प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’

सारांश

  • प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रूपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेकी छन् ।
  • माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।
  • पार्टीमा ‘कविता’ नामले चिनिने ३३ वर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताइन् ।

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रूपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।

पार्टीमा ‘कविता’ नामले चिनिने ३३ वर्षीया रीनाले पहिलो चरणमा सडक र ढल सुधारबाट काम थाल्ने बताइन् । ‘मौलापुरलाई स्मार्ट नगरपालिका बनाउँछु,’ उनले भनिन्, ‘यहाँको बिग्रेको सडक, विद्यालय, ढल निर्माणको काम पहिलो चरणमै थालनी गर्छु ।’ दाइजो प्रथाले जकडिएको समाजलाई सही बाटोमा डोर्‍याउने लक्ष्य आफूले लिएको उनले बताइन् ।

रीना विजयी भएपछि स्थानीय महिला बढी उत्साहित देखिएका छन् । ‘रीनाको जित हामी सबै महिलाको जित हो,’ मौलापुर १ मा महिला सदस्यमा निर्वाचित बबिता पाण्डेले भनिन्, ‘नगरका सबै महिलाले भोट दिएर रीनालाई सघाएका हुन् ।’ अब महिलाको पक्षमा काम गरेर सघाउने जिम्मेवारी उनको काँधमा आएको बबिताले बताइन् । रीनाको जितमा सबैभन्दा बढी नगर क्षेत्रका महिला खुसी छन् ।

उनी सहरी विकासमन्त्री प्रभु साहकी पत्नी हुन् । भारतको सितामढी जिल्ला बैरगनिया पञ्चायत जमुआघाट गाउँ माइती भएकी रीनाको २० वर्ष अगाडि साहसँग मागी विवाह भएको थियो ।

‘घरको कामसँगै नगरको जिम्मेवारी इमानदारीपूर्वक सम्हाल्छु,’ उनले भनिन्, ‘काम गर्न कुनै कसर बाँकी राख्दिनँ ।’ २० वर्ष अगाडि १ लाख रुपैयाँ दाइजो दिएर बुबाआमाले प्रभुसँग मागी विवाह गरिदिएका थिए । दाइजोको नाममा समाजमा छोरीबुहारीले शारीरिक, मानसिक यातना सहनुपरेको छ । कतिपय दाइजोकै कारण ससुराल पक्षबाट मारिएका घटना पनि छन् । ‘मैले जितेको नगरमा अब उप्रान्त दाइजोका कारण यस्ता घटना हुन दिन्नँ,’ उनले प्रतिबद्धता जनाउँदै भनिन् । निर्वाचित भएलगत्तै उनले आफ्नो दुवै छोराको बिहेमा दाइजो नलिने घोषणासमेत गरिन् ।

नगर क्षेत्रमा ११/१२ तहसम्म पढ्ने विद्यालय छैन । त्यसको व्यवस्था पनि तत्कालै गर्ने योजना आफूले बनाएको उनले बताइन् । मेयरमा विजय भएलगत्तै बिहीबार २ बजेदेखि विजयी जुलुसमा सहभागी रहेकी उनी साँझ करिब ५ बजे घर आइपुगेकी थिइन् ।

मतगणनाको सुरुवातदेखि अग्रता कायम गरेकी उनले राष्ट्रिय जनता पार्टीका रवीन्द्र पटेललाई १ हजार ७ सय ४ मत अन्तरले पराजित गरेकी हुन् । रीनाले ३ हजार ९ सय १२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी पटेलले २ हजार २ सय ८ मत पाए । पटेल पनि पूर्वमाओवादी कार्यकर्ता हुन् । लामो समय पार्टीमा क्रियाशील भए पनि स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी राजपा प्रवेश गरेका थिए । नवनिर्वाचित मेयर रीना मधेसमा सक्रिय राजनीति गर्ने कमै महिलामध्येकी हुन् । एसएलसी उत्तीर्ण उनी अहिले पार्टीको मधेसी मोर्चाकी केन्द्रीय सदस्य हुन् । यही क्षेत्रबाट उनका पति प्रभु साहले दुईपटक सांसद पदमा जितिसकेका छन् । मौलापुरको उपमेयरमा माओवादीकै गौरीशंकरप्रसाद जयसवाल विजयी भएका छन् ।

दस वर्ष भूमिगत भएर शान्ति प्रक्रियामा आएलगत्तै उनले महिला सशक्तीकरणका लागि गाउँ–गाउँमा संगठन बलियो बनाएकी थिइन् । ‘युद्धका बेला हतियार नउठाए पनि पार्टीको काममा सक्रिय भएर लागिन्,’ उनका श्रीमान् सहरी विकासमन्त्री प्रभु साहले भने, ‘जनताकै लागि काम गरेकाले अहिले जनताले रीनालाई मेयरका रूपमा चुनेका हुन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?