शिवरात्री: पशुपतिमा साधुको भीड, ६ हजार सुरक्षाकर्मी खटिने
सारांश
- काठमाडौं ।
- पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्त आउने क्रम बढेको छ ।
- महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव प्रदीप ढकालले बताए ।
काठमाडौं । पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्त आउने क्रम बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव प्रदीप ढकालले बताए । शनिबारसम्म पशुपति क्षेत्रमा छ हजार साधुसन्त आइसकेका छने ।
भोलि सोमबार शिवरात्री परेकाले निकै भिड हुने आयोजकको दाबी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि पुग्ने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ ।
भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर राख्ने तयारी गरेका छन् । पशुपति क्षेत्रको वातावरणलाई स्वच्छ बनाउन एकहप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत संस्थाले सफाइ अभियान सञ्चालन गरिरहेका छन् । महाशिवरात्रिका दिन बिहानैदेखि दर्शनार्थीको भीड व्यवस्थापन गर्न पाँच स्थानमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको छ ।
दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ । हंसमण्डप, वनकालीको खुला स्थान, तिलगङ्गाको क्षेत्रलाई आवास क्षेत्र तोकी १०० संस्थालाई निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको छ ।
साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र चिसोबाट बच्न धुनी बाल्ने व्यवस्था गरिएको छ । फागुन २२ गते बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदाइको तयारी कोषले गरेको छ ।
प्रतिक्रिया