हिउँदे बाली भित्र्याउन चटारो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
२८ पटक हेरिएको
Shares
हिउँदे बाली भित्र्याउन चटारो

सारांश

  • दाङ ।
  • कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् ।
  • यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ ।

दाङ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ ।

किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् ।

तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकी कमला बस्नेतले अहिले एक्कासि परेको पानीका कारण अन्नबाली जोगाउन समस्या भइरहेको बताए । “बाली भित्र्याउने बेला भएको थियो, एक्कासि पानी परेकाले समस्या बनाएको छ”, उनले भने ।

केही दिनअघि परेको बर्सातले बाली भित्र्याउन नपाएका किसान अझै पनि आकाश पूर्ण रूपमा सफा नहुँदा चिन्तित छन् । “हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानीले कुहिने हो कि भन्ने डर छ”, किसान प्रमिला चौधरीले भने । उनले आफ्ना छ महिनाको मेहनत कुहिन्छ कि भन्ने चिन्ता लागेको बताए ।

दाङ तोरी उत्पादनका लागि उपयुक्त वातावरण भएको जिल्ला मानिन्छ । यहाँ दुई याममा तोरी खेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि २५ हजार मेट्रिक टन तोरी उत्पादन हुने दाङस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दङ्गीशरण, शान्ति नगर र बवईलगायत क्षेत्रमा तोरी खेती हुने गरेको छ । जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गर्छ । केन्द्रका अनुसार २७ हजार छ सय हेक्टर जमिनमा मुसुरो खेती हुने गरेकामा करिब २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ । यहाँ बर्सेनि विभिन्न दुई दर्जन खाद्य बालीको खेती हुने केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?