भोटको के कुरा, एकल महिला सुरक्षा भत्ता पनि पाएकी छैनन्
सारांश
- महोत्तरी ,१२, मंशिर हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन् ।
- दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन।
- त्यसैले मतदाता नामावलीमा उनको नाम छैन ।
महोत्तरी ,१२, मंशिर
हरिणमरीकी ६० वर्षीया जोगोदेवी चमारले एक पटक पनि भोट हाल्न पाएकी छैनन् । दलित समुदायकी जोगोदेवीसँग नागरिकता छैन। त्यसैले मतदाता नामावलीमा उनको नाम छैन । नागरिकता बनाउनकै लागि उनी १० वर्ष देखि भौतारिँदै आएकी छन् ।
हरेकजसो चुनावमा भोट माग्ने नेताहरूसँग नागरिकता बनाइदिन उनी गुहार माग्छिन् तर उनको पीरमर्का बुझ्ने कोही भेटिएन। मानसिक सन्तुलन बिग्रेका उनका श्रीमान सत्यनारायण चमार बितेपछि उनलाई झन् समस्या परेको छ। ‘श्रीमानको नागरिकता छैन, त्यसैले मेरो पनि नागरिकता बन्दैन, उनी भन्छिन्, उहाँ मरेर जानुभयो, अब कहाँबाट ल्याउने कागजपत्र ?
१९ वर्षीय अपाङ्ग छोरीको हेरबिचार गर्दै जागोदेवी बनीबुतो गरेर जीवन चलाउँछिन्। ‘नागरिकता नभएर भोट पनि खसाल्न पाएको छैन, चारैतिर चुनावी रौनकले छोएको बेला उनी गहभरी आँसु बनाएर भन्छिन्, न एकल महिला सुरक्षा भता दिन्छन् न त छोरीकै जन्मदर्ता बनेको छ ।
नागरिकता बने समाजिक सुरक्षा भत्ता पाउने आशा त छँदैछ, त्यो भन्दा बढी भोट खसालेर गरिबको पक्षमा काम गर्ने नेता चुन्ने उनको धोको छ।
अन्नपूर्णबाट
प्रतिक्रिया