भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
भूकम्पपछिको तेस्रो बर्खा पनि दुखका साथ पालमुनी काट्दैछन् गोरखा भूकम्पका पिडितहरु

सारांश

  • गोरखा, २५ असार ।
  • ‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ ।
  • पचपन्न हजार जना लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ ।

गोरखा, २५ असार । ‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ । पचपन्न हजार जना लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ ।

पहिलो चरणमा अनुदान पाउने लाभग्राही सूचीमा ५८ हजार ३०३ जना परेका थिए । यीमध्ये ५५ हजार जनाको बैंक खातामा गत वर्ष भदौमै अनुदान रकम पठाइसकिएको थियो । लाभग्राहीमध्ये अधिकांशले अनुदान रकम घर, व्यवहार चलाउन खर्च गरे, चाडपर्व मनाए । केहीले भने बैंकबाट पैसा नै झिकेका छैनन् । “अनुदान रकम पाएको वर्ष दिनमा पनि किन घर बनाएनन् भन्ने खोजीको विषय बनेको छ,” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय गोरखाका प्रमुख राजेन्द्र कार्कीले भन्नुभयो – “पैसा दिएर मात्रै घर बन्ने होइन रहेछ भन्ने देखियो । प्राधिकरणले घर बनाइदिन्छ भन्ने मानसिकताबाट माथि उठेर आफ्नो घर आफैँ नबनाएसम्म पुनःनिर्माणले गति लिने देखिँदैन ।”

सरकारले एकमुष्ट रु तीन लाख दिनुपर्ने, तीन लाखले घर बनाउन त के निर्माण सामग्री ढुवानी गर्न पनि नपुग्ने, दोस्रो र तेस्रो किस्ता लिन झन्झटिलो प्रक्रिया तथा घरको मापदण्ड प्राधिकरणका इञ्जिनियरले भनेजस्तै हुबहु बनाउन नसकिने लाभग्राहीले प्रतिक्रिया दिँदै सजिलो मापदण्डको पर्खाइमा रहँदा घर पुनःनिर्माणमा केही ढिलाइ भएको स्वीकार गर्छन् । तेस्रो बर्खा पनि टहरोमा काट्दै आएकी सुलिकोट–४ सौरपानी झोलुङ्गेकी मालथानी गुरुङले भन्नुभयो, “घडेरी छैन कहाँ घर बनाउने ?” भूकम्पले भत्किएको घरसँगै जमिन चिराचिरा पर्दा नयाँ घर बनाउने घडेरीको गुरुङलाई खाँचो परेको छ । झोलुङ्गेका ३२ घरधुरीमध्ये केही घरमूलीले मात्रै घर पुनःनिर्माण गरेका छन् । घडेरीको खोजीमा रहेकी गुरुङ बालुवा–बारपाक सडकखण्ड छेउमा टहरोमा बस्दै आउनुभएको छ ।

स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिले पुनःनिर्माणको पाटो अघि बढाउने आशा गरेको प्राधिकरणले जनप्रतिनिधिसँग अन्तरक्रिया गर्दै पुनःनिर्माणलाई तीव्र गति दिन आग्रह गरिसकेको छ । नगरपालिका र गाउँपालिकाका विभिन्न केन्द्रमा पुगेर पुनःनिर्माणका चुनौतीको खोजी गर्दै समाधानका उपायबारे जानकारी गराइसकिएको कार्कीले बताउनुभयो । भूकम्पले भत्किएका घरको तथ्याङ्क लिन गाउँ पुगेका इञ्जिनियरले ‘बदमासी’ गर्दा वास्तविक भूकम्पपीडित पनि अनुदान पाउने लाभग्राही सूचीमा परेनन् जसले गर्दा १६ हजार २०० जनाले अनुदान माग गर्दै गुनासो दर्ता गराए । गुनासो आएकाको समस्या अझै समाधान गर्न सकिएको छैन । नयाँ कार्यविधि ल्याइएकाले अब वडाध्यक्ष, वडा सचिव र इञ्जिनियर रहेको तीन सदस्यीय समितिले वडाबाटै गुनासोको सम्बोधन गर्ने बताइएको छ ।

नीतिगत र व्यावहारिक समस्याले गर्दा भूकम्पपीडितले घर बनाउन नसकेको गोरखाका प्रजिअ जितेन्द्र बस्नेतले तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “भूकम्प गएको करिब छ महिनापछि प्राधिकरण गठन भयो । त्यसको छ महिनापछि गाउँमा इञ्जिनियर खटिएका थिए । तथ्याङ्क सङ्कलनदेखि अनुदान वितरणसम्म ढिलाइ भएकै हो । तर अनुदान पाएको १ वर्षसम्म पनि लाभग्राहीले किन घर बनाएनन् भन्ने प्रश्न गम्भीर छ ।” निर्माण सकिएका घरहरु यदि भूकम्प प्रतिरोधी छन्, मापदण्डअनुसार बनेका छन् भने दोस्रो र तेस्रो किस्ता वितरणमा ढिलाइ गर्न नहुने प्रजिअ बस्नेतको भनाइ छ । गोरखाका मसेल, पन्द्रुङलगायत गाउँमा एनजिओ (स्वाँरा सघन गाउँ विकास केन्द्र)को सहयोगमा तेस्रो किस्ता रकम वितरण गरिएको भए पनि सरकारी तवरबाट एउटै घरलाई तेस्रो किस्ता रकम उपलब्ध गराइएको छैन ।

प्रजिअ बस्नेत भन्नुहुन्छ, “प्राधिकरण गठन भएको दुई वर्षभित्र घरहरु पुनःनिर्माण गरिसक्ने प्रतिबद्धताअनुसार दाताहरुले पैसा दिएका थिए । भूकम्प गएको २६ महिनामा हामी छौँ तर निजी आवास पुनःनिर्माणले तीव्रता पाउन सकेन ।” कार्यविधिहरु सजिला आएकाले अब घर निर्माणको दर केही बढ्ने अपेक्षा गर्न सकिने उहाँले बताउनुभयो । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले दोस्रो किस्ता माग गर्नेको संख्या पाँच हजार ५०० पुगेको बताउनुभयो । जग खनेर डिपिसी गरेपछि इञ्जिनियरले दोस्रो किस्ता रकम माग गर्छन् । इञ्जिनियरले फाइल शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पठाएपछि जिल्ला समन्वय समितिबाट अनुदान रकम निकासा गरिन्छ । आचार्यका अनुसार नयाँ आर्थिक वर्ष साउनदेखि स्थानीय तहमै अनुदान रकम पठाइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करीका ७ घुम्ती- हत्यादेखि र आत्महत्या
सुन तस्करीका ७ घुम्ती- हत्यादेखि र आत्महत्या
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
काभ्रेका सबै सिटमा बामपन्थीको पकड
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
जेठ ३० गते बुधबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
कोरोना भाइरस फैलिएको केन्द्रबिन्दुमा पुगे चिनियाँ राष्ट्रपति
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने !  (हेर्नुहोस् २ मिनेटको भिडियो)
यिनै हुन् सागर ढकाल जसको प्रश्नले प्रधानमन्त्री देउवा फायर बने ! (हेर्नुहोस् २ मिनेटको भिडियो)
राष्ट्रियसभा बैठकमा कसले के भने?
राष्ट्रियसभा बैठकमा कसले के भने?
एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘
एमाले प्रदेश कमिटीले भक्तपुरको सबै सिट गर्यो सर्बसम्मत सिफारिस ‘
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि