वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि

सारांश

  • काठमाडौँ।
  • मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ।
  • पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो।
काठमाडौँ। मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय उद्योग क्षेत्रमा वैदेशिक लगानी घटेपनि वैदेशिक लगानीको उद्योगबाट रोजगारी पाउनेको सङ्ख्यामा भने वृद्धि भएको हो। 
गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा सात हजार ५४१ व्यक्तिले रोजगारी पाएका थिए भने चालू आर्थिक वर्षको सोही अवधिसम्ममा आठ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाउने उद्योग विभागले जनाएको छ। उद्योग विभागले दिएको जानकारीअनुसार गत आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म रु ३४ अर्ब ९४ करोड ७० लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिए पनि चालू आर्थिक वर्षको सोही अवधिमा भने जम्मा ११ अर्ब २५ करोड ६३ लाख बराबरको लगानी प्रतिबद्धता भित्रिएको छ। यो लगानी गत वर्षको तुलनामा एकतिहाइ कम हो। 
चालू आर्थिक वर्षमा उत्पादनमुलक तथा निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी भित्रिएको छ। उत्पादनमुलक तथा निर्माण क्षेत्रका ५२ उद्योगका लागि रु पाँच अर्ब ४३ करोड ६१ लाख बराबरको लगानी प्रतिबद्धता भित्रिएको हो । यस्तै, पर्यटन क्षेत्रका ६९ उद्योगका लागि रु तीन अर्ब ६७ करोड ९४ लाख, सेवामुलक क्षेत्रका ७६ उद्योगमा रु एक अर्ब ८० करोड ६० लाख, सूचना प्रविधिका १६ उद्योगमा रु २३ करोड ३१ लाख, खानीका दुई उद्योगमा रु एक करोड ३१ लाख र कृषि तथा वन क्षेत्रका नौ उद्योगका लागि रु आठ करोड ८० लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिएको छ। 
विभागका सूचना अधिकारी जीवनराज सेढाईँ संविधान निर्माणसँगै बनेको स्थायी सरकारका कारण विदेशी लगानी भित्रिने क्रम विस्तारै बढ्दै गएको बताउँछन्। “मुलुकमा जुन तरिकाले उद्योग क्षेत्रमा लगानी भित्रिनुपर्ने हो त्यो भित्रिन सकेको छैन”, उनले भने। गत वर्ष जलविद्युत क्षेत्रका तीन उद्योगका लागि रु २२ अर्ब सात करोड ५४ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता भित्रिए पनि चालू आर्थिक वर्षको हालसम्म यस क्षेत्रमा लगानी भित्रिएको छैन। त्यसैले पनि चालू आर्थिक वर्षमा कम लगानी भित्रिएको हो। 
विभागले रु दश करोडभन्दा कम विदेशी लगानीका उद्योगलाई साना उद्योग, रु १० करोडदेखि २५ करोडसम्म लगानी भएका विदेशी लगानीका उद्योगलाई मझौला र रु २५ करोडभन्दा बढी लगानी भएका विदेशी लगानीका उद्योगलाई ठूला उद्योगका रूपमा दर्ता गर्दै आएको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्म १९४ उद्योगमा वैदेशिक लगानी भित्रिएको थियो भने चालू आर्थिक वर्षको समान अवधिमा २२४ उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। स्वदेशी लगानीका साना तथा घरेलु उद्योग दर्ता भने साना तथा घरेलु उद्योग विकास समितिमा दर्ता हुँदै आएको छ। 
पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी संविधान निर्माण र स्थीर सरकार आएपनि सोचेअनुसारको वैदेशिक लगानी भित्रिन नसकेको बताउँछन्। “सरकारले लगानी सम्मेलन गर्न लागिरहेको छ, के कुरामा लगानी भित्र्याउँदा मुलुकलाई प्रत्यक्ष फाइदा पुग्छ, त्यसमा सरकार लाग्नुपर्छ”, उनले भने। 
संविधान निर्माणसँगै मुलुकमा तीनै तहको निर्वाचन भएर स्थायी सरकार बनेकाले लगानी सुरक्षित महसुस गरेर उद्योग क्षेत्रमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि हुुनुपर्नेमा सोचेअनुसार लगानी हुन सकेको छैन । सरकारले यही चैत १५ र १६ गते काठमाडौँमा गर्न गइरहेको लगानी सम्मेलनमा उद्योग क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्ने बताइएको छ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको उद्योग क्षेत्रको विकास गरेर वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न सकेमात्र पनि सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले सार्थकता पाउने बताइएको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?