कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३५ पटक हेरिएको
Shares
कांग्रेसमा नेतृत्व परिवर्तनको प्रयास

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नै पार्टीको विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेस गर्ने तयारी छ।
  • नेपाली कांग्रेसमा संस्थापन इतर समूहले विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आसन्न केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी गरेका हुन्।

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नै पार्टीको विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेस गर्ने तयारी छ। नेपाली कांग्रेसमा संस्थापन इतर समूहले विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आसन्न केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी गरेका हुन्। पार्टी सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका छन्।

तर, ‘जेन-जी’ आन्दोलनपछि इतर समूहले अब सभापति देउवाको नेतृत्वमा पार्टी नचल्ने निष्कर्षसहित हस्ताक्षर संकलन थालेका थिए। तत्काल देउवालाई पार्टी नेतृत्वबाट हटाउनुपर्ने पक्षमा महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, इतर समूहको नेतृत्व गरिरहनु भएका केन्द्रीय सदस्य डा.शेखर कोइराला रहेका छन्। हस्ताक्षर अभियानको अगुवाइ गर्ने नेता कोइरालानिकट नेता गुरुराज घिमिरेले गरिरहेका छन्। यही असोज ६ गते नेता कोइराला र महामन्त्री थापानिकट १०९ महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए। विधानअनुसार महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतको हस्ताक्षर गरेर महाधिवेशन बोलाउन सक्ने प्रावधान छ। तर, इतर समूहका नेताहरूले भने विशेष महाधिवेशन माग्दै अहिले देशव्यापी रूपमा हस्ताक्षर अभियान चलाइरहेको भए पनि संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा छ।

कांग्रेसमा केन्द्रीय समिति वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था छ। केन्द्रीय समितिमा सभापति देउवाको स्पष्ट बहुमत भएकाले केन्द्रीय समितिबाट त्यो सम्भावना नभएपछि इतर समूहले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको विकल्प राजेको हो।

जारी हस्ताक्षर अभियानमा महामन्त्री थापा र इतर समूहका नेता कोइरालाको पनि समर्थन रहेको नेताहरूले दाबी गरेका छन्। विशेष महाधिवेशन माग्न आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भइरहेको अभियानमा संलग्न नेताहरूको दाबी छ। विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन अभियान चलिरहेको जानकारी दिँदै नेता गुरुराज घिमिरेले भने, ‘केन्द्रीय समितिको मुखैमा विशेष महाधिवेशन माग गर्दै ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाउने तयारीमा हामी छौं। जिल्ला जिल्लाबाट साथीहरूले फोनमा जानकारी दिएअनुसार अहिलेसम्म विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भइरहेको छ । यसलाई हामी ५० प्रतिशत बढी पुर्याउँछौँ।’

लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनुपर्ने विधानको व्यवस्था छ । सभापति देउवाको नेतृत्वमा चुनावमा जान नसकिने निक्र्योलसहित केही नेताहरू नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।

सभापति हटाउन चार विकल्पमा छलफल

‘जेन–जी’ आन्दोलनपछि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नजिकिएसँगै पार्टी नेतृत्वबारे चार विकल्पमा केन्द्रित रहेर आन्तरिक छलफल भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो परिस्थितिबीच केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । यही असोज २६ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डा अहिलेसम्म तय भइसकेको छैन । पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्को भइरहेको बेला सभापति देउवाले अहिले पार्टी नेतृत्व छाड्ने वा नछाड्नेबारे केही बताउनुभएको छैन । २०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनबाट देउवा दोस्रोपटक सभापति निर्वाचित हुनुभएको थियो । देउवाको नियमित चार वर्षे कार्यकाल मंसिरसम्म छ ।

कांग्रेस विधानमा एक व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन पाउँदैन । त्यसैले पनि सभापति देउवाले तेस्रोपटक सभापति उम्मेदवार नहुने कुरा केही समयदेखि नै सार्वजनिक रूपमा बताउँदै आउनुभएको थियो ।

सभापतिमा देउवालाई नै निरन्तरता दिने पक्षमा निकटकै नेताहरू पनि छैनन् । प्रक्रिया पूरा गरेर सभापति देउवालाई धन्यवाद दिने र नयाँ नेतृत्वबाट कांग्रेसलाई अघि बढाउने पक्षमा देउवा पक्षकै नेताहरू छलफल गरिरहेका छन् । कांग्रेसमा नियमित महाधिवेशन, विशेष महाधिवेशन, कार्यवाहक सभापति तोक्ने र अहिलेको केन्द्रीय समिति नै विघटन गर्नेगरी चार विकल्पमाथि छलफल भइरहेको नेताहरूले बताएका छन् । सभापति देउवाको कार्यकाल मंसिरमा सकिने भएकाले अब नियमित महाधिवेशनमै जानुपर्ने अधिकांशको धारणा छ ।

विशेष महाधिवेशन माग गर्ने सन्दर्भमा भने मतभेद देखिन्छ । शेखर कोइराला पक्षका कतिपय नेताहरू नै पनि विशेषभन्दा नियमित महाधिवेशनमै जोड दिइरहेका छन् । कांग्रेसभित्र कार्यवाहक सभापति तोकेर जाने विषयमा पनि कुराकानी भइरहेको छ । सभापति देउवानिकट नेताहरू सभापतिमा देउवालाई निरन्तरता दिन नसक्ने अवस्थामा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर जान सकिने विकल्पमा छन् ।

हिमालय टाइम्स दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?