पर्वतमा शुल्क तिरेर मात्रै पुलमा आवतजावत
सारांश
- फलेवास, पर्वत, १२ मंसिर पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् ।
- विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो ।
- नेपालकै अग्लो उक्त पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् ।
फलेवास, पर्वत, १२ मंसिर पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् ।
विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो । नेपालकै अग्लो उक्त पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् ।
पर्वतमा कुश्मा–ज्ञादी झोलुङ्गे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । त्यति मात्रै होइन पर्वत आसपासका जिल्लाका बासिन्दाले त बिदा मनाउने स्थलका रुपमा नै झोलुङ्गे पुललाई लिन थालेका छन् ।
अग्ला पुलमा दैनिक अवलोकन र घुम्न आउनेको संख्या बढ्दो छ । बिदाको दिन ती स्थान भरिभराउ रहन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि, कुश्मा–कैया पुल चार वर्ष अघि थतथा कुश्मा–मुडिकुवा पुल गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको हो । अहिले यी तीनवटै अग्ला पुलको दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन् । बिदाको दिनमा सात हजारभन्दा बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् ।
यहाँ पुलको अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छरे सहितका आकर्षक हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका पर्यटन व्यवसायी विषमकुमार श्रेष्ठले बताउनुभयो ।
पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भए पनि अवलोकन गर्नका लागि पर्यटक आउँदा सो वरपरको व्यापार व्यवसायसमेत फस्टाएको छ । अहिले तीनवटै पुल वरपर दुई दर्जन बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गा जमिनको मूल्य समेत बढेको श्रेष्ठले बताउनुभयो ।
कुश्मा–ज्ञादी पुल मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलका रुपमा चर्चित छ । सो पुल २०६७ सालदेखि सञ्चालनमा आएको हो । कुश्मा–कैयाँ पुल २०७० फागुनदेखि सञ्चालनमा आएको हो । सो झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र कुश्मीशेरा नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको सो पुल रु एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । कुश्मा–मुडिकुवा पुलले कुश्मालाई फलेवास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोडेको छ । मोदीखोला माथिव बनेको सो पुलको लम्बाइ ३५९ मिटर र उचाइ १५५.७० मिटर रहेको छ । सो पुल रु एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो ।
यस्तै केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ ।
झण्डै रु पाँच करोडको लगानीमा निर्माण भएको सो पुलमा दैनिक ५०० भन्दा बढीले आवतजावत तथा अवलोकन गर्ने गरेका छन् । कालीगण्डकी नदीमाथि बनेको उक्त पुलले एक घण्टाको दूरीलाई पाँच मिनेटमा झारेको छ । सो पुल २६२ मिटर उचाइमा बनेको छ ।
यी पुलमा नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी श्रेष्ठको भनाइ छ । मुडिकुवा–कुश्मा पुलका कारण अहिले फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी, फलफूललाई बजारसम्म पु¥यउन सहज भएको छ ।
प्रतिक्रिया