विदेशीको अवैध गतिविधि : बढ्दै निष्कासनको दर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
विदेशीको अवैध गतिविधि : बढ्दै निष्कासनको दर

सारांश

  • काठमाडौं।
  • सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै पक्राउ परे ।
  • गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरियो।

काठमाडौं। सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरियो।

चोरीमा संलग्न चीनकै वाङ सीलाई साउन पहिलो साता एक वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन गरियो । बुधबारमात्रै १२२ जना चिनियाँ नागरिकलाई पर्यटक भिसामा आएर अवैध क्रियाकलाप गरेको भन्दै सरकारले निष्कासन गरेर चीन फर्काएको छ। उनीहरु अब चार वर्ष नेपाल आउन पाउने छैनन्।

चालु आर्थिक वर्षमा मात्रै विभिन्न आपराधिक घटनामा जोडिएका पाँच र आजसमेत गरेर १२७ जना चिनियाँ नागरिक निष्कासनमा परेका छन्। बैंकिङ प्रणालीलाई नै चुनौती दिनेगरी गत भदौ १४ गते एटिएमको स्विच ह्याक प्रकरणमा छजना चिनियाँ नागरिक काठमाडौँबाट पक्राउ परे । पक्राउ परेका झू लियाङ्याङ, लुओ जियालेइ, लिन जियानमेङ, किऊ युनकिङ र चेन विनविन छु लुई लीले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका छन्।

जापानका ताकेनाका मिकुलाई लागुऔषध मुद्दामा गत असार ६ गतेको गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले १० वर्ष नेपाल प्रवेशमा रोक लगाउने गरी निष्कासन गरिएको छ ।

निष्कासनमा परेकाहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी र लागुऔषधमा संलग्न भएकाहरु छन् । कतिपय नेपाललाई ट्रन्जिट बनाएर युरोप अमेरिका जान प्रयास गर्नेहरुसमेत पक्राउ परी निष्कासन गरिएको अध्यागनन विभागका अध्यागमन अधिकृत बैकुण्ठराज रेग्मी बताउँछन्।

विगत तीन वर्षदेखिको विवरणमा विदेशीहरु निष्कासन हुने क्रम बढेको देखिन्छ । पर्यटन भिसामा आएर त्यसको दुरुपयोग गरी आपराधिक क्रियाकलापमा लाग्ने र भिसा सकिएर पनि बढी समय बस्ने दुवै प्रकृतिका घटनामा निष्कासन गरिएको दर वृद्धि भएको विभागको अभिलेखबाट पुष्टि हुन्छ । यसरी निष्कासन हुनु भनेको आपराधिक क्रियाकलापमा समेत विदेशीको संलग्नता बढ्नु पनि हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल निष्कासनको दर बढ्नु पनि एक किसिमले आपराधिक क्रियाकलाप बढेको भन्न सकिने भए पनि त्यो नै पर्याप्त आधार भने नभएको जिकिर गर्छन्।

उनी आपराधिक गतिविधि गर्ने विदेशी व्यक्तिहरु प्रवेश पाएका र त्यस्ता घटनामा संलग्न व्यक्तिहरु पटकपटक पक्राउ पर्नुले विदेशी व्यक्तिको चलखेल बढेकामा भने नकार्न नसकिने बताउँछन्। विदेशीबाट हुने अपराध रोक्न चुस्त अभिलेखीकरण गरेर विदेशी व्यक्तिका गतिविधिको निगरानी गर्ने संयन्त्र निर्माण गर्नुपर्ने पोखरेल बताउँछन्। नेपालमा प्रवेश पाएपछि विदेशीहरुले केके गरिरहेका छन् भन्ने अनुगमन गर्ने संयन्त्र नेपालमा छैन । पछिल्लो समयमा केही सुधार भए पनि संयन्त्र प्रभावकारी बन्न सकिरहेको देखिँदैन।

अध्यागमन विभागको अभिलेखमा आब २०७३र७४ मा कुल ४०० जना विदेशीलाई निष्कासन गरिएको थियो । आव २०७४र७५ मा ६०० भन्दा बढी निष्कासनमा परे। गत आर्थिक वर्षमा ६६८ जनालाई सरकारले निष्कासन गरेको छ । चालु आर्थिक वर्षमा मात्रै ४४६ जना निष्कासन भइसकेका छन्।

प्राप्त विवरणमा यसरी निष्कासन हुने मध्य आपराधिक क्रियाकलापमा संलग्न विदेशीको सङ्ख्या पनि क्रमशः बढ्दो छ । विभागले दिएको जानकरीअनुसार आव २०७३÷७४ मा विभिन्न आपराधिक गतिविधिमा संलग्न ८७ विदेशीलाई निष्कासन गरिएको थियो । आव २०७४÷७५ मा बढेर ९९ पुग्यो । गत आर्थिक वर्षमा १२७ जना विदेशीलाई आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएपछि जरिवाना तिराएर निश्चित समय नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १२२ चिनियाँ नागरिकबाहेक मात्रै ४९ जना विदेशी निष्कासनमा परिसके।

उनीहरु नक्कली भिसा, जाली पासपोर्ट, ठगी, चोरी, सुन तस्करी, लागुऔषध, हातहतियार ओसारपसार, यौन दुराचार, अभद्र व्यवहार कल बाइपास, सङ्गठित अपराध जस्ता घटनामा संलग्न थिए । उनीहरु अदालतको कारवाही झेलेर अध्यागमन हुँदै निष्कासनमा परेका व्यक्ति हुन् । निष्कासनमा परकामध्ये सबैभन्दा धेरै प्रवेशाज्ञामा तोकेकोभन्दा बढी समय बस्नेहरु रहेका विभागका निर्देशक रामचन्द्र तिवारी बताउनुहुन्छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?