भ्रमण सफल भएको भारतले गर्यो दाबी
सारांश
- काठमाडौं, २० माघ- भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ ।
- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।
- ‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।
काठमाडौं, २० माघ- भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।
‘सफल भ्रमणको अन्त्य गर्दै विदेशमन्त्री सुष्मा स्वराज स्वदेश (भारत) प्रस्थान गर्नुभएको छ,’ काठमाडौंस्थित भारतीय दूतावासले दुईदिने नेपाल भ्रमण सम्पन्न गरी शुक्रबार स्वराज स्वदेश फर्केपछि ट्विट गरेको छ ।
स्वराजको आकस्मिम नेपाल भ्रमणलाई नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘राजनीति र कूटनीतिको सामान्य अभ्यास अनुरुप अहिलेको भ्रमण भएको छैन’ भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि ‘अनुपयुक्त समयको भ्रमण’ बताएका छन् ।
नेपालभित्र आलोचना भए पनि करिब २४ घन्टा नेपाल बसाइँमा स्वराजले विभिन्न पार्टीका डेढ दर्जनभन्दा बढी नेतासँग भेट गरिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वदेश फर्किनु केही घन्टाअघि शिष्टाचार भेट गरेकी थिइन् ।राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा स्वराजले नयाँ संविधानअनुसार सफलतापूर्वक निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गमा अघि बढेकोमा बधाई तथा शुभकामना दिएकी थिइन् ।
‘नयाँ संविधानअन्तर्गत निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतीय विदेशमन्त्रीले बधाई दिँदै खुसी व्यक्त गर्नुभयो,’ भेटबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘नेपालको स्थिरता र विकासमा भारतीय सहयोग निरन्तर रहने प्रतिबद्धता उहाँले जनाउनुभयो ।’
नयाँ संविधानअनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई उनले बधाई दिएकी थिइन् । सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै आयममा सामान्य छलफल भएको थियो । प्रधानमन्त्रीसँग स्वराजको भेटमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, उद्योगमन्त्री सुनील थापा, अर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्य, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत उपस्थित थिए ।
देउवासँग भेट गर्नुअघि शुक्रबार बिहान स्वराजले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवसँग भेट गरेकी थिइन् । भेटवार्ताका लागि दाहाल र यादव स्वराज बसेको सोल्टी होटल पुगेका थिए । स्वराजले दाहाल र यादवसँग ‘वान अन वान’ वार्ता गरेकी थिइन् ।
‘सुष्माजीको सद्भाव भ्रमण हो जस्तो मैले बुझें,’ भेटपछि पत्रकारसँग दाहालले भने, ‘अहिले नेपालको चुनावपछिको परिस्थिति र सरकार गठनतयारीबारे सकारात्मक एवं रचनात्मक कुरा भए ।’
भेटमा स्वराजले आउँदा दिनमा नेपालको राजनीति कसरी अघि बढ्छ भन्ने जिज्ञासा राखेको दाहालले बताए । ‘मुख्यतया मैले राजनीतिक स्थिरता र विकास नेपाललाई चाहिन्छ, छिमेकीहरुसँग राम्रो सम्बन्ध बनाएर त्यसमा सहयोग जुटाउँछौं भन्ने धारणा राखें,’ उनले भने । स्वराजले नेपालको स्थिरता र विकासमा भारतको पूरै सहयोग रहने बताएकी थिइन् ।/नागरिक दैनिक
प्रतिक्रिया