नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

सारांश

  • सञ्चिता घिमिरे काठमाडौं।
  • बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
  • नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

सञ्चिता घिमिरे
काठमाडौं। बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट निर्माण भएको पुल आगामी तीन चार महीनामा सम्पन्न हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको आयोजनाले जनाएको छ। सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत दुई पुलको निर्माण शुरु गरेको थियो। धोबीखोला पुल र वाग्मती पुल निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो। वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलमा भौतिक प्रगति राम्रो रहेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वबिजयलाल श्रेष्ठले बताए।

सडकको मुख्य लेनको दुवैतर्फ काम शुरु गरिएकामा एकातिर सम्पन्न भइसकेको र अर्का्तिर काम भइरहेको हो। उनले भने, “एकातिर सम्पन्न भएर सवारी साधनसमेत चल्न थालेका छन् भने अर्का्तिर साइटमा काम भइरहेको पाइन्छ।”

यो सडक पुल तोकिएकै अवधि आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्यका साथ कामअघि बढेको इञ्जिनीयर श्रेष्ठले बताए। बाँकी रहेको साइडमा स्लाप राख्ने र ढलानको काम सकिएको उनले बताए। स्टिलको डण्डी (आर्च) राख्ने, फुटपाथ निर्माण र ‘एप्रोच रोड’ निर्माण गर्न बाँकी रहेको उनले बताए। उनले भने, “त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन।”

सो पुलको निर्माण शुरु गर्दा शुरुका दुई तीन वर्ष भौतिक प्रगति कम देखिए पनि अहिले गति लिएको देखिएको छ। आयोजनाले भने ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको बताउँदै आएको छ। देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको उनले बताए।

आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उनले जानकारी दिए। “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उनले भने, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन्।”

सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उनले बताए। सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटकरपटक ताकेता गर्दासमेत नहटाएको उनले बताए।

आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो। नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताए। अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ। अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उनले बताए। उनले भने, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ।”

माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो। जाइकाले पूरै सडक छ लेनको निर्माण गरेपनि धोबीखोला र बागमती पुल चार लेनका थिए। सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन्।

के हो नेटवर्क आर्क ब्रिज ?
‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ। यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ।

यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ। यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीचरबीचमा पिल्लर प्रयोग गरिँदैन। पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ। र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ।

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ। आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ। पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ। यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ।

विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउनेसमेत उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ। पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताए।

यस पुल निर्माणका लागि विसं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो। पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुसम्मका लागि एक वर्ष अवधि थप गरेको हो। सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ।

नारायणकाजीलाई स्कुल विभाग प्रमखु बनाउने पर्ने पूर्वमाओवादीको निष्कर्ष
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नुअघि पूर्व एमाले र पूर्व माओवादीहरुको बैठक बसेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा भएको पूर्व माओवादीहरुको भेलमा पार्टीको स्कुल विभागको प्रमुखमा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बनाउनुपर्ने निश्कर्ष निकालिएको स्रोतको दाबी छ ।

तर, नेकपामा पूर्व एमालेहरुले वर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई बनाउनुपर्ने अडान लिएका छन् । नेकपाको सचिवालय बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।

विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
वासुदेव पोडेल
पोखरा। नेपालको अधिकांश भागमा पाइने वनस्पति हो तितेपाती। तितेपाती बास्नादार त हुन्छ नै यसले धेरै किसिमका औषधीय गुण पनि बोकेको हुन्छ।

पूजाआजाका साथै चर्म रोगलगायतका बहुउपयोगी तितेपाती यतिखेर विषाक्त झार पार्थे्नियम (गाजरे झार)को मिचाइमा पर्दैगएको छ। तितेपाती देखिने अधिकांश ठाउँमा यतिखेर पार्थे्नियम झाँगिएको पाइन्छ। पछिल्ला अध्ययनअनुसार नेपालका कास्कीसहित ५६ जिल्लामा यो प्रजाति झागिँदै गएको वनस्पति क्षेत्रमा अनुसन्धानरत राष्ट्रिय प्राणी उद्यानका निर्देशक नारायण रुपाखेतीले जानकारी दिए।

गाउँघरमा पाइने तितेपातीलगायतका रैथाने वनस्पतिहरू यतिखेर मिचाहा प्रजातिको मारमा सङ्कटमा पर्दै गएका छन्। विषाक्त पार्थे्नियमको विस्तारसँगै यसले आर्थिक क्षतिका साथै मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पार्ने अवस्था सिर्जना भएको उनले बताए।

“पार्थे्नियमको विस्तारले कृषिजन्य जमीन तथा अन्य उपयोगी वनस्पतिलाई प्रत्यक्ष असर पार्न थालेको छ,” उनले भने, “यसको परागकण विषाक्त हुने भएका कारण यसले श्वासप्रश्वासमा असर पारी फोक्सोको क्यान्सरसमेत निम्त्याउन सक्छ।”

यो झार घाम लागेका बेलामा छोएमा शरीरमा डाबर आउने तथा चिलाउने समस्या हुने उनले जानकारी दिए। घरपालुवा पशु चौपाया चर्ने क्रममा मुख वा शरीरमा छोइएमा छोइएको भाग बाक्लो बन्दै जाने लगायतका समस्या पनि यसका कारण निम्तिन थालेको छ।

दक्षिण अमेरिकाबाट नेपालमा भित्रिएको यो प्रजाति विसं २०२४ मा पहिलो पटक नुवाकोटको त्रिशूलीमा जापानी वनस्पतिशास्त्रीले फेला पारेका थिए। घाम लागेको बेलामा यसका परागले स्वासप्रश्वास एवं छालामा असर पार्ने भएकोले किसानले घाम नलागेको बेलामा पञ्जा लगाएर उखेली ओसिलो ठाउँमा यसलाई जलाउनुपर्ने सम्बन्धित विज्ञको सुझाव छ। देख्दा तितेपातीजस्तै देखिए पनि त्यसको ठिक विपरीत यो विषाक्त हुने भएकोले यससँग जोगिनुपर्ने देखिन्छ।

रुपाखेतीका अनुसार नेपालमा हाल २७ जातका बाह्य मिचाहा प्रजाति रहेका छन्। पछिल्ला वर्षमा पार्थे्नियम, माइकेनिया र जलकुम्भी जस्ता मिचाहा प्रजाति गम्भीर समस्याका रूपमा देखिएका छन्।

नेपालमा देशैभरि पार्थे्नियम फैलने क्रम वर्षेनी तीव्ररूपमा बढेको संरक्षण विकास फउण्डेशनका संयोजक डा विके शर्माले बताए। “अध्ययनअनुसार नेपालका विकट ग्रामीण भेगमा समेत गाडी पुगेसँगै ती ठाउँमा पार्थे्नियम पुगेको देखिन्छ”, उनले भने। गाडीको टायरमा टाँसिएर यसको बीउ विभिन्न जिल्लामा पुगेको र जसका कारण अन्य रैथाने प्रजाति क्रमशः विस्थापित बन्दै गएको उनले बताए।

बाह्य मिचाहा प्रजातिका कारण अन्य मानवउपयोगी वनस्पतिलाई असर पार्ने र कतिपयले मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने भएकाले यसको व्यवस्थापन अपरिहार्य भएको संरक्षण विकास फाउण्डेसनका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र पोखरेलले बताए।

पार्थे्नियम जस्ता धेरै मिचाहा प्रजातिको विस्तार बढिरहेको अवस्थामा तिनीहरूको असरलाई हटाउनकै लागि बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीतिसमेत तयार गरिएको उनले बताए। “हामीले लामो समयको मेहनतपश्चात रणनीति तयार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई बुझाइसकेका छौँ”, उनले भने, “अब यो रणनीतिलाई राष्ट्रिय नीतिसँग जोडेर लैजानुपर्छ, यसको कार्यान्वयन नै अबको प्रमुख आवश्यकता हो।”

मानव स्वास्थ्य, वातावरण तथा आर्थिक विकासका विभिन्न पक्षमा बाह्य मिचाहा प्रजातिले पार्ने असर दृष्टिगत गरी व्यवस्थापनको उचित नीति तय गरेर तत्काल कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?