र, महिलाहरुले बिकिनी लाउन थाले …
सारांश
- डा.
- उत्तमबाबु श्रेष्ठ हाल विकसित देशहरुमा धाराको पानी भाँडोमा थापेर निसंकोच पिउन सकिन्छ।
- पानी सिधै पिउँदा झाडा पखाला वा टाइफाइड वा अन्य पानीजन्य रोग (water borne diseases) ले शरिरमा आक्रमण गर्ला भन्ने एकरत्ति शंका हुदैन।
डा. उत्तमबाबु श्रेष्ठ
हाल विकसित देशहरुमा धाराको पानी भाँडोमा थापेर निसंकोच पिउन सकिन्छ। पानी सिधै पिउँदा झाडा पखाला वा टाइफाइड वा अन्य पानीजन्य रोग (water borne diseases) ले शरिरमा आक्रमण गर्ला भन्ने एकरत्ति शंका हुदैन। तर एक शताब्दी अघिमात्रै परिस्थिति त्यस्तो थिएन। अमेरिका जस्ता देशहरुमा समेत त्यतिवेला झाडापखालाबाट दैनिक हजारौं मानिसहरु मर्दथे। अमेरिकी शहरका घरमा आउने पानीहरुमा मलमुत्र मिसिएका हुन्थ्ये। पानीलाई भाँडोमा थाप्दा फोहरका छोक्राहरु माथि तैरिएका हुन्थ्ये। पत्रिकाहरुमा धाराको पानीमा सुप आएको भनेर व्यंग्य गरेर सम्पादकीय लेखिन्थ्यो।
बिसौं शताब्दीको शुरुवातताका विख्यात जर्मन लेन्स मेकर कार्ल जेइसले बनाएका लेन्सहरुबाट बनेका माइक्रोस्कोपहरुबाट पानीमा रहेका सुक्ष्म ब्याक्टेरियाहरुलाई मापन गर्न सकिने विधी पत्ता लाग्यो। अर्थात एक थोपा पानीमा हानीकारक ब्याक्टेरियाको धनत्व (density) कति छ भनेर अनुमान गर्न सकिने भयो । जुन विधि पत्ता लगाएका थिए रोवर्ट कोचले। उनी ब्याक्टेरिया अध्ययनका पितामह मानिन्छन्। सन् १९०५ मा जर्मन वैज्ञानिक रोर्वट कोचले क्षयरोग(TB)को जिवाणु पत्ता लगाए वापत नोबल पुरस्कार पाए। त्यतिखेर उनले आफ्नो सफलताको श्रेय कार्ल जेइसले बनाएका माइक्रोस्कोपलाई दिएका थिए।
पानीमा रहेको व्याक्टेरियाको धनत्व मापन गर्नसक्ने भएपछि त्यसलाई सखाप पार्न ठीक अनुपातको किटनाशक औषधीको बारेमा अनुसन्धान शुरु भयो। त्यसको अगुवाइ गरे अमेरिकी डाक्टर जोन लिलले। उनको बुबाको मृत्यु दुषित पानीको कारण भएको थियो। उनमा ब्लिचिङ पाउडर वा क्लोरिन भनिने क्लासियम हाइपोक्लोराइडसँग विषेश रुची थियो। किनभने त्यो रसायन त्यतिवेलाका अस्पतालहरुमा किटाणुसोधन (disinfection) गर्न त्यसको प्रयोग गरिन्थ्यो। तर क्लोरिन धेरै परिमाणमा खाएमा मानिसको ज्यान जाने विषालु रसायन थियो। लिललाई लाग्थ्यो उचित परिमाणमा यसलाइ मिसाउन सके, पानीमा हुने घातक जीवाणु मर्छ र मानिसलाई पनि हानी गर्दैन। जब जोनले अमेरिकाको न्यूजर्सी शहरको पानी आपूर्ति कम्पनीको जिम्मा लिए। उनले सरकारी अनुमति विना नै त्यहाँको पानी टंकीमा क्लोरिन मिसाएर त्यस्तो पानीको वितरण गर्न थाले। जुन मानव इतिहासमै पहिलो क्लोरिनयुक्त पानीको सामुहिक वितरण थियो। एक हिसाबले भन्दा जोन लिलले ठूलो दुस्साहास गरेका थिए। उनले मिसाएका क्लोरिनको उचित मात्रा नहुँदो हुन्थ्यो भने त्यसले लाखौं मानिसहरुको ज्यान जानसक्थ्यो। उनले लाखौं मान्छेहरुको ज्यानलाई दाउमा लगाएका थिए। उनको त्यो विधिको कुनै प्रारम्भिक अध्ययन (pilot study) समेत भएको थिएन। तर उनले गोप्य रुपमा त्यो दुस्साहास गरे र त्यसको केहि समयपछि न्यूजर्सीमा जादु भयो। मानिसहरु पानीजन्य रोगका कारण कम मर्न थाले। र जोनको उक्त विधी अमेरिका र संसारभर फौलियो । एक अध्ययन अनुसार, सन् १९०० देखि १९३० सम्म क्लोरिनयुक्त पानीको कारण अमेरिकाको वाल मृत्युदर ७४ प्रतिशतसम्म घटेको थियो।
ब्लिचिङ पाउडर र विकिनीको कस्तो साइनो
पानी सुरक्षित भएपछि प्रथम विश्वयुद्धको समाप्तिसँगै अमेरिका दश हजार सार्वजनिक पौडी पोखरी बनाइए। त्यो कुरा वैग्लै हो कि कुनै वेला नुहाउने कुरा पश्चिमा समाजमा बर्जित जस्तै थियो अहिले जस्तो दिनहुँ नुहाउने त परै जाओस्। मानिसहरु बर्षौंसम्म ननुहाइ बस्दथे। पौडी पोखरी बनेपछि नुहाउन नखोज्नेहरु आम रुपमा पौडी खेल्न थाले। त्यतिवेला महिलाहरु पौडी पोखरीमा जाँदा पुरै शरिर ढाक्ने बस्त्र लगाएर जान्थे। सन् १९२० सम्ममा महिलाहरु पौडी पोखरीमा पुग्दा घुडाँसम्म देखाउन सक्ने भए। त्यसपछि तिघ्रा र शरिरको पछाडिको भाग र उपल्लो भाग पनि खुल्दै गयो। सन् १९२० मा एक महिलाको लागि पोखरी पहिरन बनाउन ९ मिटर कपडा चाहिन्थ्यो भने सन् १९३० मा आउँदा त्यो खुम्चिएर एक मिटर भन्दा कम (खासमा ९० सेन्टीमिटर) भए पुग्ने भयो। र, यसरी क्लोरिन क्रान्तिले महिलाको पहिरनमा पनि क्रान्ति ल्यायो। ब्लिचिङ पाउडरको प्रयोगले विकिनी जन्मायो ।
(उत्तमबाबु श्रेष्ठको फेसबुक पेजबाट)
प्रतिक्रिया