ओशोको स्वभाविक मृत्यु कि हत्या ?
सारांश
- तुषार कुलकर्णी, बीबीसी ओशोको जीवन जति रहस्यमयी थियो, उनको मृत्यु पनि उति नै रहस्यमयि भयो ।
- आखिर कसरी भएको थियो त ओशोको मृत्यु ?
- ओशोको मृत्यु भएको पनि २७ वर्ष भएको छ ।
तुषार कुलकर्णी, बीबीसी
ओशोको जीवन जति रहस्यमयी थियो, उनको मृत्यु पनि उति नै रहस्यमयि भयो । आखिर कसरी भएको थियो त ओशोको मृत्यु ?
ओशोको मृत्यु भएको पनि २७ वर्ष भएको छ । सन् १९९० मा आजकै दिन उनले संसार छोडेका थिए ।
ओशोको शुरुआती जीवन
उनको ११ दिसम्बर, १९३१ मा भारतको मध्य प्रदेशको कुचवाडामा जन्म भएको थियो । उनको नाम चन्द्रमोहन जैन थियो । सानैदेखि दर्शनमा रुचि भएको उनले आफ्नो पुस्तक ‘ग्लिम्सेज अफ अ गोल्डेन चाइल्डउड’मा लेखेका छन् ।
जबलपुरमा पढाइ गरेका उनी त्यसपछि जबलपुर विश्वविद्यालयमा अध्यापन पनि गर्न थाले । त्यसपछि उनले बिभिन्न धर्म र विचारधाराका विषयमा प्रवचन दिन थाले । उनको व्यक्तित्वले सबैलाई प्रभावित गर्न थाल्यो । ध्यानशिविर आयोजना गर्दै प्रवचन दिन थाल्दा उनलाई आचार्य रजनीशका नामले चिनिथ्यो ।
त्यसपछि उनले नबलपुर विश्वविद्यालयको जागिर पनि छोडे । र नवसन्यास आन्दोलनको शुरुआत गरे ।
अमेरिका पलायन
सन् १९८१ अमेरिका पलायन भए । त्यहाँ सन् १९८५ सम्म बसे । अमेरिकाको अरिगनमा आश्रम स्थापना गरे । जुन ६५ हजार एकड क्षेत्रमा रहेको थियो ।
उनको अमेरिका बसाई सुखद रहेन् । अनेक विवादमा तानिए । महङ्गो घढी, रोल्स रायस कार, बिभिन्न डिजाइनरले तयार गरेका कपडा चर्चामा आइरहे ।
उनको आश्रमलाई रजनीशपुरमका नामले दर्ता गर्न खोजिएको थियो । स्थानीय बासिन्दा विरोध गरे । त्यसपछि उनी सन् १९८५ भारत फर्किए ।
रहस्यमयि मृत्यु
भारत फर्किएपछि उनी पुणेस्थित कोरेगाउँ पार्कमा रहेको आश्रममा बस्न थाले । त्यही १९ जनवरी, १९९० मा उनको मृत्यु भयो ।
ओशोको मृत्युपछि उनका शिष्यहरुले आश्रमलाई कब्जामा लिए । त्यहाँ करोडौं सम्पत्ती थियो । त्यही सम्पत्तीका विषयलाई लिएर विवाद भयो ।
ओशोका शिष्य योगेश ठक्करले मुम्बइ उच्च अदालतमा मुद्दा हाले । ओशो साहित्यलाई सबैका लागि उपलब्ध गराउने उद्देश्यले अदालत पुगेको उनी बताउँछन् ।
ओशोको मृत्युको प्रमाणपत्र दिने चिकित्सक गोकुल गोकाणी लामो समयसम्म त्यस विषयमा मौन बसे । धेरै समयपछि उनले मुख खोले । ओशोको मृत्युका विषयमा गलत जानकारी दिएर मृत्युको प्रमाणपत्रमा हस्ताक्षर गराएको डा.गोकाणीले सार्वजनिक गरे ।
ओशोको शिष्य ठक्करले दिएको मुद्दामा डा.गोकाणीले सपथपत्र पेश गरेका थिए । त्यसमा उनले भनेका थिए, ओशोको मृत्यु विषयमा कयौं प्रश्नहरुको जवाफ मिलेको छैन । उनको मृत्युको कारण के हो भन्ने पत्ता लगाउन सकिएको छैन ।
मृत्युको त्यो दिन
ओशोको मृत्युका विषयमा ‘हु किल्ड ओशो’ पुस्तक लेख्ने अभय वैद्य भन्छन, “१९ जनवरी, १९९० का दिन ओशो आश्रमबाट डाक्टर गोकुल गोकाणाीको फोन आयो । उनले लेटेर हेड र इमेरजेन्स्ी किट लिए आउँ भने ।”
डा.गोकाणीले लेखेका छन, “म ओशो आश्रममा दिउसो २ बजे पुगेँ । ओशोले देहत्याग गरिरहेको उनका शिष्यहरुले बताए । उनीहरुले भने ओशोलाई बताउँ । तर, मलाई ओशो नजिक जान दिइएन् । कयौं घण्टा आश्रममा बसाएपछि ओशोको मृत्यु भएको जानकारी दियो । र मलाई मृत्युको प्रमाणपत्र जारी गर्न लगाइयो ।”
डा.गोकाणी ओशोको मृत्युको समयका विषयमा पनि एकिन छैनन् । ओशोका शिष्यहरुले मृत्युको कारण हृदयघात भएको लेख्न लगाएको उनी बताउँछन् ।
ओशो आश्रममा मृत्युलाई उत्सवका रुपमा मनाउने प्रचलन थियो । जसको मृत्यु भएपनि धामधमुका साथ मनाउने गर्थे । तर, ओशोको मृत्यु भएको घोषणा गरिएको एकघण्टामै अन्तिम संस्कार पुरा गरियो । उनको अन्तिम संस्कारको कामकाज पनि छोटो बनाइएको थियो ।
ओशोकी आमा पनि आश्रममै बस्थिन् । उनकी आमालाई पनि मृत्युको खबर ढिला गरेर मात्रै दिइएको ओशोकी सचिव नीलमले अन्तरवार्तामा भनेकी थिइन् । नीलमले अन्तरवार्तामा भनेकी छन, “ओशोकी आमा लामो समयसम्म ‘छोरा, तिमीलाई यिनीहरुले मारे’ भन्ने गरेकी थिइन् ।”
सम्पत्तीको विवाद
ओशोको आश्रमको सम्पत्ती हजारौं करोड रुपैयाँ रहेको योगेश ठक्कर दावी गर्छन् । अन्य चिजबाट करिब १०० करोड भारतीय रुपैयाँ रोयल्टीका रुपमा आउने गरेको छ ।
ओशोको सम्पत्तीमाथि ओशो इन्टरनेशलको नियन्त्रण रहेको छ । ओशोको सम्पत्ती आफ्नो भएको ओशो इन्टरनेशलनको दावी छ ।
ओशो इन्टरनेशलनले गरेको दावी गलत भएको योगेश ठक्करको भनाइ छ । ओशो इन्टरनेशनलकै पक्षमा ओशोकी शिष्य अमृत साधना छिन् ।
ओशो ट्रेडमार्क
ओशो इन्टरनेशनले ओशोको नामलाई युरोपमा ट्रेडमार्कमा रुपमा दर्ता गरेको छ । यसलाई अर्को संस्था ओशो लोटस कम्यूनले पनि चुनौति दिएको छ ।
जनरल कोर्ट अफ यूरोपियन यूनियनले गत ११ अक्टुबरमा ओशो इन्टरनेशलनको पक्षमा फैसला पनि सुनाएको छ । ओशोको विचारलाई उनका अनुयायीहरुसम्म पु¥याउनका लागि ट्रेडमार्कमा रुपमा दर्ता गरेको ओशो इन्टरनेशनलको भनाइ छ । जबकी ओशो बस्तुहरुको ट्रेडमार्क हुने भएपनि विचारको ट्रेडमार्क नहुने बताउने गरेका थिए ।
पुणेस्थित समाधिस्थलमा लेखिएको यो भनाइले पनि ओशोको व्यक्तित्वलाई उजागर गर्छ, ‘न कहिल्यै जन्मिए, न कहिल्यै मरे । उनी ११ दिसम्बर, १९३१ देखि १९ जनवरी, १९९० का बीचमा यस धर्तीमा आएका थिए ।’ एभरेष्टदैनिक





प्रतिक्रिया