खाडीमा ९ सय ५७ नेपालीको मृत्यु
सारांश
- काठमाडौं, ९ माघ- कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको अवधिमा वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको खबर आजको कान्तिपुरमा दैनिकमा छ ।
- खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो ।
- मृत्यु हुनेमा ३२ जना महिला छन् ।
काठमाडौं, ९ माघ- कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको अवधिमा वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको खबर आजको कान्तिपुरमा दैनिकमा छ ।
खाडी तथा मलेसियास्थित नेपाली दूतावासका अनुसार सन् २०१७ मा हृदयाघात, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणले नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा ३२ जना महिला छन् । दूतावासहरूका अनुसार यस अवधिमा सबैभन्दा बढी मलेसियामा ३ सय ५४ जनाको मृत्यु भएको छ । साउदी अरबमा २ सय ८३, कतारमा १ सय ६९, संयुक्त अरब इमिरेट्स (यूएई) मा ८४, कुवेतमा ३१, दक्षिण कोरियामा २१, ओमनमा ७, बहराइनमा ६ तथा साइप्रस र सिरियामा एक/एक नेपाली कामदारको मृत्यु भएको छ ।
आत्महत्या र सडक दुर्घटनाबाहेक स्वास्थ्यमैत्री जीवनशैली नहुँदा र नियमित स्वास्थ्य परीक्षण सुविधा नपाउँदा हृदयाघातका कारण ज्यान जानेको संख्या बढी छ ।
हृदयाघात र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या २ सय ७६ छ । सडक दुर्घटनामा परेर १ सय ७१ नेपालीले ज्यान गुमाएका छन् । एक वर्षको अवधिमा १ सय ६२ जना नेपाली कामदारले खाडी तथा मलेसियामा आत्महत्या गरेको दूतावासहरूमा रेकर्ड छ । सबभन्दा बढी मलेसियामा ६४ जनाले आत्महत्या गरेका छन् । पारिवारिक मनमुटाव, चर्को ऋण, श्रम सम्झौताअनुसार काम नहुनु, तलब र सेवासुविधा नपाउनुलाई आत्महत्याको मुख्य कारक मानिएको छ ।
प्रतिक्रिया