उपराष्ट्रपति चीन भ्रमणमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
उपराष्ट्रपति चीन भ्रमणमा

सारांश

  • काठमाडौँ, २० असार ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गर्नुभएको छ ।
  • चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

काठमाडौँ, २० असार । उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो ।

सो मेला चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजना गरिएको छ । उपराष्ट्रपति पुनले यही असार २२ गते विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । रेशम मार्ग र सहयोगका विविध आयामका बारेमा उहाँको सम्बोधन केन्द्रित रहने बताइएको छ ।

चीनका व्यवसायी एवम् उद्योगीसँग ‘नेपाल–चीनबीच आर्थिक तथा व्यापारिक सहयोग आदानप्रदान’ विषयको सम्मेलनमा समेत उपराष्ट्रपतिले यही असार २३ गते सम्बोधन गर्ने तथा लान्जाउमा रहँदा उपराष्ट्रपति उच्च चिनियाँ नेता एवम् अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुनले चीनको सान्सी प्रान्तको सियान र येनानको समेत भ्रमण गर्नुहुनेछ । सो अवसरमा उपराष्ट्रपतिसँग उक्त प्रान्तका नेताहरूले शिष्टाचार भेटवार्ता गर्नेछन् ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उहाँकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता छ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?