पशुपालन व्यवसायले ५० लाख स्वाहा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
पशुपालन  व्यवसायले ५० लाख स्वाहा !

सारांश

  • पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् ।
  • कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् ।
  • व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ ।

पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन् । कतिपयले विदेशबाट फर्किएपछि त कतिपयले रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन् । व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय कृषकले लगानीसमेत उठाउन नसकेर घाटा व्यहोरेका पनि पाइन्छ ।झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्कीलगायतले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको छ । गाईपालन व्यवसाय सञ्चालन गर्दा मनग्य आम्दानी हुन्छ भन्ने सुनेकै भरमा यो व्यवसायमा लगानी गर्नुभएका उहाँहरुले घाटा मात्र व्यहोर्नु परेन नजानेको काममा हात हाल्दा असफल होईदोरहेछ भन्ने पाठसमेत सिकाएकोे चिमरिया बताउनुहुन्छ ।

“सूर्योदय कृषि फार्म दर्ता गरेर पाँच वर्षअघि कनकाइ नगरपालिका– २ स्थित सुरुङ्गामा हामी पाँच युवाले रु १०÷१० लाख लगानी गरी गाई पाल्न शुरु गरेका थियौँ”, उहाँ भन्नहुन्छ, “ठूलो योजनाका साथ झण्डै रु एक करोड लगानी गर्दै चरणबद्धरुपमा यो फार्मलाई देशकै उत्कृष्ट बनाउने योजना थियो तर सफल भइएन ।”गाईपालन व्यवसाय सञ्चालन गरेकै कारण आफूले मात्रै रु २५ लाख घाटा व्यहार्नुपरेको चिमरियाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “म आफैँ फार्मको प्रबन्ध निर्देशक थिए, १२२ वटासम्म गाई पालेकै हो तर डेरी उद्योगले ‘मिल्क होलिडे’ भन्दै दूध नलिएपछि बाध्य भएर फार्म बन्द गर्नुप¥यो ।”

गाईपालन व्यवसाय सञ्चालन गर्न कुमारमणि पोखरेल, चिमरिया, इसु मित्तल, हरि खड्का, खगेन्द्र सापकोटाले शुरुमा लगानी गर्नुभएको थियो । “गाई फार्मबाट भनेजस्तो आम्दानी गर्न नसकेपछि सापकोटा, मित्तल र पोखरेलले फार्म छाड्नुभयो”, चिमरिया भन्नुहुन्छ “उहाँहरुले लगानी झिकेपछि अरु सात जनालाई शेयर सदस्य बनाएर फार्म सञ्चालन गरियो तर त्यो पनि सफल भएन ।”

रु सात÷सात लाख शेयर लगानी गर्दै गाई फार्ममा आबद्ध भएसँगै उनीहरुलाई फरकफरक जिम्मेवारी दिइएकामा चिमरिया प्रबन्ध निर्देशक, दण्डपाणि ९डिवी० गौतम र कमल सिटौला गाई विभाग प्रमुख, हरि खड्कालाई पाडा विभाग प्रमुख, साजन थापा र विवेक शिवाकोटीलाई बाख्रा विभाग प्रमुख, पुण्यप्रसाद ओझा र झलक सिटौलालाई कुखुरा विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।

एक सय उन्नत जातका खसी, १०० पाडा, १०० गाई र दुई हजार बोइलर कुखुरा पाल्ने सोचका साथ व्यवस्थित फार्म सञ्चालन गरिए पनि सफल हुन नसकेको गौतम बताउनुहुन्छ उहाँ भन्नुहुन्छ, “मौलीबाट जमुनापारीका उन्नत जातका बोका ल्याएका थियौँ हावापानी नमिलेर मरे ।”

नेपाल बहुद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा रहेको एनएमसी डेरी उद्योगले शुरुमा दूध लाने गरे पनि पछि दूध नलिएकाले दैनिक ८०० लिटर दूध फ्याँक्नुपरेको फार्म सञ्चालक कार्की बताउनुहुन्छ । “कहिले मिल्क होलिडे त कहिले के बहाना बनाउँदै डेरीले दूध लिन छाडेपछि हामी गाई पालक कृषक मारमा परेका हौँ”, उहाँ भन्नुहुन्छ, “अहिले त यो फार्ममा म एक्लै छु । सबै शेयर सदस्य निस्किएर जानुभयो । मेरो जमीनमा गोठ बनाइएकाले बाध्यताले मैले यसको जिम्मेवारी लिनुप¥यो । यसले मलाई नसोचेको घाटा भएको छ । एक सय २२ माउ दुधालु गाई भएको फार्ममा अहिले तीन वटा गाई छन् ।”

“ठूलो योजनाका साथ फार्म सञ्चालन गरे पनि दूधले मूल्य नपाएकै कारण अहिले बनाएको गाई गोठ भत्काइँदै छ”, कार्की भन्नुहुन्छ, “तालमेल मिलेन भने पशुपालक कृषक सधँै मारमा पर्छन् ।” गाई फार्म सञ्चालक आफैँले सुरुङ्गामा डेरी राखेका थिए तर आफ्नै गाई फार्मको दूध नबिकेपछि पनिर बनाएको चिमरिया बताउनुहुन्छ । पनिर पनि भनेको मूल्यमा नबिक्ने अनि गाईलाई खुवाउने दानाको मूल्य दिनप्रतिदिन बढेका कारण गाई पाल्न समस्या भएर आफूहरुले फार्म बन्द गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?