कांग्रेसको राष्ट्रिय जागरण अभियान किन प्रभावकारी भएन ?
सारांश
- काठमाडौं।
- संगठन सुदृढिकरण र सरकारको गलत कामको खबरदारी गर्न कांग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान प्रभावकारी नभएको कांग्रेसका नेतहरुले नै बताएका छन्।
- गत निर्वाचनमा नराम्रोसँग पराजित भएपछि कांग्रेसले संगठन सुदृढिकरण गर्न भन्दै बैशाख २५ देखि जेठ २५ गतेसम्म पहिलो चरणको राष्ट्रिय जागरण अभियान संचनलन गरिरहेको छ।
काठमाडौं। संगठन सुदृढिकरण र सरकारको गलत कामको खबरदारी गर्न कांग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान प्रभावकारी नभएको कांग्रेसका नेतहरुले नै बताएका छन्। गत निर्वाचनमा नराम्रोसँग पराजित भएपछि कांग्रेसले संगठन सुदृढिकरण गर्न भन्दै बैशाख २५ देखि जेठ २५ गतेसम्म पहिलो चरणको राष्ट्रिय जागरण अभियान संचनलन गरिरहेको छ। तर नेताहरुले जागरण अभियानमा पनि एकअर्काप्रति आरोप प्रत्यारोप गर्न छाडेका छैनन्। गुटगट राजनीतिको प्रभाव जागरण अभियानमा पनि देखिएपछि जागरण अभियान प्रभावकारी हुन नसकेको हो ।
यसैबीच कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्। संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
सोमबार आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता–कार्यकर्ताहरुमा निराशा छाएको उनको भनाइ थियो।
कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिंग अवस्थामा पुगेको बताए। कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिए।
पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आफूलाई आरोप लाग्ने गरेको गुनासो उनले गरे । नेता सिंहले भने, ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो, पार्टी बलियो र प्रभावकारी बनाउनु पर्यो, यही ढर्राले पार्टी चल्न सक्दैन, जनआकर्षण बढाउन सकिँदैन भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आरोप लगाउनेहरु पनि छन्।’
कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए। भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो। नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए।
प्रतिक्रिया