गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
३५ पटक हेरिएको
Shares
गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा

सारांश

  • त्रिशूली ।
  • माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ ।
  • नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो ।

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो ।

स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाउन लागिएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ ।

नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको जनाउँदै स्थानीय सरकारसहित सङ्घ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको प्रथामिकतामा परेको पर्यटन व्यवसायी तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख एवं हाल तादी गाउँपालिकाको अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी सन्तमान तामाङले बताउनुभयो ।

तारुका दुई दिन जुधाइने

माघे सङ्क्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरु जुधाइ ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिमार्फत गर्न लागेको समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोरु जुधाइलाई महोत्सवका रूपमा आज र भोलि दुई दिन राखिएको छ ।

“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उहाँले भन्नुभयो, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराइएको छ ।”

तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिनुभयो । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे सङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ ।

बेत्रावतीमा नेपाल–भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु

बेत्रावतीको गोरु जुधाइको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताउनुभयो । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उहाँको भनाइ छ ।

“नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ (बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ”, अध्यक्ष डङ्गोलले “नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।”

नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिनुभयो ।

पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा

नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । यहाँ घले र तामाङ समुदायको बासोबास रहेको स्थानमा गोरु जुधाइको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइने गरिएकोसँग जोडिन्छ । पञ्चकन्यामा जुधाइने गोरु बाइसे÷चौबीसे राज्य सञ्चालनको समयमा घले राजाहरूले मनोरञ्जन लिन गोरुलगायतका पशु÷चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिनुभयो । यहाँ विसं २०७२ देखि संस्थागतरूपमा गोरु जुधाउन थालिएको हो ।

गोरुधनी किसानको उल्लेख्य सहभागिता

यहाँ जुधाइने गोरुलाई ‘वान भर्सेज वान’का आधारमा नछुट्टिएसम्म जुधाइने गरिएको छ भने विजेता गोरुको धनीलाई नगदसहित प्रशंसापत्रले सम्मान गर्ने गरिएको छ । प्रतिस्पर्धामा गोरु सहभागी गराउन गोरुधनी किसान उत्साहित हुने गरेका छन् भने उनीहरूलाई आकर्षण गर्न आयोजकले जुधाइने गोरुको बीमा, उत्कृष्ट तथा आकर्षण जुधाइलाई थप प्रोत्साहनको समेत व्यवस्था मिलाएको जनाएको छ ।

“खेती गर्नसमेत गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराउनलाई भनेर व्यावसायिकरूपमा गोरु पालेर जुधाउन ल्याउने गरेका छन् । तारकेश्वर–३ नुवाकोटका वडाध्यक्ष सूर्यमान श्रेष्ठले भन्नुभयो, “उत्कृष्ट गोरुको धनी बन्न किसानले पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर हिमालजस्तो जुरो बनाएर गोरु पाल्ने गरेका छन् ।”

गोरु जुधाइ भिडन्तलाई धार्मिक एवं सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरु जुधाइलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ ।

मकर सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भङ्गेरीलगायतमा स्थानमा गोरु जुधाइ प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
संविधान संशोधनको विषयमा निर्णय गर्न नसक्दा कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
महरा प्रकरणमा रोशनीको खुलासाः मानशिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेछु
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा बहस
राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा बहस
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई
विश्वकपले समेत रोक्न सकेन सलमानको फिल्म भारतलाई

तपाईंले छुटाउनुभयो कि?