुट्टिन लागेको त होईन भन्दै उसलाई सम्हाल्ने कोसिस गरे। उसलाई के थाहा भित्रभित्र म कति रोईरहेको थिएँ। उसलाई चाहेर पनि त रोक्न सक्थिन। त्यो त उसको सबैभन्दा ठूलो सपना थियो। उसको त्यो सपनालाई म कसरि आफ्नो स्वार्थको लागि तोड्न सक्थेरु पाउनु मात्र प्रेम होईन, अरुको लागी आफ्नो खुसिको बलि दिनु प्रेम हो, मुटुमाथी दुखको बोझ हुदाहुदै पनि कसैको लागि मुस्कुराउन सक्नु प्रेम हो। एक महिनाजति साथमा समय बिताईसकेपपछि उसको फ्लाईटको दिन आयो। हामी दुबै काठमाण्डौं जानको लागि बस चढ्यौ। त्यो दिन हामी होट्लमा बस्यौ। अर्को दिन पशुपतिनाथ मन्दिर लगायत अन्य ठाँउहरु घुम्यौ। उसको फ्लाईटको समय नजिक आउदै थियो। होटलबाट ट्याक्सिमा समान चढायौँ र एयरपोर्टको लागि हिड्यौ। एयरपोर्ट पुगिसकेपछी मैले ट्याक्सी भाडा दिएर उसको समान झिक्न थालेँ। म उसँगसँगै एयरपोर्ट भित्र छिरे। उसँग छुट्टिने बेला भयो, उसले मलाई बेस्सरी अँगालोमा बाँधी र आँखाबाट आँशु खसाल्न थाली। मैले उसको आँसु पुछिदिए र उसको निधारमा बिदाईवाला चुम्बन दिएँ। मेरो आँखाले उसलाई पछ्याईर्ह्यो, उसले अन्तिममा जबर्जस्तिको मुस्कानसँग हात हल्लाएर बिदाईको संकेत गरि। त्यो दिन नै रात्रिबस चढेर पोखरा फर्किएँ। उ बिना एक एक पल पनि भारी भईरहेको थियो, उसँका हरेक स्मृतिहरु दिमागमा घुमिरहेका थिए। दुईतीन दिनदेखी मेरो मुड पनि खासै ठिक थिएन। ममिले मेरो कोठामा आईनुभयो ” बाबू मलाई थाहा छ त उसलाई मिस गरिराछस, फेरि उ सधैका लागि गएकी त होईन दुईतिन बर्षको कुरा न हो। तिमिले यस्तो हालत गराएर बस्यौ भने हामिलाई कस्तो हुन्छ भन त” भन्नुभयो। मैले जबर्जस्ती मुस्कुराए त्यस्तो केही हैन ममि म ठिक छु भनेर टार्ने कोसिस गरे।

फोनमा वाईफाई अन गर्ने बित्तिकै म्यासेजको नोटिफिकेसन देखायो, त्यो साधनाको नै म्यासेज रहेछ ” हे आई गट हियरसेफ्ली, लव यु टेक केयर वेवि”। मैले पनि “यु टु टेक केयर, मिसिङ यु ब्याड्ली” लेखेर म्यासेज पठाए। लगभग उसँग दिनदिनैजसो भिडियो च्याट हुन्थ्यो। उसले त्यहाँ गर्नु परेको संघर्ष र मलाई मिस गरिरहेको बताईरहन्थी। मेले दाह्री नकाटेको अलि दिन भएको थियो, उसले “के हो दाह्री पालेको ? कस्तो नराम्रो देखिएको छ” भनी।  मैले पनि हास्दै राम्रो भएर हिडे भने अरुले आँखा लगाउछन फेरि मेरो मन पनि पग्लियो भने तिमिले के गर्छेउ भने। उसले पनि हाँस्दै “म पनि यता अर्को खोजौँला नि” भनी।  फेरि मैले बलाकको झैं निर्दोष रिस देखाएर जाँउ त्यसो भए अर्को खोज्ने भए मसँगै किन बोल्नु पर्यो भने। उसले हास्दै रिसाउदा त तिमी क्या ह्यान्सम देखिँदा रैहेछौँ भनी। मैले पनि त्यसो भए तिमीसँग दिनदिनै रिसाउछु भन्दै हाँसे। केही महिनापछी उसको र मेरो कुराकानी पहिले जस्तो बाक्लो हुन्थेन। उसले क्लास, असाईनमेन्ट र कामले एकदमै ब्यस्त भएको बताईरहन्थी। मैले पनि ठिक छ पिर नगर आफ्नो करियरमा फोकस गर भनेर उसलाई सान्त्वना दिने गर्थे। समय बित्दै जाँदा हाम्रो संपर्क झन पाँतलिदै गएको थियो। कहिलेकाँहि  फेसबुकमा २र३ दिनसम्म म्यासेजको रिप्लाई आउने गर्थेन। उसलाई प्रश्न गर्दा उसको जवाफ सधैँ  एउटै हुन्थ्यो कि पढाइ र कामको प्रेसर। उसलाई आफुलाई भन्दा धेरै बिश्वास गर्थे तर उसलाई गुमाउने डरले मनमा नानाथरीका कुराहरु आँउथे। एउटा मनले भन्थ्यो उ मलाई आफुभन्दा धेरै माया गर्छे उसले मलाई छोडेर जाने कुरै आउदैन फेरि अर्को मनले भन्थ्यो केटिहरु धेरै निर्णय मनको सुनेर निर्णय गर्छन फेरि मान्छेको मन बदलिन के बेररु त्यो दिन मेरो बर्थ डे परेको थियो। सधै मलाई बर्थ डे विष गर्नेहरुमा उ नै पहिलो हुन्थी, रातको १२ बज्ने बित्तिकै उसको एसएमएस र कल आउने गर्थ्यो तर त्यो दिन केही आएन। अर्को दिन उसले फोन गरेर माफ माग्दै अगिल्लो दिनको सट्टा बर्थ डे विष गरि। मैले व्यङ्ग्य गर्दै भने “थ्याङ्क गड तिम्लाई मेरो बर्थ डे त याद रहेछ”। उसले फेरि”सरि के अब नरिसाउन भनी”। मेरो पनि रिसको बाध फुटिसकेको थियो र भने ” तिमिले मलाई ईग्नोर गरिराकोरु मैले केही गल्ती गरेको भए भन तर कृपा गरेर यो दयावाला माया नदेखाउ। जति बिजि भएपनी दिनमा एउटा म्यासेज त गर्न सक्छौं। पहिले उठ्ने बित्तिकै गुड मर्निङ र सुत्नु अगाडि गुड नाईटवाला म्यासेज गर्ने तिमी अहिले महिनौ गायव हुन्छौँ।” उसले केही नभनी फोन काटिदिई। मैले सोचे कसैप्रती आवश्यकता भन्दा बढी चासो र महत्त्व दिनु उनिहरुको नजरमा आफ्नो मूल्य घटाउनु हो त्यसैले  मेरो ईगोले उसलाई संपर्क गर्नबाट रोकिरहेको थियो। केही महिना उसँग कुरा नगरी बित्यो। केही समय त निकै गाह्रो भईरहेको उ बिना बाच्न तर समयले कठिक भन्दा कठिन कुरा सिकाईदिने  रहेछ। तर केही आशा मन अझै बाँकी थियो उ मलाई त्यति सजिलै बिर्सिन सक्दिन भन्ने, त्यही आशाले नै मलाई जिउदो राखिरहेको थियो। जीवन सुकेको नदिको बगर जस्तो उजाड बनिसकेको थियो जिवनमा केही उत्साह थिएन, पढाईमा मन पनि जान्थेन कलेजमा साथिहरुसँग पनि त्यती बोल्थिन, ममिको अगाडि खुसी भएको नाटक गरेपनी उहाँले मेरो पिडाको सुईको पाउनु भएको थियो र बारम्बार मलाई सम्झाउने कोसिस गर्नुहुन्थ्यो।

म उसँको कुरालाई त्यस्तो केही होईन भन्दै टारिदिन्थे। मेरो प्रेमको अगाडि मेरो ईगोले घुँडा टेक्यो र मैले उसलाई कल गरे तर उसले उठाईन। धेरै दिन पछि उसले मलाई कलब्याक गरि। सुरुको केही मिनेट औपचारिकता मै बित्यो। मैले उससँग धेरै नरम भएर माफी मागे उसले ठिक छ मैले त्यो कुरा मनमा लिएकै छैन भनी। मेरो मन केही हल्का भयो मेरो मरभुमिमा परिणत भएको मनमा फेरि प्रेमको वर्षा हुँदै थियो। उसको र मेरो कुरा धेरै पातलो भएपनि त्यही कुराले मलाई बाँच्ने बहाना दिईरहेको थियो।

एकदिन उसले फोन गरि र सुरुमा केही औपचारिक कुराकारी पछि उ केही गम्भीर हुँदै तिमिलाई केही कुरा भन्नू छ आदर्श भनी। मैले पनि के कुरा भनेर प्रश्न गरे।  उस्  आएम सरि आदर्श, अब म हाम्रो रिलेसनशिपलाई अगाडि बढाउन सक्दिन। म आश्चर्य हुँदै , के भनेको तिमिले तिमि होसमा त छौँ ?

उ:  एकदम ठिक छु र धेरै सोचेर मैले यो निर्णय लिएकि हुँ ।

म:  किनरु मैले तिम्रो चित्त दुखाएरु कि मैले कुनै गल्ती गरे ?

उ:  तिमी एकदमै ठिक छौ र म भन्दा राम्रो केटि पाउछौं तर सायद हामी एकअर्काका लागि ठिक छैनौं।

म:  तिमी के कुरा गरेको योरु थाहा छ तिमिलाई कजेलमा हाम्रो जोडि देखेर सबै डाहा गर्थे

उ:  त्यो पुरानो कुरा हो आदर्श, त्यतिबेला सायद हामी अपरिपक्व थियौँ जिवनलाई राम्रोसँग बुझेका थिएनौं। अहिले परिस्थिति बेग्लै छ।

म:  घाँटिमा गाँठो पार्दै,  त्यस्तो नभए प्लिज, बरु मेरो कमजोरीहरु भए भन तर मलाई छोड्ने कुरा नगर। तिमी नै भएनौं भने कसरि बाच्ने भन त तिमी।

उ: समयले सबै कुरा सिकाउछ आदर्श, कसैको अभावमा कसैको जीवन रोकिदैन। तिमी पनि सजिलै सिक्ने छौँ।

म:  केही बोल्न लाग्दालाग्दै उसले काममा जानू छ अहिले म गए आफ्नो ख्याल गर्नु र ममिलाई पनि नमस्ते सुनाईदिनु भन्दै बिदा भई।

केही मिनेट अगाडि के भयो मैले बुझ्नै सकिन। त्यो नराम्रो सपना थियो या वास्तविकता थियो मैले केही ठम्याउन सकिरहेको थिईन। मेरो हातखुट्टा मैले महसुस गर्न सकिरहेको थिईन, समयको गति रोकिए जस्तो  लाग्यो। आखिर जुन कुरा मैले कल्पना सम्म पनि गर्न डराउथे आज त्यही कुरा मेरो जिवनको बास्तविकता भनेको थियो।  जुन जिवनलाई म बरदान ठान्थे त्यो मेरो लागि अभिषाप बनिसकेको थियो। बाँच्ने कुनै बहाना भेटिरहेको थिईन। कति पटक त आत्महत्या गर्ने सजिलो उपायहरु गूगलमा खोजेको थिए तर मर्ने हिम्मत गर्न कहिल्यै सकिन। म कलेज जान छोडिसकेको थिए।

कोठामा चुकुल लगाएर बस्थे। रक्सी र चुरोट देखि कोसौ टाढा भाग्ने मान्छे पानी भन्दा धेरै रक्सी पिउथे र फोक्सोमा अक्सिजन भन्दा धेरै चुरोटको धुँवा भर्दथे।  म डिप्रेसनको सिकार भईसकेको थिएँ। ममिबुबा मेरो बारेमा धेरै चिन्तित हुनुहुन्थ्यो। छोराको त्यस्तो हालत हुँदा चिन्ता नगर्ने बाबुआमा सायदै कम होलान्। दुखले च्यापेको मान्छेले अरुको दुख देख्न सक्दैन, म त्यही दुखको सागरमा डुबुल्की लगाउदै थिए। त्यसैले उहाँहरुको दुखप्रती म सजक थिईन। उहाँहरुको म एक्लो सन्तान थिए।मलाई धेरै पटक सम्झाउनु हुन्थ्यो तर ममा केहि परिवर्तन आएको थिएन। उहाँहरुले सम्झाईरहने र म पहाड जस्तो अचल हुने शृङ्खला चलिरह्न्थ्यो।  एकदिन मेरो बच्चा देखिको साथिले मलाई बाहिर घुमाउन लग्यो। जबजब साधना र मसँग गएको र घुमेको ठाँउ देख्थे फेरि मलाई उसको यादले तड्पाउथ्यो। जब कुनै रुखमा चराको जोडि देख्थे, भाग्यले मलाई नै जिस्क्याए जस्तो लाग्थ्यो। फेवाताल, जुन ठाउँ मलाई सबैभन्दा आनन्द दिन्थ्यो त्यही ठाउँ मलाई सबभन्दा धेरै पीडा दिने ठाउँमा परिणत भएको थियो। केही महिना पछि मलाई मनोचिकित्सक कहाँ लगेर उपचार सुरु गराउनु भयो। सुरुसुरुमा आनाकानी गरेपनि मेरो केही चलेन र परामर्शको लागि गईरहे। केही समयको उपचार पश्चात् मेरो अवस्था सुध्रीदै थियो। मेरो एकजना आफन्तको सल्लाहमा ध्यान केन्द्रमा पठाईयो। जब ध्यान गर्नको लागि आँखा बन्द गर्थे, साधनाले आकृती मतिष्कमा घुमिरहन्थ्यो। तर  म त्यो  दुखको महासागरबाट माथी उठेरै छाड्छु भन्ने संकल्प गरे, युट्युवमा मोटिवेसनल स्पिचहरु हेर्न, सुन्न थाले र त्यस्तै किताबहरु पनि पढ्न थाले। मनोचिकित्सको परामर्श, ध्यानको अभ्यासले म बिस्तारै ठिक गईरहेको थियो। साधनाको कमि त हुन्थ्यो तर उ बिना पनि बाच्ने प्रयास गर्दै थिए। आफुलाई उसको प्रेमी ठान्थे तर जिवनको यात्रामा भेटिएको एउटा सहयात्री मात्रै रहेछु जब बाटो फेरियो हाम्रो साथ पनि टुङ्गियो। मायाप्रेम भन्ने कुरालाई वाईयात ठान्थे, वियोगमा भएको प्रेमीहरुको मजाक उठाउथे, यस्तो लाग्थ्यो जाबो एउटा मान्छेले पनि कसैको जिवनमा प्रभाव पार्छरु एउटा गएपनी संसारमा अरुपनी त छँदै छन नि। तर मलाई के थाहा त्यो कुरा नैै मेरो जिवनको सबैभन्दा ठूलो सत्यता बन्छ भन्ने के थाहा रु उसको एउटा साथिबाट थाहा पाए साधनाअरुसँगै नै रिलेसनसिपमा रहिछ, केटा अमेरिकामा राम्रो सेटल रहेछ। केटाको बुवा र साधनको बुवा पहिलेका एकदमै मिल्ने साथी रहेछन। सानो हुँदा नै उनिहरु अमेरिकामा बस्दै आईरहेका रहेछन। यो संसारमा साचो माया भन्ने चिज नहुँने रहेछ, मान्छेले राम्रो पाए पुरानो बिर्सिदिदो रहेछ।  अहिलेका मान्छेहरु भौतिक कुरामा यति लिप्त छन कि उनिहरुलाई न प्रेम को कदर हुन्छ न भावनाको, महत्त्व हुन्छ त केवल भौतिक कुराहरुको ।

समयले घाउ नभरे पनि पिडासँग जिउन राम्रोसँग सिकाउदो रहेछ। जीवनमा केही उत्साह नभए पनि बाबा ममिको र मेरो ख्याल गर्नेहरुको लागि पनि बाच्छु भनेर अठोट गरिसकेको थिए। म कलेज पनि जान सुरु गरिसकेको थिए र आफुलाई व्यस्त राख्न विभिन्न कुराहरुमा संलग्न गराइथे। बिस्तारै त्यो पिडाबाट उम्किसकेको थिए र जीवन समान्य बन्न थालेको थियो।

-सन्दीप बस्याल

गल्याङ नगरपालिका १ मालुङ्गा ,
स्याङ्जा

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?