पाकिस्तानमा मस्जिदबाहिर विस्फोटन, कम्तीमा ५० जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
पाकिस्तानमा मस्जिदबाहिर विस्फोटन, कम्तीमा ५० जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
  • उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएका छन्।

बीबीसी। पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको एउटा विस्फोटनमा परेर कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा परेर अरू ५० जनाभन्दा बढी घाइते भएका छन्।

इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको थियो।

मास्तुङ सहरमा धार्मिक भेलालाई लक्ष्य बनाएर आत्मघाती आक्रमण गरिएको बलोचिस्तान प्रहरीका प्रमुख अब्दुल खालिक शेखले पुष्टि गरेका छन्।

उनका अनुसार आक्रमणकारीलाई रोक्न खोज्ने क्रममा एक जना वरिष्ठ प्रहरी अधिकारीको पनि विस्फोटनमा परेर मृत्यु भएको छ।

उक्त घटनामा हताहत भएका मानिसलाई दुइटा स्थानीय अस्पतालमा लग्न थालिएको प्रहरीले जनाएको छ।

मास्तुङ सहरका दुई प्रहरी अधिकारीले बीबीसीलाई मृतकहरूको सङ्ख्याबारे जानकारी दिएका हुन्।

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानिसहरू भेला भएको मस्जिदबाहिर आत्मघाती विस्फोटन भएको थियो

पाकिस्तानका आन्तरिक मामिला मन्त्री सरफराज बुग्टिले उक्त आक्रमणलाई “निकै क्रूर काम” को सङ्ज्ञा दिएका छन्।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा घाइतेलाई आपत्कालीन सेवाका कर्मचारी र स्थानीय मानिसहरूले उद्धार गरेको देखिन्छ।

अहिलेसम्म कुनै समूहले पनि उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरनजिकै अर्को मस्जिदबाहिर पनि विस्फोटन भएको छ।

हाङ्गु सहरमा भएको घटनामा कति जना हताहत भए भन्ने स्पष्ट भइसकेको छैन।

तर प्रहरीका अनुसार भवनको छानो भत्किँदा भग्नावशेषमा केही मानिसहरू पुरिएका छन्।

उक्त मस्जिद प्रहरी परिसरभित्र छ। त्यहाँ झन्डै ५० जना अट्न सक्ने प्रहरीले बीबीसीलाई बताएको छ।

अफगानिस्तान र इरानसँग सीमा जोडिएको बालोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो। पाकिस्तानी तालिबान पनि भनिने तेहरिक-ए पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेट (आईएस) समूहका लडाकुहरूले त्यहाँ बारम्बार आक्रमण गर्दै आएका छन्।

टीटीपीले शुक्रवारको घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। एउटा विज्ञप्तिमा त्यस किसिमको आक्रमण आफ्नो नीतिविपरीत भएको उसको दाबी छ।

यो महिनाको सुरुतिर सोही जिल्लामा भएको विस्फोटनमा कम्तीमा ११ जना घाइते भएका थिए। तीमध्ये एक मुस्लिम नेता पनि थिए।

गत जुलाईमा पश्चिमोत्तर पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा एक धार्मिक राजनीतिक पार्टीको भेलामा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?