अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी

सारांश

  • सुर्खेत।
  • रुकुम पश्चिममा पर्ने मुसिकोट नगरपालिका–२ का राजु परियारले २०७३ साल कार्तिक २३ सदरमुकाम खलंगाको एक घरमा चोरी गरे।
  • चोरीमा संलग्न उनलाई तत्कालै प्रहरीले पक्राउ गर्‍यो ।

सुर्खेत। रुकुम पश्चिममा पर्ने मुसिकोट नगरपालिका–२ का राजु परियारले २०७३ साल कार्तिक २३ सदरमुकाम खलंगाको एक घरमा चोरी गरे। चोरीमा संलग्न उनलाई तत्कालै प्रहरीले पक्राउ गर्‍यो ।पक्राउपछि चोरी तथा डाँका मुद्दामा जेल परेका उनी तीन वर्षको कैद भुक्तानपछि रिहा भए। तर परियारले चोरी गर्न छोडेनन् । जेलबाट छुटेको केही समयमै अर्थात् कार्तिक १६ गते राति मुसिकोट नगरपालिका–१ त्रिवेणी चोकमा रहेको मोबाइल पसलमा उनले चोरी गरे।

पसलमा चोरी गरेको दुई दिनपछि अर्थात कार्तिक १८ गते पक्राउ परे। यद्यपि, पसलबाट उनले तीन थान मोवाईल र ४ हजार ३८० रुपैयाँ मात्रै चोरी गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले बताए ।प्रहरीलाई दिएको बयान अनुसार परियारले ठूलो धनमाल हात पार्न नभई जेल बस्नका लागि चोरी गरेका हुन्। आखिर जेल बस्नकै लागि किन चोरीमा संलग्न रहे त?

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार जेलमा निःशुल्क खान र बस्न पाइने भएपछि चोरी गरेको परियारले बताएका छन्। ‘अनुसन्धान गर्दै जाँदा यसले त जेल बस्नकै लागि चोरी गरेको रहेछ’ डिएसपी खड्काले भने ‘निःशुल्क खान र बस्न पाइन्छ भनेर यस्तो जुक्ति लगाएछ।’ जेलबाट छुटेपछि परियारको खाने र बस्ने ठाउँको समेत टुङ्गो थिएन।

तीन वर्षअघि चोरी मुद्दामा जेल गएपछि समाज र परिवारबाट अपहेलित भएका थिए। कैद भुत्तानीपछि घरपरिवारसँग बस्नसक्ने वातावरण नहुँदा बाँचुन्जेल जेल बस्ने उद्देश्यले चोरीका घटनामा संलग्न भएको प्रहरीको अनुसन्धानले देखाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कार्तिक १८ गते पक्राउ परेका परियारलाई प्रहरीले बिहीबारमात्रै सार्वजनिक गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?