२० वर्षदेखि ओडारमै बस्छन् रूपसिंह चेपाङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
२० वर्षदेखि ओडारमै बस्छन् रूपसिंह चेपाङ

सारांश

  • काठमाडौं, ८ फागुन- राप्ती चितवन, रूपसिंह चेपाङ।
  • उमेर ७६ वर्ष।
  • आफ्नो नाममा जग्गा शून्य।

काठमाडौं, ८ फागुन- राप्ती चितवन, रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी।चितवनको राप्ती नगरपालिका- १३, युर्तीस्थित ओढारमा बस्दै आएका एक जना वृद्ध चेपाङको परिचय हो यो। करिब १० वर्षअघि श्रीमतीको मृत्यु भएपछि उनी एक्ला भए। त्यसपछि सहाराविहीन छन्। आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

उनी बस्ने ओढारनजिकै छोरीको घर छ। त्यो पनि ‘जनता आवास’ कार्यक्रमले बनाइदिएको। त्यसबाहेक वरिपरि कसैको घर छैन। एक्ला र अशक्त छन् तर छोरीको घरमा बस्न चाहँदैनन्। खानेकुरा भएको बेला तिनै छोरीले पकाएर ओढारमै लगिदिन्छिन्। नभएको बेला खोकिलामा हात हाल्छन्, भोकै बस्छन्। ‘कसैले ल्याएर दियो भने छोरीले मलाई पनि पकाएर ल्याइदिन्छिन्, नत्र उनीहरू नै भोकै पर्छन्, म बूढोले कहाँबाट पाउनु ? ’ उनले भने।

यसपालि पनि उनले त्यहीं जाडो काटे। न ओढ्ने छ न त आङ छोप्ने एकधरो कपडा। जाडो गएर के गर्नु, फेरि बर्खा लागिहाल्छ। वर्षा सुरु भएपछि पानी रसाउँदै आउँछ, ओढारमा।

शरीर निकै गलिसकेको छ। ओढारबाट निस्केर हिँडडुल गर्न पनि सक्दैनन्। धुनी तापेकै भरमा रात कटाउँछन् उनी। धेरै दिनसम्म केही खान नपाएपछि भोक सहन सक्दैनन्, अनि भोक टार्न त्यही खरानी खान्छन्।

उनलाई विभिन्न रोगले गाँजेको छ। उपचारको त के कुरा गर्नु ! अहिलेसम्म अस्पताल र डाक्टर देख्नै पाएका छैनन्। दुईवटै खुट्टाको घुँडा दुख्दा पनि खरानी नै दल्छन्। भन्छन्, ‘आगो र खरानी भनेको त भगवान् हो। मलाई यसैले बचाएको छ।’ चिसोले टाउको दुख्दा पनि निधारमा खरानी घस्छन्। त्यसो गर्दा निको हुन्छ भन्ने उनको बुझाइ छ।

ओढारको चिसो ढुंगा नै उनको नियमित ओछ्यान बनेको छ। आँखा पनि कमजोर बन्दै गएको छ। राम्रोसँग देख्न सक्दैनन्। दाहिने आँखाबाट जति आँसु चुहिएको छ, त्योभन्दा बढी देब्रे आँखाबाट रगत बगिरहेको छ। तर, उनको यो कहालीलाग्दो व्यथा कसले सुनिदिने ?

चिसोले ओठ सुकेको छ। तैपनि, आगोको भरमा रात काट्नुपरेको छ। तर, कुटुम्बको घरमा बस्न नहुने भन्दै छोरीको घरमा जाँदैनन्। ‘अहिलेसम्म त ओढारमै बसेर बिताएँ। अब मर्ने बेला कुटुम्बको घरमा कसरी बस्नु ? ’ उनले भने, ‘मलाई त यही ओढार प्यारो छ।’ तर, उनलाई कसैले आएर सानोतिनो झुप्रो बनाइदिए जीवनको अन्तिम क्षणमा आरामको सास फेर्दै मर्ने धोको छ।

रूपसिंह चेपाङको यो दोस्रो ओढार हो। यसअघि अहिले बसिरहेको भन्दा थोरै माथिको ओढारमा बस्थे। सात वर्षअघि भण्डारा-मलेखु चेपाङ राजमार्गको ट्र्याक खन्दा उनको ओढार पुरियो। त्यसपछि उनी अर्को ओढारमा सरे। अहिले बसेको ओढार पनि पहिरोको जोखिममा छ।

चार वर्षदेखि त्यही बाटो भएर ट्र्याक्टर, बोलेरो जिपलगायत गाडी गुड्न थालेका छन् तर उनी भने सवारीसाधनको पहुँच पुगेर पनि तिनको आवाज सुनेरै चित्त बुझाएर बस्न बाध्य छन्। कोही नयाँ मान्छे अगाडि पर्दा दुई हात जोडेर नमस्कार गर्छन् र ‘मलाई के ल्याइदिनुभा’छ सर’ भन्दै आँसु झार्छन्।

एउटा सुगम जिल्लाको नगरपालिकाभित्रकै बासिन्दा भएर पनि रूपसिंह आनन्दको घरमा बस्नबाट वञ्चित छन्। तर, स्थानीय तह निर्वाचन भएको वर्षदिन बित्न लाग्दासमेत स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Uddhaar garnu paryo sarkaar haru.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?