साउदीको जेलमा करोडको दाउमा प्रेमबहादुर
सारांश
- इलाम ।
- घरबाट कमाउनका लागि ऋण काढेर परदेशिएकाले झण्डै करोड रुपैयाँ कमाउन कत्ति समय लाग्ला ?
- हजारमा तलब बुझ्नेलाई करोडको कुरा सपना भन्दा पर हो ।
इलाम । घरबाट कमाउनका लागि ऋण काढेर परदेशिएकाले झण्डै करोड रुपैयाँ कमाउन कत्ति समय लाग्ला ? हजारमा तलब बुझ्नेलाई करोडको कुरा सपना भन्दा पर हो । कहिलेकाही परिस्थिती उल्टो भइदिन्छ ।
कमाउन गएकाहरु कमाउनुको सट्टा देश फर्कन पनि रकम तिर्नुपर्ने हुन्छ । साउदीमा यस्तै परिबन्धमा फसेका छन् इलामको माई नगरपालिका ४ का प्रेमबहादुर राई(राजु) पनि ।
सन् २०१२ मा रोजगारीका लागि साउदी उडेका प्रेमबहादुर जेल परेको २१ महिना भयो । श्रीमान् जेल परेपछि विभिन्न ठाउँमा हारगुहार माग्दा प्रेमबहादुरकी श्रीमती सरिता राईलाई डेढ लाख रुपैयाँ लाग्यो । तर डेढ लाख खर्च गरेर धाउँदा पनि प्रेमबहादुर जेलबाट छुट्ने छाँटकाँट छैन ।
प्रेमबहादुर विरुद्ध कम्पनीले मुद्दा हालेको हो । त्यही मुद्दामा उहाँ जेल पर्नुभएको हो । अब उहाँले घर फर्कन ३ लाख १० हजार रियाल (झण्डै ९५ लाख रुपैयाँ) तिर्नपर्छ । ‘एक रुपैयाँ त छैन्, करोड कसरी जुटाउने ? म त यत्रो पैसा कल्पना पनि गर्न सक्दिन,’ सरिता आत्तिनुहुन्छ ।
प्रेमबहादुर साउदी गाडी चलाउनुहुन्थ्यो । गाडीमा सामान लिएर हिडेका उहाँले कम्पनीभन्दा १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि पार्किङमा गाडि रोकेर साथी भेट्न जानुभयो । तर फर्किएर आउँदा पार्किङमा गाडी भेटिएन् ।
हराएको गाडी दुईदिन पछि जनदियाबाट १० किलोमिटर पर रोमामा सिसा फुटेका अवस्थामा भेटिएको थियो । कम्पनीले आफूले निर्देशन गरेको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै प्रेमबहादुर माथि मुद्दा चलायो ।
अदालतले कम्पनीकै कुरालाई सदर गर्दै प्रेमबहादुरलाई दोषी ठहर गर्यो । लापरवाही गरेको अभियोगमा उहाँले ५० कोर्रा र दुई महिना जेल सजाय भोगिसक्नुभएको थियो ।
सजाय सकिएपछि घर फर्कन खोज्दा कम्पनीले उहाँलाई पासपोर्ट दिनुको सट्टा गाडीको सामान हराएको र तोडफोड गरेको भन्दै फेरि मुद्दा हालेर क्षतिपूर्ति माग्यो । प्रेमबहादुरले बेलाबेलामा सरितालाई फोन गर्दै आफूलाई छुटाउन भन्छन् । तर सरिताको दिमागमा ९५ लाख रुपैयाँ अटाउन सकेको छैन ।
‘कम्पनीका पनि साहु फेरिएका छन् रे, कागजमा जे लेखिएको छ त्यही गर्ने भनेका छन् रे कसरी छुटाउने होला,’ लामो सास फेर्दै सरिताले भन्नुभयो । श्रीमान्को उद्धारका लागि सरिताले परराष्ट्र मन्त्रालयदेखि विभिन्न संघसंस्थामा अनुरोध पनि गर्नुभएको छ ।
सरिता र प्रेमबहादुरका दुई सन्तान छन् । सरितालाई दुई छोराछोरी र यतिबेला कमाउन गएका श्रीमानको पनि जिम्मेवारी थपिएको छ । सरिता दुईछोराछोरीलाई पनि साथैमा लिएर श्रीमानलाई छुटाइदिन पर्यो हजुर भन्दै धाउनुहुन्छ ।
प्रेमबहादुर ३ वर्ष अघि साउदीबाट छुट्टिमा घर आउनु भएको थियो । ‘त्यतिबेला तिमी घर सम्हाल म कमाएर पठाउछु भन्नुहुन्थ्यो, अब त उहाँकै ज्यान करोडको दाउमा पर्यो । खै कसरी छुटाउनु,’ तिर्नुपर्ने रकम सम्झदा सरितालाई श्रीमान् फर्काउन सक्छु जस्तो लाग्दैन ।
‘सबै संघसंस्था र परराष्ट्र मन्त्रालयले पनि पैसा नतिरे हामी केही गर्न सक्दैनौ भन्दै पठाए, कहाँ जाउ उहाँको ज्यान बचाउन,’ सरिता प्रश्न गर्नुहुन्छ । उता प्रेमबहादुर पनि दूतावासले चाहेको भए छुटाउन सक्थ्यो भनेर सरितासँग गुनासो गरिरहनुुहुन्छ ।
पैसा नतिरी प्रेमबहादुर जेलबाट छुट्ने कुनै बाटो नभएपछि कुलुङ्ग संघ काठमाडौंको सहायतामा सहयोग रकम संकलनका लागि नेपाल इन्भेष्टमेन्ट बैंक खाता खोल्नुभएको छ । ०२९०५०३०२८५१७९ प्रेमलाई सहयोग गर्न खोलिएको बैंक खाता नम्बर हाे ।
खाता खोलेको १ हप्तामा केही रकम पनि जम्मा भएको छ । ‘मैले रकम पठाए त आउनुहोला नत्र त लाश पनि देख्दिन होला,’ सरिताले जेलमा रहेका श्रीमान् छुटाउन सहयोगका लागि आग्रह गर्नुभयो ।
प्रतिक्रिया